१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बौद्ध विश्वविद्यालय देवदहमा एक खर्बको शैक्षिक पूर्वाधार परियोजना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४१:oo

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब एक खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ।

देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्ने गरी सुविधासम्पन्न संरचनाहरुरू निर्माण गर्ने गरी परियोजना अगाडि बढाइएको छ।

विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र चार हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने गरी संरचना निर्माण गर्ने गरी योजना अगाडि बढाइएको विश्वविद्यालयका रजिस्ट्रार डा‍. तिलकराम आचार्यले बताए। 

विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा विश्वविद्यालयको टिम जुटेको छ।

विश्वविद्यालयका रजिस्ट्रार डा. आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको बताए। 

आफूले आठ वर्षको अवधिमा पूर्वाधार र शैक्षिक विकासका कामलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षण रहने गरी हरतरहले निरन्तर अघि बढिरहेको बताए।

देवदहमा ९२ बिघा जमिन प्राप्तिका लागि ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहवासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिबद्धताहरू पूरा गर्दै लगिने गरी परियोजना अगाडि बढाइएको बताए। 

विश्वविद्यालयले देवदहमा नाैवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्रहालय, गेस्टहाउस भिल्लासहितका संरचना बन्नेछन्।

रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ। पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्रचार्यले बोर्ड ट्रष्टी गठनको तयारी भएको भन्दै यसमा सदस्य हुनका लागि बौद्ध मुलुकका विभिन्न संस्था र व्यक्ति इच्छुक रहेको बताए। उनले देवदहको परियोजनाका सबै संरचना निर्माणमा एक खर्ब लागतको अनुमान गरिएको बताए।

रजिस्ट्रार डा. आचार्य पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिबद्धता जनाइसकेको बताउँछन्। यो संरचना बन्दा विदेशी विद्यार्थी पढ्नका लागि नेपाल आउने वातावरण सिर्जना हुने उनको भनाइ छ। 

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल रुपन्देही, कपिलवस्तु तथा नवलपरासीको विकासमा सकारात्मक प्रभाव पार्ने गरी बौद्ध विश्वविद्यालय अगाडि बढेको उनले बताए। देवदहमा भवन निर्माणसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन्। 

लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। विश्वविद्यालयमा दुई हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। विश्वविद्यालयमा झन्डै ६० जना विदेशी विद्यार्थी (चीन, श्रीलंका, बर्माका विद्यार्थी) छन्। यस विश्वविद्यालयबाट ३५ जनाले बौद्ध दर्शनमा पिएचडी (विद्यावारिधि) गरिसकेका छन्। 

बाैद्ध विश्वविद्यालयमा अहिले तीनवटा संकाय सञ्चालनमा छन्। बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र  स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स।

दुईवटा आंगिक क्याम्पस, केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, आर्कियोलोजी र म्युजोलोजी सञ्चालनमा रहेका छन्। त्यस्तै, स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ।

बौद्ध विश्वविद्यालयको बुटवलमा सिटी क्याम्पस सञ्चालनमा आएको छ। यहाँ बिएएलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा आएको छ। त्यस्तै, स्नातकोत्तर तहमा इन्टरनेसनल रिलेसन एन्ड पिस स्टडिजको कक्षासमेत सञ्चालनमा छन्।

बुद्धसँग सम्बन्धित स्थल देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्सअन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा छ। बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन संकायअन्तर्गत विद्यावारिधि कार्यक्रम चालू रहेको छ भने शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेको छ।

विश्वविद्यालय स्थापना गर्दा करिब साढे दुई बिघा जमिन थियो। तर, अहिले लुम्बिनीसहित विभिन्न स्थानमा विश्वविद्यालयको एक सय १३ बिघा जमिन छ। विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन छ।  बुटवल– १२, नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन छ।

रजिस्ट्रार डा. आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध धर्म–दर्शनको उच्च केन्द्रका रूपमा अन्तर्राष्ट्रिय प्राज्ञिक थलोका रूपमा स्थापित गर्न लागिपरेकाे बताउँछन्। देवदहमा झन्डै सवा सात करोडको  निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवन केही साता पहिले उद्घाटन भएको थियो। 


 

ad
ad