Skip This
भरतपुरकी मेयर दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भरतपुरकी मेयर दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:o३:oo

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छिन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका हुन् । 

पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड दाहाललाई प्रदान गरिएको हो । समारोहमा मरिससकी पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायत उच्च व्यक्तित्व सहभागी थिए । सो अवसरमा मेयर खानलाई लोकल गभर्मेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ दी इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरक–फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।

यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेबर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायामन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिइन् । 

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ । प्रमुख दाहालले यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गरेकी थिइन् ।

प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स तथा सत्तारूढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसद्मा भेटघाट गरेकी थिइन् । यसक्रममा प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी थिइन् । 

ad
ad