Skip This
न्यारोबडी जहाज मर्मतबारे कागजात पेस गर्न निगमलाई समितिको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १९ सोमबार १६:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यारोबडी जहाज मर्मतबारे कागजात पेस गर्न निगमलाई समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १६:१९:oo

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको हो।

समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टीकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउने गरी समितिमा कागजात पेस गर्न निर्देशन दिए।

सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्ने गरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको, तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताए।

गत मंसिर १५ गतेदेखि ग्राउन्डेड भएको निगमको न्यारोबडी जहाज गत पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो। उक्त जहाज मर्मतपछि आगामी वैशाख १५ गतेभित्र काठमाडौं आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ।

सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताए। ‘उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ। न्यारोबडी जहाजसम्बन्धी सम्झौताको वेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुपर्‍यो। होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ,’ उनले भने।

बैठकमा सांसदहरूले निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गरे। सांसदहरूले निगमबारे अध्ययन गर्न छुट्टै समिति बनाएर जानुपर्ने सुझाव दिए ।