
नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि रोकिएको सार्वजनिक निष्कासन (आइपिओ)लाई स्वीकृत दिने तयारी गरेको छ । निष्कासनको अन्तिम तयारीमा रहेका कम्पनीले बोर्डबाट अनुमति नपाएको गुनासो बढेपछि अर्थमन्त्री वर्षमान पुनले बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएका छन् । बोर्डमा अहिले पाइपलाइनमा करिब २८ अर्ब मूल्यबराबरको सेयर निष्कासन गर्न कम्पनीहरू पाइपलाइनमा छन् ।
बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको २२ पुसबाट औपचारिक कार्यकाल सकिएर बाहिरनुभन्दा अघिदेखि नै आइपिओ निष्कासनको कामलाई बोर्डले स्वीकृत दिन रोकेको थियो । धितोपत्र बोर्डका एक अधिकारीले निमित्त अध्यक्षलाई अर्थ मन्त्रालयबाटै निर्देशन आएको र अब सञ्चालक समितिबाट निर्णय भएपछि अनुमति दिने–नदिने निर्णय हुने बताए । उनले भने, ‘लामो समयदेखि पर्खाइमा रहेका कम्पनीलाई तोकिएको मूल्य समायोजन गर्नका लागि भए पनि अनुमति दिन ढिला भइसकेको छ, त्यस्तो कम्पनीको हकमा सञ्चालक समितिले निर्णय गरेर अनुमति दिन सक्छ ।’
गत कात्तिकमा आइपिओ निष्कासन गर्ने कम्पनी बढेपछि दोस्रो बजारमा चाप परेको भन्दै लगानीकर्ताले प्रिमियम मूल्य र साधारण आइपिओ निष्कासनलाई केही समय स्थगित गर्न आग्रह गरेका थिए । त्यसलाई ध्यानमा राख्दै बोर्डले आइपिओ निष्कासन रोकेको थियो । तर, पाँच महिनादेखि बोर्ड अध्यक्षविहीन भएपछि आइपिओ निष्कासन पनि ठप्प भएको हो ।
धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा पहिलो चरणमा १९ वटा कम्पनी रहेका छन् । जसमध्ये उत्पादनमूलक समूहका चारवटा रहेका छन् । जसमा दुईवटा कम्पनी र ‘अन्य’ समूहका एक कम्पनी गरी तीनवटा कम्पनी प्रिमियम मूल्यमा आउने तयारी अवस्थामा छन् । त्यस्तै, आइपिओको पर्खाइमा ६ जलविद्युत् कम्पनी, पाँचवटा अन्य कम्पनीको रहेका छन् भने होटेल तथा पर्यटन समूहको एउटा कम्पनी र माइक्रो फाइनान्स समूहका रहेका छन् । यो चरणमा १६ अर्ब ४५ करोड मूल्यबराबरको नौ करोड ५६ लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेको छ ।
त्यस्तै, बोर्डको वितरण प्रक्रियाको अन्तिम चरणमा रहेको ११ अर्ब ४७ करोड ७८ लाख रुपैयाँबराबरको सात करोड ४६ लाख ४७ हजार कित्ता सेयर निष्कासनको तयारी रहेको छ । यो चरणमा उत्पादनमूलक समूहअन्तर्गत जगदम्बा स्टिल कम्पनी प्रिमियम मूल्यमा निष्कासनको तयारीमा रहेको छ । यो चरणमा १० वटा जलविद्युत् समूहका कम्पनी रहेका छन् भने चारवटा अन्य समूहका रहेका छन् भने होटेल तथा पर्यटन समूहको एउटा कम्पनी रहेको छ ।