१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
स्टेफन एस रोच
२o८१ जेठ ३ बिहीबार १o:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाको चीनद्वेष

Read Time : > 2 मिनेट
स्टेफन एस रोच
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:२५:oo

अमेरिकामा चीनविरोधी भावना सन् २००० को सुरुमा हुवावेले जासुसी गर्छ भन्ने चिन्तासाथ सुरु भएको थियो । अमेरिकाको सन् २०१८–१९ मा प्रतिबन्धले हुवावेको ५ जी दूरसञ्चार उपकरण विकासमा रोक लगायो । तर, हुवावे सुरुवात मात्रै थियो । अमेरिकामा पछि सिनोफोबिया (चीनद्वेष) पूर्ण विकसित प्रकोपका रूपमा फैलियो । सिनोफोबिया एउटा कडा अर्थ जनाउने शब्द हो, जसलाई म हल्का रूपमा प्रयोग गर्दिनँ । अक्सफोर्ड अंग्रेजी शब्दकोशले फोबियालाई ‘कुनै विशेष वस्तु वा परिस्थितिबाट उत्पन्न हुने चरम वा तर्कहीन डर वा भय’का रूपमा परिभाषित गर्छ ।

निःसन्देह चिनियाँ खतरा मडारिरहेको छ । चिनियाँ आर्टिफिसिएल इन्टेलिजेन्सको महत्वाकांक्षामा अवरोध पुर्‍याउन अमेरिकी सरकारले उन्नत सेमिकन्डक्टरमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउन निर्यात नियन्त्रण लागू गरेको छ । न्याय विभागले हालै राज्य–प्रायोजित चिनियाँ ह्याकिङ समूहलाई महत्वपूर्ण अमेरिकी पूर्वाधारमा लक्ष्य बनाएको आरोप लगाएको छ ।

चिनियाँ विद्युतीय सवारी साधन (इभी), निर्माण र डक–लोडिङ क्रेन र अहिले टिकटकको कथित जोखिममा अमेरिकाले पहल लिइरहेको छ । भय प्रविधि क्षेत्रभन्दा बाहिर फैलिएको छ । अमेरिकाले सयभन्दा बढी देशसँगको व्यापार घाटालाई द्विपक्षीय मुद्दाका रूपमा गलत पहिचान गरेको थियो र चीनमा कर लगाएको थियो । चिनियाँ सैन्य धम्कीको अतिरञ्जित दाबीले दक्षिण चीन सागर र ताइबान स्ट्रेटमा तनाव बढाएको छ ।

चीनले पनि अमेरिकालाई आर्थिक जासुसी, अनुचित व्यापारिक अभ्यास र मानवअधिकार उल्लंघनको आरोप लगाएको भन्दै ‘अमेरिकी फोबिया’ (अमेरिकाद्वेष) पनि देखाउँछ । दुवै फोबिया झुटा भाष्यको प्रचुरतासँग सम्बन्धित छन्, जसलाई मैले मेरो हालैको पुस्तक ‘एक्सिडेन्टल कन्फ्लिक्ट’मा सम्बोधन गरेको छु । यो पारस्परिक दोषारोपण शृंखलाबीच मेरो चिन्ता पृथक् छ । चीनद्वेषको बढ्दो तीव्रताबाट चिन्तित हुने वैध कारण छन् र यो द्वेष सम्भावित रूपमा अमेरिकामा नियन्त्रणबाहिर गइरहेको छ ।

सन् १९५० को सुरुवातको लालद्वेषी कदमपछि अमेरिकाले विदेशी शक्तिलाई यति अपमानित गरेको छैन । त्यसवेला अमेरिकी सिनेटर जोसेफ म्याकार्थी र हाउस अन–अमेरिकन एक्टिभिटिज कमिटी (एचयुएसी) को नेतृत्वमा कांग्रेसमा दोहोरो रणनीतिले सोभियत जासुसी र त्यसका प्रभावबाट अमेरिकीलाई जोगाउन कथित रूपमा कम्युनिस्टप्रति सहानुभूति राख्ने मानिसलाई तारो बनाएको थियो । 

चीनविरुद्ध अमेरिकी आरोपका चाङ राष्ट्रिय सुरक्षाको आडमा अप्रमाणित भयबाट उत्पन्न भइरहेको छ

हाल चिनियाँ कम्युनिस्ट पार्टी सम्बन्धित सदन चयन समितिका अध्यक्ष एवं विस्कन्सिनका प्रतिनिधि माइक ग्यालाघरले चीनविरुद्ध अप्रमाणित आरोप लगाएर एचयुएसीको रणनीतिको झल्को दिइरहेका छन् । उनी आगामी अप्रिलमा सेवानिवृत्त हुनेछन्, तैपनि प्रभाव जारी रहनेछ । विशेषतः टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने विधेयकका सह–प्रायोजक र चीनसँग संलग्नतालाई निरुत्साहित गर्ने कंग्रेसको प्रयासको नेतृत्वमा हुँदाको प्रभाव रहिरहनेछ ।

चीनविरुद्ध अमेरिकी आरोपका चाङ राष्ट्रिय सुरक्षाको आडमा अप्रमाणित भयबाट उत्पन्न भइरहेको छ । र, यी मामिलामा कुनै ठोस प्रमाण केवल चीनको बढ्दो आक्रामकताको परिस्थितिजन्य प्रमाण मात्रै हो । यसले वियोजक तर्कको द्विपक्षीय राजनीतीकरणलाई प्रतिबिम्बित गर्छ । उदाहरणका लागि अमेरिकी वाणिज्य सचिव एवं अग्रणी डेमोक्य्राट जिना रेमन्डो यदि चिनियाँ इभी अमेरिकी राजमार्गमा हतियार बन्यो भने के हुन्छ भनेर हामीलाई कल्पना गर्न भन्छिन् ।

एफबिआई निर्देशक रहेका डोनाल्ड ट्रम्पबाट नियुक्त एवं पुरातनपन्थी फेडरलिस्ट सोसाइटीका सदस्य चिनियाँ मालवेयरले महŒवपूर्ण अमेरिकी पूर्वाधारलाई अक्षम पार्न सक्छ ‘यदि चीनले हमला गर्ने समय आएको छ’ भनेर चेतावनी दिन्छन् भने । अमेरिकी पूर्वगुप्तचर अधिकारीले चिनियाँ क्रेनमा रहेका सेन्सरलाई जासुसी ट्रोजन घोडासँग तुलना गरेका थिए, तर यसका पछाडि कुनै ठोस प्रमाण छैन । 

चीनविरुद्ध उग्र–अमेरिकी प्रतिक्रिया उत्पन्न गर्ने कारक के हो ? एक्सिडेन्टल कन्फ्लिक्टमा मैले अमेरिका लामो समयदेखि प्रतिस्पर्धी विचारधारा र वैकल्पिक शासन प्रणालीप्रति असहिष्णु छ भन्नेमा जोड दिएको छु । ‘अमेरिकी अपवादवाद’को दाबीले हामीलाई हाम्रो विचार र मूल्य अरूमाथि थोपर्न बाध्य पार्छ । शीतयुद्धदेखि आजसम्म पनि सत्य यही हो ।

चीनप्रतिको अत्यधिक भयले अमेरिकाको आफ्नै समस्यालाई सहजै छोप्छ । द्विपक्षीय व्यापार घाटाले आजको चीन वा ३५ वर्षपहिलेको जापानजस्ता विशिष्ट देशको अनुचित व्यापारिक अभ्यासलाई उजागर गर्न सक्छ । यद्यपि बृहत् बहुपक्षीय व्यापार घाटा मुख्यतया दीर्घकालीन अमेरिकी बजेट घाटामा निहित छ, जसको परिणामस्वरूप घरेलु बचतको कमी भइरहेको छ ।

प्रविधि खतरा कथित चिनियाँ बौद्धिक सम्पत्ति चोरीको परिणाम मात्र होइन, यसले अनुसन्धान र विकासमा अमेरिकाको अपर्याप्त लगानी र विज्ञानजनित उच्च शिक्षामा भएका कमजोरीलाई पनि झल्काउँछ । आत्मनिरीक्षणको सट्टा अमेरिकी राजनीतिज्ञले चीनलाई दोष दिन राजनीतिक रूपमा सजिलो ठान्छन् । चीनद्वेषी भावना बढ्दै जाँदा भय कथित सत्यमा रूपान्तरण हुँदा चीनसँग अनपेक्षित द्वन्द्वको जोखिम बढ्छ । यी भयको जवाफ दिएर अमेरिकाले रोक्न खोजेको परिदृश्यलाई ब्युँताउने खतरा हुन्छ । ताइबानप्रति चिनियाँ आक्रामकताको चिन्ता यसको उदाहरण हो ।

अमेरिकासँग सुधार गर्ने क्षमता र दायित्व छ । चीनद्वेषलाई चीनबाट आउने खतरालाई आवश्यक प्रतिक्रियाका रूपमा तर्कसंगत बनाउनुको सट्टा अमेरिकी नेताले आफ्नो कद अग्लो बनाउनुपर्छ र थप परिपक्व दृष्टिकोण अपनाउनुपर्छ । विश्वव्यापी नेतृत्वको अभ्यासले पनि यही खोजेको छ । सन् १९३३ मा आफ्नो पदबहाली भाषणमा राष्ट्रपति फ्य्रांकलिन रुजवेल्टले प्रसिद्ध उद्धरणसँगै यो हानिकारक मानसिकताको महत्वपूर्ण जोखिमलाई जोड दिएका थिए । रुजवेल्टले ‘हाम्रो सबैभन्दा ठूलो भय आफैँ हो’ भनेका थिए । आजको चीनद्वेषी उन्मादका दौरान रुजवेल्टको सन्देश सम्झनलायक छ ।

(रोच वरिष्ठ अमेरिकी अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad