१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२१:oo

प्रमुख प्रशासकीयको रूपमा सेवा सुरु गरेसँगै चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन निषेध गर्ने भएका छन् । उनले फेसबुक र म्यासेन्जर १० बजेदेखि ५ बजेसम्म कार्यलयका कर्मचारीले चलाउन नपाउने गरी बन्द गर्ने बताएका हुन् । उनले भने– मेयर र उपमेयरसँग कुरा गरेर आफूले जनताको सेवालाई सहज बनाउन कर्मचारीका लागि कार्यालय समयमा फेसबुक र म्यासेन्जर प्रयोग बन्द गराउन लागेको बताए। 

त्यस्तै, नेपाल सरकारले तोकेको ड्रेसकोड र परिचयपत्र लगाएर १० बजे कार्यालय आइनपुग्ने कर्मचारीलाई पनि आफूले कारबाही गर्ने बताएका छन् । भण्डारीले कार्यालय समयमा काम छैन भनेर आफ्नो कार्यकक्ष छाड्नसमेत नपाइने बताए । ‘म मासिक रूपमा कर्मचारीसँग बैठक गर्छु  र तत्काल कार्यालयको समस्या हल गरेर अघि बढ्नेछु । कुनै पनि कर्मचारीले बहाना बनाएर अल्छी गर्न पाइनेछैन,’ भण्डारीले नयाँ पत्रिकासँग भने । 

सधैँ विवादमा तानिँदै आएको राप्ती नगरपालिकामा प्रशासकीय अधिकृत टिक्न सकेका थिएनन् । आफ्नो कार्यकालको समयमा कर्मचारीहरू सरुवा भएर राप्ती नगरपालिकामा आउजाउ हुने बनाउनेसमेत उनले बताए ।

भण्डारीले भने, ‘यो कर्मचारी कहाँको, राप्तीको नगरपालिकाकाे भन्ने बनाउँछु । जहाँ चुनौती त्यहाँ अवसर भन्छन्– ऐन–नियमले गरेका कुराहरू हामीले गर्ने हो । अनुशासित र सेवासँग जिम्मेवार कर्मचारी मात्र यहाँ हुनेछन् । पहिलेका अधिकृत लोभीपापी भएर समस्या आएको हो । जो मान्छेले नेपाल सरकारले दिएको तलबले पुग्दैन भन्छ त्यसले अब यहाँ जागिर खाने हाेइन ।’

सात वर्षदेखि यही नगरपालिकाको कृषि शाखामा रहेर काम गर्दै आएका भण्डारीले बुधबारदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालेका हुन् । उनले भने, ‘स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा स्थानीय तहकै राख्नुपर्छ भन्ने कुरा राख्दै आएको थिएँ । त्यो कुरा राप्तीमा सुरु भएको छ । मैले केही उदाहरणीय काम गरेर देखाउनुपर्छ ।’

ad
ad