१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
बुधबारको प्रतिनिधिसभा बैठक अवरोध गर्दै कांग्रेस सांसदहरू । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:४६:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संसद्को गतिरोध हटाउन भेटिएन मध्यमार्गी बाटो

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४६:oo

तेस्रो दिन पनि सदनमा कांग्रेसको अवरोध जारी, संसदीय छानबिन समिति गठन बटमलाइन

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने विवादले संसद्को कामकारबाही ठप्प बनेको छ । विपक्षी दलहरूले संसदीय समिति गठन गरेर सहकारीमा छानबिन अगाडि बढाउन माग गरिरहेका छन् भने सत्तापक्ष कुनै हालतमा संसदीय समिति गठन नगर्ने पक्षमा छ । दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहेपछि सदनको गतिरोध हटाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेको पहल निष्कर्षमा पुग्न सकेको छैन ।

२१ फागुनमा सत्तासमीकरण फेरिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग गरिरहेको छ । कांग्रेसलाई विपक्षी राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् । तर, सत्तापक्ष सहकारी ठगीमा लामिछानेको संलग्नता पुष्टि हुने कुनै आधार नरहेको भन्दै समिति बनाउन तयार छैन । दुवै पक्षले संसदीय छानबिनमा कुनै मध्यमार्गी बाटो नभएको भन्दै आ–आफ्नै अडान प्रस्तुत गरिरहेका छन् । कांग्रेसले अभियोग लागेको विषयमा संसदीय छानबिनबाट टुंग्याउनुपर्ने भनिरहेको छ भने सत्तापक्ष कुनै संलग्नता नै नभएको विषयमा संसदीय छानबिन समिति बनाउने हठ कांग्रेसले छोड्नुपर्ने जिकिर गरिरहेको छ ।

दुवै पक्षको हठले संसदीय कारबाही भने प्रभावित बनेको छ । ६ वटा विधेयकको प्रक्रिया अलपत्र बनेको छ । क्यालेन्डरमा उल्लेखित २, २७ र २८ चैत गरी तीन दिनको कार्यसूचीमा सदन प्रवेश गर्न सकेको छैन । २ चैतमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो, यसलाई २७ गते तय गरिएकोमा अवरोधले प्रक्रियामा जान सकेन । २८ गते तय भएको शिक्षा समितिबाट प्रतिवेदनसहित पारित सुरक्षण मुद्रणसम्बन्धी विधेयक सदनमा पेस हुन सकेन । यसैगरी, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव, राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव र राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुन सकेन । 

तीन दिनको अवरोधले चारवटा विधेयक प्रभावित हुँदा क्यालेन्डरमा २९ चैतमा तय गरिएको बैठक पनि स्थगित गरिएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव, संघीय निजामती सेवा विधेयकलाई समितिमा पठाउने कार्य पनि प्रभावित बनेको छ ।

कांग्रेसले २४ फागुनदेखि सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरिरहँदा २ चैतमा पहिलोपटक बैठकमा अवरोध गरेको थियो । आरोपित व्यक्तिले गृहमन्त्रीका रूपमा विधेयक पेस गर्न नपाउने भन्दै कांग्रेस सांसदले बेल घेराउ गरेका थिए । त्यसयता कांग्रेसले बैठकको सुरुवातमा आफ्नो माग राख्दै सदन चल्न दियो । बजेटका सिद्धान्त र प्राथमिकतामा छलफलदेखि विभिन्न विधेयक प्रक्रियामा जान दियो । तर, २७ चैतको बैठकमा दलसम्बन्धी संशोधन ऐन गृहमन्त्री लामिछानेले प्रस्तुत गर्ने कार्यसूची तय गरिएपछि कांग्रेसले अल्टिमेटम सकिएको घोषणा गर्‍यो । 

अल्टिमेटम सकिएको घोषणापछि सभामुख घिमिरेले गतिरोध हटाउन उच्चस्तरमा पहलकदमी लिएका थिए । २६ चैतमा सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारूढ एमाले उपाध्यक्ष विष्णु पौडेल र रास्वपा सभापति लामिछानेलाई राखेर छलफल गरे । तर, दलहरू आ–आफ्नो अडानबाट पछि हटेनन् । यसकै निरन्तरतामा भोलिपल्ट २७ चैतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा शीर्ष बैठक बस्यो । प्रधानमन्त्रीको अध्यक्षतामा सभामुखसहित एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र रास्वपा सभापति लामिछानेसहित बैठक बस्यो, तर सहमति जुट्न सकेन । सदनको निर्धारित बैठक चल्न सकेन । १५ मिनेटका लागि स्थगित गरेर सभामुखले प्रमुख सचेतकहरूसँग विभिन्न विकल्पमा बैठक चलाउन प्रयास गरे पनि सफल हुन सकेन । गृहमन्त्रीले विधेयक पेस गर्ने कार्यसूची हटाएर अगाडि बढौँ भनेका थिए, तर संसदीय छानबिन समिति बटमलाइन बनाएर अल्टिमेटम नै दिएको कांग्रेस मानेन । भोलिपल्ट ११ बजेसम्मका लागि स्थगित गरियो । 

२८ चैतमा बिहानै सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गरेर आकस्मिक समय चलाउने र अन्त्य गर्ने सहमति गरे । मंगलबार कांग्रेसले मात्रै बोल्यो अरूले पाएनन् भन्ने भएपछि बुधबार आकस्मिक समयमा सबै पार्टीले बोल्ने र बैठक अन्त्य गर्ने सहमति भयो । सहमतिअनुसार आकस्मिक समयमा कांग्रेसदेखि लोसपासम्मका दलका सांसदले धारणा राखे । शून्य समय चलाउन खोज्दा कांग्रेसले अवरोध गर्‍यो, बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी २ वैशाखसम्मका लागि स्थगित भयो । सदनको गतिरोध हटाउन सभामुखले शीर्ष नेतृत्वदेखि प्रमुख सचेतक र सचेतकसँग चरण–चरणमा छलफल गरिरहेको प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । ‘विपक्षीले उठाइरहेको विषयमा समाधान खोज्न सभामुखज्यूले दलहरूसँग समाधान गर्नुस् भनेर कुरा गरिरहनुभएको छ । सामूहिक रूपमा तथा प्रधानमन्त्री र सत्तारूढ नेता केपी ओलीलाई भन्नुभएको छ,’ उनले भने, ‘आजसम्म दुवै पक्ष आ–आफ्नो अडानमा छन् । अलिकति नेगोसिएसन गर्ने भन्ने देखिएको छैन । मध्यमार्गी विकल्प भेटिएको छैन ।’

चालू हिउँदे अधिवेशनमा संसद्मा दर्ता गरिएका विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगोस् भन्ने सरकारले चाहेको छ । अवरोधले अलपत्र परेका ६ वटा विधेयकलाई समितिमा पुर्‍याएर दफावार छलफल प्रारम्भ गराउने र वैशाख पहिलो साता हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको योजना थियो । तर, संसदीय छानबिन समितिमा कांग्रेसले अडान नछोडेर सदन ठप्प हुँदा विधेयकलाई प्रक्रियामा लैजाने सरकारी चाहना पूरा नहुने भएको छ । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डे शीर्ष तहको संवादलाई निरन्तरता दिएर गतिरोध हटाउनुपर्ने बताउँछन् । ‘विधेयक अधिवेशन अब केही दिन चल्छ । यसरी नै सदनलाई सधैँ बन्धक बनाएर राख्नुहुँदैन । राजनीतिक नेतृत्वबाट समाधान खोज्नुपर्छ । प्रधानमन्त्री र सभामुख तहबाट भइरहेको छलफललाई निरन्तरता दिनुपर्छ,’ उनले भने । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस आफ्नो हठबाट पछि हटेर सदन चल्ने वातावरण बनाउनुपर्ने बताए । ‘कांग्रेसको माग पूरा हुने कुनै सम्भावना देख्दिनँ । कांग्रेस ब्याक भएर गतिरोध हट्नुपर्छ । कांग्रेसले अनावश्यक र अनुचित माग सारेर संसद्को कारबाही रोकेर गलत गरेको छ । कांग्रेस आफ्नो हठबाट पछि हट्नुपर्‍यो । संसद्को कामकारबाहीलाई चल्न दिनुपर्‍यो,’ उनले भने । 

तर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संसदीय छानबिन समिति बनाउनु नै मध्यमार्गी विकल्प भएको बताउँछन् । ‘म दोषी हुँ भनेर सोच्नुभएन, निर्दाेष हो भने संसदीय छानबिन समिति बनाउन तयार हुनुपर्‍यो । विपक्षीले दोषी भनेर किटान गर्ने र सत्तापक्षले निर्दाेष भनेर प्रमाणपत्र दिने कुरा मिल्दैन । छानबिन हुनुपर्छ । छानबिनबाट को दोषी हो, को निर्दाेष हो थाहा हुन्छ,’ उनले भने । संसदीय समितिमा सत्तापक्षकै सदस्य बढी हुने भन्दै शर्माले छानबिन गर्न किन हिच्किचाएको भनी प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताए । ‘सदनको नियमावलीमा सदनमा कुनै व्यक्तिप्रति पटक–पटक निराधार लाञ्छना लाउन पाइँदैन । कानुनले कुनै निर्णय दिइसकेको छैन, सुरक्षा निकायले आफनो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले सदनमा आफ्नो अभिव्यक्ति दिइसक्नुभयो,’ उनले भने, ‘चौकीमा गएर कसैले दिएको उजुरी जुन दर्ता भएको छैन । त्यसको आधारमा पटक–पटक कुनै व्यक्तिप्रति  गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ ।’

कांग्रेसलाई सत्तापक्षकै साथ
सहकारी ठगी प्रकरणमा कांग्रेसलाई सत्तारूढ जसपा र एकीकृत समाजवादीले साथ दिएको छ । संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा समर्थन जनाउँदै जसपा र एकीकृत समाजवादीले बुधबारको प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जसपा प्रमुख सचेतक प्रदीप यादवले सहकारीमा आमनागरिकको अर्बाैँ रुपैयाँ फसेको भन्दै देशभरका सहकारीको समस्या र ठगीबारे छानबिन जरुरी रहेको बताए । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेको कांग्रेससँग संवाद गरेर सदनको गतिरोध हटाउन सरकारको ध्यानाकर्षण गराए ।

‘प्रमुख प्रतिपक्षले सहकारीको ठगी प्रकरणका सम्बन्धमा छानबिनको माग लिएर केही दिनदेखि संसद्को बैठक अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसद्को यो गतिरोध अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने । विपक्षी राप्रपा र लोसपाले पनि प्रतिनिधिसभाको आकस्मिक समयमा सहकारी समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही र लोसपा प्रमुख सचेतक रामप्रकाश चौधरीले लाखौँ बचतकर्ताको अर्बाैँ रकम जोखिममा परेको भन्दै तत्काल संसदीय छानबिन समिति गठन गरेर समाधान खोज्नुपर्ने धारणा राखेका थिए । 

ad
ad