१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २९ मंगलबार १७:३८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

दीर्घकालीन असर गर्ने निर्णय नगर्न बागमती प्रदेश सरकारलाई कांग्रेसको चेतावनी

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २९ मंगलबार १७:३८:००

नेपाली कांग्रेस बागमतीले दुरगामी असर गर्ने कुनै पनि निर्णय नगर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई चेतावनी दिएको छ। सरकारबाट बाहिरिएको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले अल्पमतमा रहेको सरकारलाई दीर्घकालीन असर पर्ने र संवैधानिक नियुक्ति नगर्न सचेत गराउने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने, ‘अब कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको छ। यस सन्दर्भमा हामीले सरकारलाई रचनात्मक सहयोग गर्ने हो। तर, काम चलाउ अवस्थाको सरकारले दीर्घकालीन असर पार्ने निर्णय नगरोस् भन्ने हाम्रो चाहना छ। सोहीअनुसार सरकारलाई सचेत गराउने निर्णय पनि गरेका छौँ।’

उपनेता चित्रकारले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएर निकास नदिउन्जेलसम्म कांग्रेस अर्को समीकरण बनाएर सरकार बनाउने क्रियाकलापमा पनि नलाग्ने प्रस्ट पारे। मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी पाएको भन्दै उनले विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा पेस गर्ने समयसम्म वा राजीनामा नआउन्जेलसम्म कांग्रेस अर्को सरकार बनाउने खेलमा नलाग्ने बताए।

‘न मुख्यमन्त्रीले राजीनामा दिनुभएको छ, न उहाँले विश्वासको मत लिने विषय सदनमा प्रस्ताव आएको छ। हामीले मुख्यमन्त्रीले विश्वासको मत लिने भन्ने सुनेका मात्रै छौँ। त्यसकारण तत्काल कांग्रेस अर्को सरकार बनाउने पहल गर्दैन,’ उनले भने।

३७ सांसद रहेको कांग्रेस बागमती प्रदेशमा सबैभन्दा ठूलो दल हो। ११० जना प्रदेश सदस्य रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ।