१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीका मुख्यमन्त्रीलाई गठबन्धन दलबाटै विश्वासको मतको सकस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२८:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । तर, सत्तागठबन्धन दलबाटै उनले विश्वासको मत पाउन सकप परेको छ । एकीकृत समाजवादीले यथास्थितिमा मत नदिने बताएको छ ।

प्रदेश सभामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएर तत्काल बहुमत पु¥याएर विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई गठबन्धनभित्रको दल एकीकृत समाजवादीको निर्णयले संकटमा पारेको छ ।

एकीकृत समाजवादीले सात प्रदेशमध्ये एकमा नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका वेला आइतबार गठबन्धन दलका शीर्ष नेताहरूबीच भएको छलफलमा एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग आग्रह गरेका थिए । तर, अध्यक्ष नेपालले एमाले र माओवादीले आफूहरूलाई सत्ता प्राप्तिको भ¥याङ मात्रै बनाउन खोजेको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएका थिए । माधव नेपालको अडानपछि बागमतीमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत के हुन्छ भन्नेमा शंका बढेको छ ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्मा खनालले अहिलेकै अवस्थामा बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने बताए । आफूहरू गठबन्धनमा भएको अनुभूति नै नभएकाले विश्वासको मत दिइराख्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे । ‘हामीलाई गठबन्धनमा भएको अनुभूति नै छैन । उहाँहरूले गरेको निर्णयको साक्षी किनारा मात्रै बस्नुपर्ने भए हामीलाई यो गठबन्धन चाहिएको छैन,’ उनले भने, ‘हामी एमाले र माओवादीको सत्ता आरोहण गर्ने भ¥याङ मात्रै होइनौँ ।’

नयाँ गठबन्धन बनेको एक महिना हुन लाग्दासमेत सात प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने टुंगो नलागेको भन्दै सातमध्ये कुनै एक प्रदेशमा एकीकृत समाजवादीले नेतृत्व पाउनुपर्ने दाबी गरे । गठबन्धन दल भएपछि समान हैसियतमा पावर सेयरिङ हुनुपर्ने उनको भनाइ छ । एकीकृत समाजवादीबाट प्रदेश सरकारमा दुईजना मन्त्री छन् । प्रदेश सरकारमा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकासमन्त्री र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सत्तागठबन्धनबाट आफूले विश्वासको मत पाउने कुरामा कुनै शंका नरहेको बताए । ‘सत्तागठबन्धन दलहरूसँग भागबन्डाका विषयमा छलफल भइरहेको छ । केन्द्र र प्रदेश दुवै ठाउँमा छलफल चलिरहेकाले चाँडै ठोस र सकारात्मक निर्णय आउँछ,’ उनले भने, ‘गठबन्धनमा देखिएको सानोतिनो असमझदारीलाई लिएर सरकारले विश्वासको मत नै पाउँदैन भन्ने हुँदैन ।’

कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेकाले प्रदेशमा नयाँ गठबन्धन नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको बानियाँले बताए । उनले पार्टीका सम्पूर्ण प्रदेश सांसदलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी दिए ।

 कर्णालीका मुख्यमन्त्री शर्माले चौथोपटक विश्वासको मत लिँदै
 कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चौथोपटक मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले गत २२ फागुनमा विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्मा अल्पमत परेका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्थाअनुुसार चौथोपटक विश्वासको मत लिन लागेका हुन् । शर्माले गत वर्ष १५ वैशाखमा तेस्रोपटक विश्वासको मत लिएका थिए । २७ पुस ०७९ मा नियुक्त भएका मुख्यमन्त्री शर्माले ६ माघमा पहिलोपटक र १७ चैतमा दोस्रोपटक विश्वासको मत लिएका थिए ।

ad
ad