१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : क्यान ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड वल्भ्सविरुद्ध नेपाल ‘ए’को लज्जास्पद हार

६० रनमा अलआउट भएको टिमका पाँच ब्याटर शून्य रनमै पेभेलियन फर्किए, अन्तिम खेलअघि नै आयरल्यान्डले २-० ले जित्यो तीन एकदिवसीय म्याचको शृंखला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५३:oo

तीन एकदिवसीय शृंखलाको दोस्रो म्याचमा आयरल्यान्ड वल्भ्सले नेपालमाथि सानदार जित हात पारेको छ।

५० ओभरमा एक सय ७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमै ६० रनमा अलआउट भएपछि आयरल्यान्ड वल्भ्सले एक सय १४ रनको सानदार जित हात पारेको हो।

तीन एकदिवसीय म्याचको शृंखलामा १–० ले पछि परेको अवस्थामा नेपाल ‘ए’ले दोस्रो म्याच जित्नैपर्ने दबाब थियो। तर, लज्जास्पद पराजय व्यहोरेपछि आयरल्यान्ड वल्भ्सले एक खेलअगाडि नै शृंखला कब्जा गर्‍याे।

नेपाली ब्याटिङ लाइनअपलाई धराशायी बनाउने क्रममा म्याथ्यु हम्फ्रिज एक्लैले ६ विकेट लिए। ४.५ ओभर बलिङ गरेका म्याथ्युले एक मेडन ओभर राख्दै जम्मा आठ रन दिए। 

भीम सार्कीले र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुरुदेखि नै झड्का व्यहोरेको नेपाल ‘ए’का पाँच ब्याटर शून्य रनमा आउट भए। ओपनर देव खनाल, आरिफ शेख, रिजन ढकाल र कमल ऐरी र मौसम ढकाल खाता पनि खोल्न नसकी पेभेलियन फर्किए। ओपनर अर्जुन साउद पाँच, नरेन भट्ट ६, बसिर अहमद ६ र साहब आलम एक रनमा आउट भए। 

टस जितेर नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले ३८.४ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो।

आयरल्यान्ड ‘ए’का लागि बलर ग्याभिन होएले संकटपूर्ण अवस्थामा दुई छक्का र पाँच चौकाको मद्दतमा ५९ बलमा ५० रनको महत्वपूर्ण इनिङ्स खेले। ५० रनकै अवस्थामा रिजन ढकालको बलमा आउट हुँदै उनी पेभेलियन फर्किँदा आयरल्यान्ड ‘ए’ले एक सय ४८ रन जोडिसकेको थियो।
 
यस्तै, कप्तान निल रकले ३८ बलमै समान तीन छक्का र चौका प्रहार गर्दै ४५ रन बनाए । आक्रामक ब्याटिङ गरेका निललाई कमलसिंह ऐरीले बसिर अहमदको हातबाट क्याच गराउँदै पेभेलियन पठाए।

लियाम मकार्थीले ३५ तथा पिजे मुरले १७ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

५० ओभरको खेलमा आयरल्यान्ड ‘ए’लाई मध्यम स्कोरमा रोक्न नेपाल ‘ए’ का बलरहरू सादव आलम र रिजन ढकालले सानदार बलिङ गरे। दुवैले तीन–तीन विकेट लिए।

१० ओभर बलिङ गरेका सादवले एक मेडन ओभर राख्दै जम्मा ३५ रन दिए। रिजनले पनि कसिलो बलिङ गर्दै आठ ओभरमा ३० रन दिए।

सागर ढकालले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए। सागर केही महँगो साबित भए । ७.४ ओभर बलिङ गरेका सागरले ६० रन खर्चिए। कमलले नौ ओभर बलिङ गर्दै ३३ रन मात्र दिए। 

कसिलो बलिङ गरेका बसिर अहमदले तीन ओभरमा मात्र १० रन दिए भने देव खनालले एक ओभर बलिङ गर्दै पाँच रन खर्चिएका थिए। तर, नेपाली ब्याटरले गैरजिम्मेवार प्रदर्शन गर्दा बलरको प्रयास सार्थक बन्न सकेन।

शृंखलाको अन्तिम म्याच आइतबार त्रिवि खेलमैदानमै हुनेछ।

ad
ad