१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पनौतीलाई बालश्रममुक्त नगर घोषणा गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:२o:oo

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित काभ्रेको पनौती नगरपालिकाले बालश्रम निवारणका सन्दर्भमा छलफल तथा अन्तर्क्रिया गरेको छ। बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको नगरपालिकाले हालसम्म गरेका प्रगति तथा आगामी योजनाबारे पत्रकारहरूसँग छलफल गरेको हो। 

कार्यक्रममा नगरपालिकाका बालमैत्री सम्पर्क व्यक्ति केशव बन्जाराले नगरपालिकाले हालसम्म गरेका कार्यबारे जानकारी गराएका थिए। नगरपालिकाले बालमैत्री स्थानीय शासनअन्तर्गत ५१ वटा सूचकमा रहेर काम गर्दै आइरहेको छ। आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा नै उक्त विषय समावेश गरिएको बन्जाराले बताए।

हालसम्म पनौती नगरपालिकाका १२ वटा वडामध्ये वडा नं. ११ नगरपालिकाकै पहिलो बालश्रममुक्त वडा घोषणा भएको छ। त्यसरी नै वडा नं. ५ र ८ पनि बालश्रममुक्त वडा घोषणा भइसकेका छन्। अन्य वडामा पनि घोषणाको तयारी तीव्र रूपमा भइरहेको नगरपालिकाले जनाएको छ।

नगरभित्र अझै पनि १७ जना बालबालिका श्रममा रहेका बन्जाराले जानकारी दिए। ती बालबालिकाहरूलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाईइ छ । बालबालिकाको जन्मदर्ता विवरण तयार गर्ने, क्षमता अभिवृद्धि गर्ने, चेतनामूलक कार्यक्रम तयार पार्ने, बालश्रमको अवस्था अनुगमनलगायतका कार्य गर्नेलगायतको काम नगरपालिकाले गरिरहेको छ।

कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले बालश्रममुक्त नगर घोषणा गर्ने अभियानमा साथ दिन संघसस्थाहरूलाई आग्रह गरेका छन् । बालबालिकाको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले बताए । उपप्रमुख गीता बन्जाराले बोल्नसमेत लजाउने बालबालिका अहिले आफ्ना लागि आफैँ योजना बनाउन थालेको भन्दै खुसी व्यक्त गरिन् । उनले बालमैत्री दिगोपनाका लागि नरपालिकाले काम गरिहेको जानकारी दिइन् ।

पनौती नगरपालिका ०७८ असार ३० गते बालमैत्री नगरपालिका घोषणा भएको थियो। त्यतिखेर ४९ वटा सूचक पूरा गर्नुपर्ने थियो भने अहिले ५१ वटा सूचक पूरा गर्नुपर्नेछ।

देशभर ११ लाख बालबालिका श्रममा
अन्तर्राष्ट्रिय श्रम संगठनका (आइएलओ)को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन्। आइएलओका प्रतिनिधि उद्धवराज पौड्यालले सो जानकारी दिएका हुन्।

पौड्यालका अनुसार एकदेखि १३ वर्ष उमेर समूहका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन्। बालकभन्दा बालिका श्रममा बढी छन्। १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेको पौड्यालले बताए। 

ad
ad