१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
निर्माणाधीन मदन भण्डारी राजमार्गअन्तर्गत दमक– ३ स्थित बेलडाँगी बजारमा कालोपत्रे गर्न ठिक्क पारिएको सडकको बीचमा रहेको रूख । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार

मदन भण्डारी राजमार्ग निर्माणमा वनको झमेला 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

राजमार्गमा पर्ने रूख ३२ महिनासम्म पनि हटाउन सकिएन, रूखकै कारण निर्माण भइसकेका पुल सञ्चालनमा आएनन्

मदन भण्डारी राजमार्गअन्तर्गत झापादेखि सुनसरीसम्म सातवटा प्याकेजमा ९५.८ किलोमिटर सडक निर्माणको भइरहेको छ । ३२ महिनाअघि ठेक्का लागेको सडकको सात खण्डमध्ये पाँचवटाको म्याद सकिएको छ । सुनसरीदेखि झापाको मेचीनगरस्थित पाटापुरसम्मको राजमार्गअन्तर्गतको चुलाचुलीस्थित कमलखोला–साहदतस्थल (सुखानी) खण्डको भने भर्खर डिपिआर तयार हुँदै छ । बीचको करिब ३२ किलोमिटर भाग ठेक्का नलागे पनि बाँकी ९५.८ किलोमिटरमा काम भइरहेको छ । 

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले यो खण्डमा सात प्याकेजमा राजमार्ग निर्माणको ठेक्का लगाएको थियो । तर, त्यसमध्ये पाँचवटा प्याकेजको पहिलो चरणको म्याद सकिएको छ । कुनै प्याकेजको म्याद पुनः थपिएको छ भने कुनैको म्याद थप्ने प्रक्रियामा छ । दुईवटा प्याकेजको त थपिएको म्याद पनि सकिने अन्तिम चरणमा छ । तर, काम भने सन्तोषजनक देखिँदैन । 

गोपालप्रसाद खकुरेल, प्रमुख मदन भण्डारी राजमार्ग योजना कार्यालय दमक
राजमार्गमा पर्ने रूख हटाउन नसक्दा कामले गति लिन सकेन । डिभिजन वनहरूले काम अघि नबढाउँदा रूख हटाउने प्रक्रिया अघि बढ्न सकेको छैन । साथै, सरकारले बजेट न्यून पठाएका कारण पनि समस्यामा छौँ । सोचेअनुरूप प्रगति गर्न सकिएको छैन ।

सरकारी निकायबीच समन्वय अभाव हुँदा मदन भण्डारी राजमार्ग निर्माणले गति लिन सकेको छैन । राजमार्गमा ठेक्का लागेको खण्डमा सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको २३ किलोमिटरमा वन क्षेत्र पर्छ । वन क्षेत्रमा रहेका रुख हटाउने प्रक्रिया अघि नबढ्दा निर्माणले गति लिन नसकेको हो । ‘मुख्यतः राजमार्गमा पर्ने रुख हटाउन नसक्दा कामले गति लिन सकेन । डिभिजन वनहरूले काम अघि नबढाउँदा रुख हटाउने प्रक्रिया अघि बढ्न सकेको छैन,’ मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले भने, ‘सरकारले बजेट न्यून पठाएका कारण पनि समस्यामा छौँ । सोचेअनुरूप प्रगति गर्न सकिएको छैन ।’

उनका अनुसार सडकतर्फ सातवटा प्याकेजमा समग्रमा ३८ प्रतिशत काम भएको छ । यद्यपि, सरकारले कम बजेट विनियोजन गर्दा निर्माण कम्पनीलाई भुक्तानी दिन नै समस्या भएको आयोजना प्रमुख खकुरेलले बताए । ‘सुरुमा विनियोजित बजेट कम हुनुको कारण पनि काम अलि सुस्त भएको छ । ‘मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा पुल र सडक गरेर करिब ११ अर्बको ठेक्का लागेको छ । जसमध्ये करिब सात अर्ब रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गरेको छ । सरकारले चालू आर्थिक वर्षमा सडकमा ४९ करोड बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘अब सबै काम सकिँदा चार अर्ब भुक्तानी गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षमा दुई अर्ब नै दिएको भए पनि सबैको काम हुने थियो । तर, बजेट नै न्यून आयो ।’

यो खण्डको करिब २३ किलोमिटरमा पर्ने जंगलमा रहेका रुखहरू हट्ने हो भने आउँदो आर्थिक वर्षमा राजमार्ग निर्माणको काम सकिने उनी बताउँछन् । यद्यपि, वन तथा भूसंरक्षण विभाग, कोशी प्रदेशको वन मन्त्रालय र जिल्लास्थित डिभिजन वन कार्यालयहरूमा बारम्बार ताकेता गर्दा पनि रुख हटाउने प्रक्रिया अघि बढ्न नसकेको आयोजना प्रमुख खकुरेलको गुनासो छ । 

निर्माण कम्पनीले राजमार्गको ट्रयाकको काम सकेका छन् । वन क्षेत्र नभएको क्षेत्रका कतिपय ठाउँमा कालोपत्रे पनि भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका अनुसार वन क्षेत्रबाहिरको करिब २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । वन क्षेत्रमा पर्ने रुख नहटाएका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीले जनाएका छन् । सडकको तीन प्याकेजको ठेक्का पाएको श्रेष्ठ–मोतीदान जेभीका इन्जिनियर प्रह्लाद ढुंगानाले वन क्षेत्रमा रहेका रुखहरू समयमा नहटाउँदा काममा बाधा पुगेको बताए । ‘जंगलमा रहेका रुखहरू नहटाउँदा समस्या भएको छ । कतिपय ठाउँमा सबबेस लगाएर कालोपत्रे गर्न ठिक्क बनाएका छौँ । तर, सडकबीचमा रुख छ । जसका कारण कालोपत्रे गर्न पाइएको छैन । समयमै रुख नहट्दा हाम्रो खर्च पनि बढिरहेको छ । समयमा रुख हटाएको भए हामी म्यादमै काम सक्ने थियौँ,’ उनले भने । 

डिभिजन वनहरूले भने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले नै चासो नदेखाएको दाबी गरेका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले आयोजना कार्यालय सम्पर्कमै नआउने गरेको दाबी गरे । ‘केही ठाउँको लगत संकलन भइसकेको छ । कतिपय ठाउँमा ट्रयाक परिवर्तन गर्नेभन्दा ढिला भएको छ । उहाँहरू (मदन भण्डारी राजमार्ग आयोजना कार्यालय)ले जति छिटो काम सक्नुहुन्छ, त्यति छिटो हुन्छ,’ उनले भने, ‘मान्छे जुटाउने काम उहाँहरूको हो । उहाँहरू सम्पर्कमै आउनुहुन्न, हराउनुहुन्छ । असारमा सम्पर्क गर्नुभएको थियो । एकैपटक माघमा गर्नुभयो । उहाँहरूको समस्या हो भने त आउनुपर्‍यो नि ! नापीको मान्छे ल्याउनुपर्‍यो । सबै हामीले त गर्दैनौँ नि ! उहाँहरूको बुझाइमा कमजोरी छ । जम्मै फाइल ल्याएर छोडेपछि वनले गरिदिन्छ भन्ने रहेछ । त्यो हाम्रो कार्यक्षेत्रमा पर्दैन ।’

शिवकुमार वाग्ले, महानिर्देशक वन तथा भूसंरक्षण विभाग
म आएको ६ महिनासम्म पनि यो कुरा आएको छैन । हामीसँग समन्वय नै नगर्ने र वनले दिएन भनेर बाटोबाटो मात्रै भनेर हुन्छ ? किन रोकिएको भन्ने मैले जवाफ दिन नै सकिनँ । आयोजनाको तर्फबाट कोही आएर केही पनि भनेको छैन ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले आफूले जिम्मेवारी सम्हालेको ६ महिना बितिसक्दा पनि मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा रहेको यो समस्याबारे कतैबाट जानकारी नआएको बताए । ‘म आएको ६ महिनासम्म पनि यो कुरा आएको छैन । हामीसँग समन्वय नै नगर्ने र वनले दिएन भनेर बाटोबाटो भनेर हुन्छ ?,’ उनले भने, ‘किन रोकिएको भन्ने मैले जवाफ दिन नै सकिनँ । आयोजनाको तर्फबाट कोही आएर केही पनि भनेको छैन ।’

कुन ठेक्काको प्रगति कति ?
मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५.८ किलोमिटर सडक निर्माणका लागि ठेक्का लगाएको छ । पहिलो खण्ड सर्दु–भलुवाको २४.८ किलोमिटर सडक ९३ करोड ३३ लाखमा ठेक्का लागेको छ । दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्ड २९ असार ०७८ मा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद २८ पुस ०८० मा सकियो । दुवै खण्डको म्याद २७ पुस ०८१ सम्म थपिएको छ । यो अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५० प्रतिशत छ । यस्तै, दोस्रो खण्डको काम ५३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५१ प्रतिशत छ ।

यस्तै, मेचीडाँगी–शान्तिपुरको दश किलोमिटर सडक ३७ करोड ९५ लाखमा ठेक्का लागेको छ । यो ठेक्को म्याद २८ असार ०८० मा सकियो । अहिले म्याद थपको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ । यसको भौतिक प्रगति ५० प्रतिशत छ भने वित्तीय प्रगति ४६ प्रतिशत छ । यी तीनवटै खण्ड श्रेष्ठ–मोतीदान जेभीले ठेक्का लिएको छ ।

यस्तै, मेचीडाँगीदेखि पाटापुरसम्मको करिब तीन किलोमिटर सडक निर्माणका लागि दुईवटा प्याकेजमा ठेक्का लगाइएको छ । दुवै प्याकेजको थपिएको म्याद पनि अन्तिम चरणमा छ । तर, काम भने सुस्त छ । मेचीडाँगीदेखि पाटापुरसम्मको एक किलोमिटर सडक २९ मंसिर ०७९ मा १२ करोड २० लाखमा आरकेआरवान जेभीले ठेक्का लिएको थियो । २८ मंसिर ८० मै काम सक्नुपर्ने भए पनि समयमा नसकिएपछि २० फागुन ०८० सम्म म्याद थपिएको छ । तर, थपिएको म्याद सकिनै लाग्दा पनि ४० प्रतिशत मात्र काम भएको छ । 

यस्तै, सोही खण्डको १.८ किलोमिटर सडक निर्माणको जिम्मा सिद्धकाली इन्टरनेसनल बिल्डर्स–लालप्रसाद शर्मा एन्ड सन जेभीले सात करोड ९१ लाखमा लिएका छन्, २१ मंसिर ०७९ मा ठेक्का लिएको यो खण्ड २८ मंसिर ०८० मा सक्नुपर्ने थियो । तर, समयमा काम नसकिएपछि २० फागुन ०८० सम्म म्याद थपिएको छ । यो अवधिमा ९० प्रतिशत काम भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । 

रतुवादेखि कमल खोलासम्म १३ किलोमिटर सडक निर्माणका लागि ९ मंसिर ०७९ मा ठेक्का सम्झौता भएको थियो । ८ जेठ ०८२ मा सक्ने गरी देव एन्ड सायर–सक्षम जेभीले ५४ करोड ९७ लाखमा ठेक्का लिएको छ । यो सडक निर्माणको काम अहिले २० प्रतिशत मात्र भइरहेको छ । साहदतस्थलदेखि शान्तिनगरसम्मको १७ किलोमिटर निर्माणको जिम्मा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले लिएको छ । २३ कात्तिक ०७९ मा ८६ करोड ८२ लाखमा ठेक्का लिएको यो खण्ड २२ वैशाख ०८२ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले यो सडकको भौतिक प्रगति ३० प्रतिशत रहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । 

पुल निर्माणको काम ९० प्रतिशत सकियो
मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वको सुनसरीदेखि झापासम्ममा बन्ने पुलको काम ९० प्रतिशत सकिएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । आयोजना प्रमुख खकुरेलका अनुसार यो खण्डमा ३७ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । जसमध्ये २२ वटा पुलको पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छ । उनका अनुसार नौवटा पुल निर्माणको काम सकिए पनि रुख हटाउन नसक्दा पहुँचमार्ग निर्माण हुन सकेको छैन । बाँकी ६ वटा पुलको निर्माण कार्या अन्तिम चरणमा छ । तीमध्ये पाँचवटा पुलको पहुँचमार्गमा रुख परेका कारण पहुँचमार्ग निर्माण गर्न नसक्दा समस्या भएको खकुरेलले बताए । 

ad
ad