स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका– ५ जयपतेकी रोमा थापासँग अहिले अनुदानमा पाएका आठवटा बाख्रा र पाठा छन् । जागृति स्वावलम्बी महिला समूहमा आबद्ध उनले अनुदानमा पाएका पाँचमध्ये तीन बाख्रा कात्तिकमा ब्याएका थिए । एउटा पाठो भने मरेको उनको भनाइ छ ।
‘मैले पालिकाबाट एउटा बिउ बोका पनि पाएकी छु । त्योसमेत र आफैँसँग भएको पहिलेकै गरेर १६ वटा बाख्रा छन् मेरा खोरमा । बाख्रा ल्याउनेले दुई सय रुपैयाँ दिनुहुन्छ,’ उनले भनिन्, ‘मलाई खोरका लागि पनि ५० हजार अनुदान आएको थियो । अहिले समूहमा मेरो नमुना खोर छ ।’
सोही गाउँपालिका वडा नं. ३ की रिममाया राना संगम स्वावलम्बी महिला समूहमा आबद्ध छिन् । गाउँपालिकाले हेफर नामक संस्थासँगको सहकार्यमा सञ्चालित कार्यक्रममार्फत उनले पनि बंगुरपालन थालेकी छिन् ।
यसअघि पनि उनको परिवारले बंगुरपालन गर्थ्याे । तर, अनुदानमै बंगुर पाएपछि उनी दंग छिन् । ‘मलाई संस्थाबाट दुईवटा बंगुर दिनुभएको थियो । २७ दिनका थिए । अहिले ती बंगुर र पहिलेदेखिकै बाख्रा स्याहार्ने काम गर्दै दिन बित्छ,’ उनी भन्छिन् ।
जिल्लाको तीन पालिकामा हेफरले पशुपालन, क्षमता विकाससमेतका तालिममा सहकार्य गरी काम गरिरहेको छ । यसैमध्येको एक हो कालीगण्डकी गाउँपालिका । गल्याङ र वालिङ नगरपालिकामा समेत यस्ता कार्यक्रम सञ्चालित छन् ।
उक्त संस्थाको स्याङ्जाका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेका अनुसार स्थानीय तहसँगको सहकार्यमा कृषि र पशुसँग सम्बन्धित परियोजना सञ्चालित छन् । विशेषगरी बाख्रापालन, बंगुरपालन, तरकारी उत्पादन तथा बजारीकरण र दुध उत्पादनका क्रियाकलाप भइरहेको उनले जानकारी दिए ।
‘दाना र घाँसका कुरा पनि यसैमा समावेश भइहाले । स्थानीय तहको प्राथमिकताअनुसार हामीले कार्य गरिरहेका छौँ,’ पाण्डेले भने, ‘कालीगण्डकीमा एक हजार दुई सय ५० जनालाई लक्षित गरी कार्यक्रम सञ्चालित छ ।’
नगरपालिकाकोे ७० र हेफरको ३० प्रतिशत बजेट साझेदारीका साथ कार्यक्रम सञ्चालित भइरहेको छ । पालिकाले निकालेको सूचनाका आधारमा साझेदारीमा यी कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
जयपतेकी ४२ वर्षीया थापाका श्रीमान् एक वर्षअघि वैदेशिक रोजगारीबाट नेपाल फर्केका हुन् । गाउँमा केही काम परेमा काम गर्न जान्छन् भने अरू वेला उनीहरू बाख्रा स्याहार्न व्यस्त हुन्छन् ।
बाख्रा र कृषि कर्मबाटै नेपालमै आय गर्ने र श्रीमानलाई फेरि विदेश नपठाउने सोच थापाको छ । यसअघि उनले भैँसीपालन गरेकोमा स्याहार्न गाह्रो भएपछि बाख्रापालन गरेकी हुन् ।
‘बाख्रा पाल्दा घरको खर्च चलिरहेको छ । श्रीमान् पाँच वर्ष कतार बसेर बिरामी भएपछि अहिले विदेश छाडेर घरै बस्नुभएको छ । उहाँ काम भएको वेलामा गाउँतिरै साथीहरूसँग काम गर्न हिँड्नुहुन्छ । तर, अब स्वास्थ्यले पनि सकिँदैन । त्यसैले यहीँ बस्ने सोचमा छौँ,’ थापाले भनिन् ।
उनको समूहका अन्यलाई खोर र पाल्न सक्ने क्षमता हेरी दुईदेखि पाँचवटा बाख्रा अनुदानमा दिइएको छ । २५ जनाको समूह गठन गरिएकोमा दुईजनाले विभिन्न कारणवश समूह छाडेपछि अहिले २३ जना छन् । उक्त समूहले पशुपालनका साथै सामाजिक पुँजी संकलन र परिचालनसमेत गर्छ ।
गाउँपालिका र हेफरको साझेदारीमा सञ्चालित कार्यक्रमका लागि यसै वर्ष वैशाखमा समूह बनाई सदस्यहरूलाई तालिम दिइएको थियो । उनीहरूले असारमा खोर बनाई पशुपालनको सुरु गरेका थिए ।
‘हामीहरूमध्ये पढेलेखेकाले र तालिम लिनुभएकाले हिसाब–किताब राख्नुभएको छ । महिनाको सय रुपैयाँ उठाएका छौँ । २३ सय रुपैयाँबाट अहिले सात हजार दुई सय रुपैयाँ लगानी भएको छ,’ थापाले भनिन् । खाँचो परेको अवस्थामा समूहकै सदस्यलाई सहकारी जसरी न्यून ब्याजमा दिने गरिएको छ ।
यसरी समूहबाट लिएको रकम दुई महिनाभित्र तिरिसक्नुपर्छ । समूहका महिलाले नियमित मासिक बैठक बसेर रकम संकलन गर्ने गरेका छन् ।
उनलाई बाख्रापालनमा एउटा मात्र समस्या छ, घाँसको । सधैँ त होइन । तर, खडेरीको वेला घाँस पाउन मुस्किल पर्छ । पालिका र हेफरले घाँस उत्पादन र दानासम्बन्धी तालिम दिएको भए पनि मौसमका कारणले वर्षमा केही समय घाँसको समस्या हुने थापा बताउँछिन् ।
गाउँपालिका र हेफरको साझेदारीमा सञ्चालित कार्यक्रमका लागि यसै वर्ष वैशाखमा समूह बनाई सदस्यहरूलाई तालिम दिइएको थियो । उनीहरूले असारमा खोर बनाई पशुपालनको सुरु गरेका थिए ।
संगम स्वावलम्बी महिला समूहकी सदस्य रानाका घरमा चार सदस्य छन् । उनका श्रीमान् पनि ज्याला–मजदुरी गर्छन् । छोरा र छोरी उच्च माध्यमिक तहमा पढ्छन् । मंसिरमा उनले अनुदानमा पाएको २७ दिनको बंगुरको पाठा र पाठीमध्ये पाठी मर्याे ।
‘हामी पहिला पनि दुई-तीनवटा पाल्थ्यौँ । खोर खाली हुन्नथ्यो । ठूलो भएपछि बेच्थ्यौँ । यसमा फाइदा त छ, खर्च चलाउन सजिलो हुन्छ,’ रानाले सुनाइन्, ‘पाठी मरेपछि दुई कोठाको खोर अहिले रित्तो भएको छ । अब अनुदानमा बाख्रा पनि दिने भन्नुभएको छ । पाएपछि त्यो पनि पाल्ने ।’
गाउँपालिकाले २१ बोका र ५० बंगुर पालिकावासीलाई अनुदान दिएको छ भने ४६ वटा व्यवस्थित नमुना खोर बनेका छन् । कृषि उपजको बजारीकरणमा सहयोग गर्न ११ वटा तौल मेसिन वितरण गरिएको छ ।
उनले बाख्राका लागि खोरसमेत बनाइसकेकी छिन् । घाँस नहुनेलाई सुक्खायाममा कठिनाइ भए पनि उनले डालेघाँस रोपेकी छिन् । साथै कुँडो, मकै आदि पनि व्यवस्था गरेकी छिन् । उनको समूहले पनि महिलाबाट पुँजी संकलन गरी परिचालन गर्छ ।
समूहमै रहेका एक महिलाका अनुसार अनुदानमा पाएका पाठामध्ये सबैका एक–दुईवटा मरेका छन् । केहीले पाएको केही समयपछि त कसैको पाएको एक–दुई दिनमै मरेको थियो । कारण थाहा नहुनु, चिसो बढी हुनु र पशुले वेलामा उपचार नपाउनुले पाठाहरू मरेको हुन सक्ने उनको भनाइ छ ।
हेफरका वरिष्ठ कार्यक्रम अधिकृत पाण्डेका अनुसार कालीगण्डकीमा अघिल्लो वर्ष ५० र यो वर्ष एक सयवटा बाख्रा वितरण गरिएको छ । अघिल्लो वर्ष यो कार्यक्रम दुई–तीन महिना मात्र सञ्चालन गरिएको थियो ।
गाउँपालिकाले २१ बोका र ५० बंगुर पालिकावासीलाई अनुदान दिएको छ भने ४६ वटा व्यवस्थित नमुना खोर बनेका छन् । कृषि उपजको बजारीकरणमा सहयोग गर्न ११ वटा तौल मेसिन वितरण गरिएको छ ।
महिलालाई नेतृत्व विकास, वित्त व्यवस्थापनसम्बन्धी तालिम पनि दिइएको छ । जसमा समूह व्यवस्थापन, कार्यक्रम सञ्चालन, माइन्युट तयार गर्ने, समूहका अन्य कार्य सञ्चालनजस्ता विषय पर्छन् ।
यसका साथै पशुको हेरचाह, दाना व्यवस्थापन, घाँस रोपन, औषधिउपचारलगायतका विषयमा समूहलाई जानकारी दिइने तालिम पनि सञ्चालन भएको छ ।
परियोजनाको प्रभाव बुझ्न अनुगमन तथा समन्वय समिति छ । जसको संयोजक पालिका अध्यक्ष रहन्छन् । समितिले फिल्डमै गएर अनुगमन र मूल्यांकन गर्ने गरेको छ ।