१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको श्रममन्त्री अर्यालको स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५o:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। बजारमा हल्ला फिजाइएजस्तो सहकारी ठगीमा आफ्नो कुनै भूमिका नरहेको उनले स्पष्ट पारेका हुन्।

विगत केही दिनदेखि केही सञ्चारमाध्यममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका मन्त्री अर्याल सहकारी ठगीमा संलग्न भएको समाचार सम्प्रेण भएपछि उनले स्पष्टीकरण दिएका हुन्। त्यस्ता समाचारप्रति आपत्ति जनाउँदै मन्त्री अर्यालले सूचनालाई प्रमाणित गर्ने आधार पेस गर्न आग्रहसमेत गरेका छन्।

‘मैले ठगेको हो भने प्रमाण पनि राख्नुस्। अन्यथा कुनै कालखण्डमा सहकारीमा आबद्ध भएकै कारण ठग हो भन्ने कसैलाई छुट छैन,’ उनले भने। मन्त्री अर्यालले उक्त सहकारीमा उल्टै आफ्नो २३ लाख रुपैयाँ डुबेको गुनासो गरे। पार्टीको क्षेत्र नम्बर ५ काठमाडौंले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समस्याग्रस्त घोषित ‘हाम्रो नयाँ कृषि सहकारी’मा अहिले आफ्नो कुनै संलग्नता नभएको बताए।

‘२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिएँ। तर, मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका विचार मेल खान नसकेपछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो,’ उनले भने। सहकारी छोडे पनि आफ्नो लगानी फिर्ता नभएको उनको भनाइ छ।

सहकारीको उपाध्यक्ष नियुक्ति भएदेखि राजीनामा दिएसम्मको अवधिमा आफूले कुनै पनि कारोबार नगरेको पनि मन्त्री अर्यालको दाबी छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘हाम्रो नयाँ कृषि सहकारी’लाई गत फागुन ११ मा समस्याग्रस्त घोषणा गरेको छ। सहकारीको ठगीमा संलग्नहरूको छानबिनको लागि मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरोलाई सिफारिस गरेको छ भने सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दिएको छ।

मन्त्रालयको सिफारिसपछि समितिले सहकारीको महाराजगन्जस्थित कार्यालय सिल गरेको छ। सहकारीमा हालसम्म ३४ जनाले ४ करोड ५० लाख माग दाबीको उजुरी गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ।

ad
ad