संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एकपटक एउटा केटाले सोध्यो, ‘सर, आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंकै प्रशंसा गर्छन् । तपाईंलाई महान् वैज्ञानिक भनेर सम्मान गर्छन् । आखिर तपाईं कसरी यति महान् बन्नुभयो, त्यसको गुरुमन्त्र के हो ? मलाई पनि बताइदिनुहोस् न ।’
सो केटाको जिज्ञासा सुनिसकेपछि आइन्स्टाइनले एक शब्दमा उत्तर दिए, ‘लगन ।’ उनको उत्तर सुनिसकेपछि केटाले सोध्यो, ‘हजुरले के भन्नुभएको हो, मैले बुझ्न सकिनँ ।’ आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘हेर बाबु, जब म तिम्रो उमेरको थिएँ, त्यतिखेर गणितको नाम सुन्नासाथ डराउँथे, जस्तो आज तिमी डराइरहेका छौ ।
गणितमा म धेरैजसो फेल नै हुन्थेँ । फेल भएपछि मैले निकै कठोर सजाय पनि पाउँथेँ, मेरा साथीहरू मभन्दा निकै जान्ने थिए । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचेँ, आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराइरहेको छु ? बस्, त्यस दिनदेखि मैले गणितका प्रश्न समाधानका लागि बडो लगनसाथ मिहिनेत गर्न थालेँ । त्यस क्रममा म बारम्बार असफल भएँ ।
साथीहरूले मेरो मजाक उडाए । तर, ममा एउटा यस्तो लगन थियो कि ममा जसरी भए पनि गणितका समस्या समाधान गरेरै छाड्ने धुन चढेको थियो । यही लगनको प्रतिफल हो, आज मानिसहरू मेरा सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पनि भयो कि मैले विज्ञानमा नै प्रसिद्धि हासिल गरेँ । लगन नै मेरो गुरुमन्त्र हो तिमीले पनि लगन नछोड्नू ।’ आइन्स्टाइनको जवाफपछि सो केटाले साँचो लगनको महत्व बुझ्यो, र ऊ आइन्स्टाइनलाई धन्यवाद भनेर आफ्नो बाटो लाग्यो ।