१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३५:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व राजनीति र चिनियाँ कूटनीति

केही मुट्ठीभर राष्ट्रहरूले अन्तर्राष्ट्रिय मामिलामा एकाधिकार राख्न वा शक्तिका आधारमा देशलाई वर्गीकरण गर्न नहुनेमा चीन प्रस्ट देखिन्छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३५:oo

गत ७ मार्चमा चिनियाँ कम्युनिस्ट पार्टीको १४औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग वर्तमान विश्व राजनीतिक परिवेश र चीनको कूटनीतिबारे कुरा गरेका छन् । सो पत्रकार सम्मेलनमा वाङ यीले ताइवान, युक्रेन र गाजाको युद्धका साथै दुई महाशक्ति चीन र अमेरिकाबीचको सम्बन्धजस्ता विश्वव्यापी मुद्दालाई सम्बोधन गरे ।

वाङले चीन सधैँ शान्तिपूर्ण विदेश नीति अवलम्बन गर्न र आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको दृढतापूर्वक रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै आउने दिनमा चीन आफ्नो कूटनीतिका विशेषतालाई सुदृढ बनाउन थप विश्वस्त र आत्मनिर्भर हुने बताएका छन् । चिनियाँ विदेशमन्त्रीले यस वर्ष बेइजिङको कूटनीतिक प्राथमिकता प्रमुख शक्तिहरूसँगको सम्बन्ध स्थिर राख्ने, छिमेकी राष्ट्रहरूसँगको सहायता र सहकार्य सुदृढ गर्ने र वैश्विक दक्षिणका राष्ट्रहरूसँगको सम्बन्ध पुनरुत्थानका लागि प्रयास गर्ने रहेको बताएका छन् ।

गत महिना म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए— यदि तिमी अन्तर्राष्ट्रिय प्रणालीको टेबलमा छैनौँ भने तिमी मेनुमा हुनेछौ । ब्लिन्केनको टिप्पणी स्पष्ट थियो, यदि तिमी विद्यमान पश्चिमी अन्तर्राष्ट्रिय व्यवस्था पालना गर्दैनौ भने तिमी सिकार बनाइनेछौ । ब्लिन्केनको टिप्पणीलाई अप्रत्यक्ष रूपमा संकेत गर्दै वाङले केही मट्ठीभर राष्ट्रहरूले अन्तर्राष्ट्रिय मामिलामा एकाधिकार राख्न वा शक्तिका आधारमा देशलाई वर्गीकरण गर्न नहुने बताएका छन् ।

कसैले पनि ब्रिक्सलाई चुनौतीका रूपमा लिन हुँदैन किनकि यसको विस्तारले ग्लोबल साउथको सामूहिक उदय र विश्व व्यवस्था प्रणाली बहुध्रुवीयतातर्फ द्रुतगतिमा विकसित भइरहेको संकेत गरेको छ

उनले चीन ‘समान र व्यवस्थित’ बहुध्रुवीय विश्व र सबैलाई फाइदा पुर्‍याउने समावेशी आर्थिक विश्वव्यापीकरणको पक्षमा रहेको बताए । चीनको वर्तमान अर्थतन्त्रबारे विश्वमा चलिरहेका अनेक अडकलबाजीलाई इंगित गर्दै वाङले गत वर्ष चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि भएको जुन विश्वको समग्र आर्थिक वृद्धिको एकतिहाइ रहेको र यसले चीन विकासको इन्जिनका रूपमा बलियो रहेको र अर्को चीन अझै पनि चीन नै रहेको स्पष्ट बनाएको बताएका छन् । उच्च–गुणस्तरीय बेल्ट एन्ड रोड परियोजनालाई ‘विश्वको साझा विकासका लागि इन्जिन र सम्पूर्ण विश्वको आधुनिकीकरणका लागि एक गतिवर्धक’ का रूपमा वर्णन गर्दै चीन उच्च गुणस्तर बेल्ट एन्ड रोड सहयोगलाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको वाङले जनाए ।

चीनियाँ परराष्ट्रमन्त्री वाङले चीन–अमेरिका सम्बन्ध राष्ट्रपति सी जिनपिङले बाइडेनसँग प्रस्तुत गरेका तीन सिद्धान्तमा आधारित हुने बताएका छन् । बाइडेनसँगको भेटमा सीले दुई राष्ट्रबीचको सम्बन्ध सुधार गर्न पारस्परिक सम्मान पूर्वसर्त, शान्तिपूर्ण सहअस्तित्व आधारभूत र दुवै राष्ट्रको भलो हुने सहयोग लक्ष्य हुनुपर्ने बताएका थिए । दुई देशबीचको सम्बन्ध सुधार गर्ने लक्ष्यसहित गत नोभेम्बरमा राष्ट्रपति जो बाइडेन र सी जिनपिङबीच सान फ्रान्सिस्कोमा भेट भएको थियो । सो भेटपछि दुई राष्ट्रबीचको सम्बन्ध सुधारका लागि केही प्रगति भए पनि अमेरिकी पक्षमा चीनबारे कायम गलत धारणा अझै पनि जारी रहेको र अमेरिकी पक्षले गरेका वाचाको इमानदारपूर्वक पालना नगरेको वाङले गुनासो गरे ।

बाइडेन र सी जिनपिङबीच सान फ्रान्सिस्कोमा भएको भेटपछि दुई राष्ट्रबीचको सम्बन्ध सुधारका लागि केही प्रगति भए पनि अमेरिकी पक्षमा चीनबारे कायम गलत धारणा अझै यथावत् रहेको देखिन्छ ।

अमेरिकाले चीनलाई दबाउन अझ विभिन्न रणनीति बनाइरहेको जुन अमेरिकाले एकपक्षीय रूपमा लम्ब्याउँदै गएको प्रतिबन्धको सूचीबाट प्रस्ट भएको वाङले पत्रकारलाई बताए । अमेरिकी विदेश नीतिमा देखिएको वर्तमान अन्तरविरोधलाई औँल्याउँदै वाङले अमेरिकामाथि विभिन्न प्रश्न उठाएका छन्– अमेरिकाले एउटा कुरा भन्छ तर, अर्को गर्छ । यो प्रवृत्तिले प्रमुख देशको हैसियतमा उसको विश्वसनीयता कहाँ रहला ? ‘चीन’ भन्ने शब्द सुन्दा नै चित्त दुख्छ भने ठूला देशको हैसियतमा त्यसको विश्वस्तता कहाँ छ ? अमेरिका आफूलाई मात्र समृद्ध बनाउन चाहन्छ र अन्य देशको वैधानिक विकासलाई अस्वीकार गर्छ भने अन्तर्राष्ट्रिय निष्पक्षता कहाँ छ ?

अमेरिकाले चीनको विकासलाई रोक्न मूल्य शृंखला र आपूर्ति शृंखलामा एकाधिकार राख्ने नीति लिन्छ भने प्रतिस्पर्धामा निष्पक्षता कहाँ छ ? चीन र अमेरिकाजस्ता दुई ठूला देशबीचको द्वन्द्व र टकरावले अकल्पनीय नतिजा निम्त्याउने बताउँदै चीन अमेरिकासँग वार्ता, सञ्चार र समझदारीलाई सुदृढ गर्न र अनावश्यक गलतफेमी र पूर्वाग्रह हटाउन इच्छुक रहेको वाङले बताए । अमेरिकाका लागि चुनौती चीनबाट नभएर आफैँबाट भएको र चीनलाई दबाउन लागिपरे त्यसले उसैलाई हानि गर्ने बताउँदै समयको प्रवृत्तिप्रति स्पष्ट नजर राख्दै चीनको विकासलाई वस्तुनिष्ठ र तर्कसंगत रूपमा हेर्न, सक्रिय र व्यावहारिक रूपमा चीनसँगको आदान–प्रदानमा संलग्न हुन र आफ्ना प्रतिबद्धता पूरा गर्न वाङ यीले आग्रह गरेका छन् ।

वाङले मस्कोसँगको चीनको साझेदारी ‘उच्चस्तरमा’ अगाडि बढिरहेको बताएका छन् । उनले भने, चीन र रुसबीचको सम्बन्ध कुनै पनि तेस्रो पक्षप्रति लक्षित छैन, बरु दुईबीचको सम्बन्ध समयको प्रवृत्तिसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीयता र बृहत्तर लोकतन्त्रतर्फ अघि बढेको र यो विश्वव्यापी रणनीतिक स्थायित्व कायम राख्न, प्रमुख देशहरूबीच सकारात्मक अन्तर्क्रिया  गर्न र उदीयमान प्रमुख राष्ट्रहरूबीचको सहयोगलाई प्रवद्र्धन गर्न निकै महत्वपूर्ण छ ।

युक्रेन युद्धबारे सोधिएको प्रश्नको जवाफमा वाङले यसमा चीनको अडान वस्तुनिष्ठ र निष्पक्ष रहेको र मस्को र किभ दुवैको सहभागितामा शान्ति सम्मेलन गर्ने विचारलाई चीनले समर्थन गरेको बताए । उनले भने– दुई राष्ट्रबीच जति चाँडो वार्ता सुरु हुन्छ, त्यति नै चाँडो शान्ति आउँछ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकले रुसमाथि भारी प्रतिबन्ध लगाएका छन्, साथै ती मुलुकले बेइजिङले रुसमाथि दबाब नदिएको आरोप लगाउँदै आएका छन् । 

ताइवान स्ट्रेटको तनावलाई चीनले कसरी हेर्छ भन्ने प्रश्नमा वाङले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने विश्वका जोकोहीले पनि त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिँदै मुख्य भूमिसँग ताइवानको एकीकरण केवल समयको कुरा मात्र रहेको बताएका छन् । एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धता जति बलियो हुन्छ, ताइवान स्ट्रेटमा शान्तिको ग्यारेन्टी त्यति नै प्रबल हुन्छ, वाङले भने ।

प्यालेस्टाइन–इजरायली द्वन्द्वबारे विदेशमन्त्री वाङले २१औँ शताब्दीमा गाजामा भइरहेको मानवीय प्रकोप अन्त्य गर्न असफल हुनु मानवताका लागि दुःखद र सभ्यताका लागि नै कलंक भएको भन्दै कुनै पनि बहानामा द्वन्द्व र हत्यालाई उचित ठहराउन नसकिने बताएका छन् । बेइजिङले हालको इजरायल–हमास युद्ध सुरु भएदेखि नै तत्काल युद्धविरामका लागि आह्वान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायले तत्काल गाजा पट्टीमा युद्धविराम र शत्रुताको अन्त्यलाई प्राथमिकता राख्न र मानवीय राहत सुनिश्चित गर्न तत्काल नैतिक जिम्मेवारी लिनुपर्ने चीनले बताउँदै आएको छ । चीनले ऐतिहासिक रूपमा प्यालेस्टिनी मुद्दाप्रति सहानुभूति राख्दै आएको छ र इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि दुई–राष्ट्रको अवधारणालाई समर्थन गर्दै आएको छ । चीनले संयुक्त राष्ट्रसंघमा प्यालेस्टिनी राज्यको ‘पूर्ण’ सदस्यतालाई समर्थन गर्ने वाङले बताएका छन् ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री वाङ यीले दक्षिणी–चीन सागर शान्ति र सहयोगको सागरमा परिणत हुने चीनको विश्वास रहेको बताएका छन् । विगत केही महिनादेखि दक्षिणी–चीन सागरमा तनाव बढेको छ, जसमा चीन र फिलिपिन्स दुवैले एकअर्काका जहाजले पानीमा बारम्बार घुसपैठ गरेको आरोप लगाएका छन् ।

वाङले दक्षिण चीन सागर संसारको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र जलमार्ग रहेको र दशकौँदेखि विश्वको ५० प्रतिशत व्यापारिक जहाज (जुन सामुद्रिक व्यापारको एकतिहाइ हिस्सा हो) विनाकुनै अवरोध यस जलमार्गबाट ओहोरदोहोर गर्ने गरेको बताए । चीनले कुनै पनि पक्षबाट जानाजानी वा अनुचित उक्साहटमा उक्त समुद्रीमार्गमा अवरोध सिर्जना गर्ने प्रयास भए चीनले कानुनबमोजिम आफ्नो अधिकार रक्षा गर्न उचित कदम चाल्ने बताएको छ ।

उनले विवादित जलविवादको उचित व्यवस्थापन र समाधान विवादित पक्षहरूबीचको वार्ताबाट हुनुपर्ने र बाह्य शक्तिहरूबाट कुनै पनि प्रकारको उक्साहट, बाधा वा विवादबाट फाइदा उठाउने प्रयास हुन नहुने चेतावनी दिएका छन् । वाङले चीन र आसियान सदस्य राष्ट्रहरूबीच सन् २००२ मा हस्ताक्षर भएको घोषणापत्रको कार्यान्वयन जारी राख्न आग्रह गर्दै दक्षिण–चीन सागरसम्बन्धी आचारसंहिता बनाउन सुरु भएको वार्तालाई तीव्रता दिन आग्रहसमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा वाङ यीले चीन ग्लोबल साउथको अटल सदस्य रहेको र दक्षिणका देशहरूको विकास र समृद्धिका लागि सधैँ अग्रसर रहने र विकासोन्मुख देशहरूबीच एकता र सहयोगलाई प्रवद्र्धन गर्न निरन्तर लागिरहने बताए । वाङ यीले ब्रिक्सलाई चुनौतीका रूपमा लिन नहुने र यसको विस्तारले ग्लोबल साउथको सामूहिक उदय र विश्व व्यवस्था प्रणाली बहुध्रुवीयतातर्फ द्रुतगतिमा विकसित भइरहेको संकेत गरेको बताएका छन् ।

ad
ad