१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १३ मंगलबार १६:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाल्टिमोरको पुलमा पानीजहाज ठोक्कियाे, कम्तीमा २० जना बेपत्ता

Read Time : < 1 मिनेट
२०८० चैत १३ मंगलबार १६:१६:००

अमेरिकी सहर बाल्टिमोरमा पानीजहाज पुलमा ठोक्किएको छ। जहाज ठाेक्किँदा पुलमा क्षति पुगेको छ भने कम्तीमा २० जना पानीमा फसेको मेरिल्यान्ड यातायात प्राधिकरणले जनाएको छ।

पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको छ। प्राधिकरणले भिडियोमार्फत सवारीचालकहरूलाई पटाप्सको नदीको पुल प्रयोग नगर्न निर्देशन दिएको छ।

प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवैतर्फका सडक बन्द गरिएको जनाएको हो। बाल्टिमोर प्रहरी विभागका प्रहरी प्रवक्ताले एनबिसी न्युजलाई दुर्घटनामा परेका मानिस नदीमा रहेको हुन सक्ने बताए। स्थानीय अधिकारीका अनुसार दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेका छन्।

बाल्टिमोर सिटी प्रहरीलाई मंगलबार बिहानै जहाजको ठक्करका कारण करिब १ः३५ मा पुल भत्किएको सूचना आएको बाल्टिमोर प्रहरीका निकी फिनोयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

पानीजहाजहरूको अनुगमनबारे जानकारी दिने वेबसाइट ‘मरिन ट्राफिक’ले मंगलबार बिहान डाली नामक सिंगापुरको ध्वजावाहक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो।

बाल्टिमोरका मेयर ब्रान्डन स्कुट र बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सेब्स्की जुनियर दुवैले घटनाबारे जानकारी पाएपछि तत्काल उद्धार कार्यका लागि उद्धारकर्मी खटाइएको बताए। यसैगरी प्रभावितहरूको जीवनरक्षाका लागि प्रार्थना गरिदिन ओल्सेब्स्कीले  सामाजिक सञ्जाल एक्समार्फत आह्वान गरे।