१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा पनि किसान आन्दोलित : सडकमा दुध पोखेर एक घण्टा चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४३:oo

पूर्वी नवलपरासीका दुग्ध किसान आन्दोलित भएका छन्। उनीहरूले बिहीबार कावासोतीमा दुध पोखेर पूर्व–पश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन्।

दुधको भुक्तानी माग गर्दै यहाँका किसानले महेन्द्रराजमार्गअन्तर्गत कावासोतीको फलफूल चोकमा सडक अवरुद्ध गरेका हुन्। पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा दुध पोखेर किसानले सरकारविरुद्ध आक्रोश पोखेका थिए।

बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्दै किसानले राजमार्ग अवरुद्ध गरेका थिए। दुधको भुक्तानी नपाएको र सरकार मूकदर्शक भएर बसेको भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्।

‘निकम्मा कृषिमन्त्री राजीनामा दे’, ‘किसानमारा सरकार मुर्दावाद’, ‘दुधको आयात बन्द गर’जस्ता प्लेकार्ड बोकेको किसानले सडकमा नाराबाजी गरे। उनीहरूले मिल्क होलिडे बन्द हुनुपर्ने र किसानको उत्पादन दुधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन्।

कावासोतीमा दुध पोखेर नाराबाजी गरेका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका दर्जनौँ सवारीसाधन कावासोतीमै रोकिएका छन्। पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दुध बिक्री हुँदै आएको छ। दुग्ध उत्पादक किसानले स्थानीय सहकारीमार्फत बिक्री गरेको दुधको भुक्तानी नपाएका कारण आन्दोलन गर्नुपरेको जनाएका छन्। सहकारीले काठमाडौंका दुध डेरीलाई दिएको दुधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन्।

ad
ad