विशेष अदालतले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। गाउँपालिका अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
गत साउन ३१ गते राजविराजस्थित गजेन्द्र चौकनजिकबाट लेखापाल टेकनारायण र कम्प्युटर अपरेटर वीरेन्द्रलाई योजनाको भुक्तानीको नाममा दुई लाख नगद र तीन लाखको चेक लिँदै गरेको अवस्थामा पक्राउ गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित गाउँपालिका अध्यक्षलाई समेतलाई प्रतिवादी बनाई भदौ १९ गते आरोपपत्र दायर गरेको थियो।
सो क्रममा अख्तियारमा बयान दिन गएका वेला अध्यक्ष यादवलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो। विशेष अदालतमा थुनछेक बहसपछि धरौटीमा रिहा भएका तीनैजनालाई शुक्रबार विशेष अदालतले सफाइ दिएको हो।