
लुम्बिनी प्रदेशमा जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीले राजीनामा दिएका छन्।
जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भएका भण्डारीलाल अहिर र नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधारमन्त्री भएका धर्मबहादुर चौधरीले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
दुवैजनाले आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएका हुन्। मुख्यमन्त्री चौधरीले पनि आज अपराह्न ४ बजे बस्ने संसदमा सम्बाेधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
विश्वासको मत लिने तयारी गरिएको भए पनि विश्वासको मत नलिई राजीनामा दिने तयारी रहेको कांग्रेस संसदीय दलका सचेतक निमा गिरीले बताइन्। मुख्यमन्त्री चौधरीले ४ बजे संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
सत्तापक्ष गठबन्धनले भने ४४ जना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जसपाका तीनजना, एकीकृत समाजवादीका एकजना र एकजना स्वतन्त्र सांसदको हस्ताक्षर तयारी अवस्थामा राखिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए। आज जसपाबाट कृषिमन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिए।
लुम्बिनीमा कांग्रेसका २७ सांसद छन्। त्यस्तै, राप्रपाका चारजना सांसद भएपछि जानकीलाल यादव भ्रष्टाचारको मुद्दा परेपछि निलम्बनमा परेका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका चार सांसद भए पनि लुम्बिनीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गरेको छैन।
जनमत र लोकतान्त्रिक समाजवादीका तीन–तीनजना तथा राष्ट्रिय जनमोर्चाका एकजना सांसद लुम्बिनीमा छन्। ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।