१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ४ आइतबार ०८:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धी होइन : अर्थमन्त्री पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ४ आइतबार ०८:४९:००

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताए । 

सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरेअनुसारका काम गर्ने भएकाले एक–अर्कालाई आरोप लगाउनु गलत भएको बताए । पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए । ‘जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धीजस्तो बनाउने गरिएको छ,’ पुनले भने, ‘यो कसरी हुन सक्छ ? हामी एक–अर्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरूको गल्ती औँल्याउने होइन । यो व्यक्तिगत नभई राज्य सञ्चालनको विषय भएकाले जहाँ समस्या हुन्छ, त्यहाँ मिलेर काम गर्ने हो ।’ 

राष्ट्र बैंकको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्नु रहेको मन्त्री पुनले स्पष्ट गरे । पुनले हाल बजारमा पर्याप्त तरलता (लगानी योग्य रकम) भएकाले विगतमा ल्याइएका कठोर नीतिमा लचकता अपनाउन राष्ट्र बैंक नेतृत्वलाई आग्रहसमेत गरे । 

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रले जनविश्वास कायम गर्ने गरी कार्य गर्नुपर्ने बताए । साना खराब कामले संस्थालाई असर गर्ने भएकाले सचेत भएर काम गर्न उनले बैंकहरूलाई आग्रह गरे । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समयमा बैंकिङ क्षेत्रका बारेमा विभिन्न टीकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठीक रहेको बताए ।