बैंकको ऋण तिर्न सहज वातावरण गराउन माग

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्थापीडित समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सहज वातावरण बनाउन माग गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गर्दै ब्याजदर घटाएर एकरूपता कायम गर्नुपर्ने र ऋण तिर्ने अवधि बढाउनुपर्ने माग गरेको हो ।

ऋणीहरूले आर्थिक मन्दी सकिएको मितिले पाँच वर्षसम्म कुनै पनि धितो लिलाम गर्न नपाइने व्यवस्था गर्न मागसमेत गरेका छन् । राज्यले आर्थिक मन्दी समाप्त भयो भनेर घोषणा गर्नुपर्ने र त्यसपछि पाँच वर्षको समय दिनुपर्ने उनीहरूको माग छ । 

बैंकको कर्जाको ब्याजदरमा भेदभाव भइरहेको भन्दै ऋणीलाई एउटै ब्याजदर कायम गर्न पनि माग गरिएको छ । समितिका अध्यक्ष दुर्गा पोख्रेलले आर्थिक संकटले व्यवसाय थला परेका कारण तोकिएको समयमा ऋण तिर्न सक्ने अवस्था नरहेको बताए । वित्तीय संस्थाले ऋणीबाट तोकिएको मितिमा साँवा–ब्याज नबुझाएमा बारम्बार तनाव दिने गरेको उनीहरूको गुनासो छ । 

कर्जा लगानीका बखत ऋणीसँग भएको सम्झौताको पालना नगरी आधारदर बढ्दा विनासूचना ब्याजदर वृद्धि गर्ने र आधारदर घट्दा ब्याजदर नघटाउने कार्य तत्काल रोकेर ऋण सम्झौताका बखत कायम ब्याजदर लागू गर्न पनि उनीहरूले माग गरेका छन् । कर्जाको साँवा तथा ब्याज भुक्तानीमा ढिलाइ भएको नाममा बैंकहरूले आफू खुसी लगाउँदै आएको जरिवाना खारेज गर्नुपर्ने माग पनि उनीहरूको छ । 

सुझावित समाचार