१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपेश पछाई लुम्बिनी
२o८१ बैशाख २० बिहीबार १८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ध्यान दिवसको अवसर पारेर लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४१:oo

दुईदिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ। अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपर्ने बताए। ध्यानले आफैँलाई  चिन्न सिकाउने भन्दै उनले आफूलाई  चिन्ने व्यक्ति समाजमा पछि पारिएकासँगै सिंगो मानव जातिको मुक्तिको पक्षमा उभिने बताए।

बुद्धमार्ग शान्ति र ध्यान एक–अर्काको परिपूरक भएको उल्लेख गर्दै उनले लुम्बिनीलाई बुद्धमार्गसँगै ध्यान केन्द्रको रूपमा पनि विकास गर्नुपर्ने औँल्याए। 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुद्ध जन्मस्थल नेपाल र बौद्धमार्गीहरूको अधिक संख्या रहेको चीनबीच धार्मिक तथा सांस्कृतिक रूपमा पनि अन्योन्याश्रित सम्बन्ध रहेको बताए। नेपाली राजकुमारी भृकुटी र मूर्तिकार अरनिकोलाई नेपाल र  चीन दुवै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदूत सोङले यसबाट परापूर्वकालदेखि नै नेपाल र चीनबीच गहिरो मित्रता रहेको बुझ्न सकिने उल्लेख गरे।

ध्यानले शान्ति र सदभावको सन्देश दिने तथा चीन सधैँ आपसि सदभावको पक्षमा रहेको बताउँदै उनले नेपालले अन्तरार्ष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे  चीनले त्यसको समर्थन गर्ने आश्वासन दिए।

महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा लुम्बिनी होटेल संघलगायत संघसंस्थाहरूको सहआयोजनामा सुरु गरिएको हो।

नेपाल ओभरसिज चाइनिज एसाेसिएसन (एनओसिए), लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटेल एसाेसिएसनसँगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एसाेसिएसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् र ग्रिनरोडले सहकार्य गरेका छन्। लुम्बिनीलाई विश्व शान्ति र धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन र नेपाल–चीन सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जनाएको छ। 

ad
ad