ग्लोबल मनी विक २०२४ अन्तर्गत सेन्ट्रल फाइनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरूले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्।
‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सञ्चालित कार्यक्रमअन्तर्गत डकाहा, बिर्तामोड, विराटनगर र बर्दिबास शाखाले वित्तीय साक्षरता तथा प्रभातफेरी सञ्चालन गरेका थिए।
सिन्धुली, डकाहास्थित सरस्वती क्याम्पसमा आयोजित उक्त कार्यक्रम डकाहा शाखा प्रमुख दीपेश पाण्डेले बैंक तथा वित्तीय संस्थाहरूबारे विद्यार्थीलाई जानकारी दिएका थिए। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, शिक्षक–शिक्षिका, कर्मचारी तथा क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थी उपस्थित थिए।
संस्थाको बिर्तामोड शाखाले पनि ग्लोबल मनी विक २०२४ अन्तर्गत बिर्तामोडस्थित महेन्द्र रत्न सेकेन्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्याे। कार्यक्रममा उक्त शाखाका प्रमुख प्रकाश फुँयालले बचतको विकासले दैनिक जीवनयापन सहज हुने र छरिएका साना रकमलाई एकत्रित गरी पुँजी बनाउन सकिने बताए।
यस्तै, विराटनगर शाखाले विराटनगरस्थित रामसीता माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। शाखाका प्रमुख शेखर पोखरेलले बैंक तथा वित्तीय संस्थाबारे विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी र सुसूचित गर्नुका साथै डिजिटल बैंकिङलगायत बचतका आवश्यकताको विषयमा आफ्ना विचार राखेका थिए।
महोत्तरीस्थित संस्थाको बर्दिबास शाखाले बर्दिबासका अन्य बैंक वित्तीय संस्थाहरूसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो। बैंक वित्तीय संस्था तथा डिजिटल बैंकिङलगायत वित्तीय जानकारी तथा जनचेतनामूलक प्लेकार्डहरूसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरूको उपस्थिति रहेको थियो।