१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:३४:oo

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन्। राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगकोे सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्यांक र सूचनाहरू जटिल प्रकृतिका  र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए।

अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवं बैंकहरू तथ्यांकको भारीले थिचिएको उनको भनाइ छ। संस्थागत रूपमा तयार भएका त्यस्ता तथ्यांकहरू सहज ढंगबाट आर्थिक पत्रकारहरूमार्फत आमसर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीले बताए।

‘राष्ट्र बैंक र अर्थतन्त्रका सूचना र तथ्यांकहरू प्रशस्त छन्। तर, यसको सही  र सरल विश्लेषण हुनु जरुरी छ,’ गभर्नर अधिकारीले भने, ‘संस्थाहरूमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आर्थिक तथ्यांकहरू आर्थिक पत्रकारहरूले जनताले बुझ्ने ढंगले प्रस्तुत गर्न जरुरी छ।’

गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारलाई आग्रह गरे। अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक रिपोर्टिङ गर्ने आर्थिक पत्रकारलाई प्रदान गरिने तालिमबाट राष्ट्र बैंकले पनि सिक्ने भन्दै गभर्नर अधिकारीले नाफिजका सदस्यहरूको क्षमता पनि अभिवृद्धि हुने धारणा राखे।

राष्ट्र बैंकको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ। प्रशिक्षणमा नेपाल राष्ट्र बैंकले छनोट गरेका नाैवटा आर्थिक, वित्तीय र मौद्रिक नीतिसँग सम्बन्धित विषयमा प्रशिक्षण हुनेछ। प्रशिक्षणमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले छनोट गरेका ३९ जना बैंकिङ तथा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरू सहभागी छन्।

ad
ad