पूर्वीय दर्शनको आयुर्वेदमा पनि माटोको प्रयोग गरी प्राकृतिक उपचारात्मक विधिबारे उल्लेख छ
माटोले कसरी काम गर्दछ ?
ओसिलो, हिलो माटोको ओसले छालालाई आराम दिन्छ र प्वालहरू खुल्छन् । यसले विकारहरूलाई शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ । साथै, माटोबाट पोषक तत्वहरू शरीरमा सोसिन्छन् । हिलो सुक्दा छाला कडा हुन्छ र रगतको सञ्चार बढ्दै जान्छ । रक्तसञ्चार बढेकाले सम्पूर्ण शरीरमा पोषण प्रवाह गर्दछ ।
जनावर र मान्छेको उपचार
माटो चिकित्साको महत्वभएकै छ । त्यसैले त झन्डै आधा शताब्दीअघि आधुनिक चिकित्सा विधिशास्त्रको अध्ययन गर्ने पाठ्यक्रममा पनि ‘माटो चिकित्सा’लाई समेटियो । हामीले देखेका हुन सक्छौँ गाउँघरमा गाई–गोठ तथा भैँसी–राँगालाई खुरमा कीटाणु लागेको अवस्थामा खुर डुब्ने गरी हिलोमा राखिन्छ । यसरी खुरमा कीटाणु लाग्ने रोगलाई खोरेत भनिन्छ । माटोमा हुने तत्वका कारण खुरमा लागेको कीटाणु मर्नुका साथै घाउ पनि कम हुन्छ ।
शुद्ध माटो लेपन
माटो चिकित्सा विधिले उपचार गर्नका लागि जमिनलाई बाहिरी सतहबाट तीनदेखि पाँच फिट गहिराइ हुने गरी खनेर माटो निकालिन्छ । पाँच फिट गहिराइभन्दा तलको कुनै रासायनिक तथा अम्लीय तत्व नमिसिएको माटोलाई सुकाएर धुलो बनाइन्छ ।
धुलो बनाइसकेपछि माटो चालेर ढुंगा तथा बालुवाको भाग छुट्याएर मसिनो मैदाजस्तो धुलो तयार गरिन्छ । यस्तो मसिनो धुलो तयार गरिसकेपछि उपचारको आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । व्यक्तिको शारीरिक समस्याको उपचारको प्रकृतिअनुसार धुलो माटोलाई विभिन्न आकार–प्रकारमा तयार गरिन्छ ।
कुनै माटो पानी मिसाएर राम्रोसँग माडी रोटी आकारको बनाइन्छ, कुनै पोखरीमा हाली लेदो बनाइन्छ । कतिपय अवस्थामा भने भाँडोमा माटो पानीमा फिटेर हल्का लेदो बनाई शरीरमा लेपन गरिन्छ । पाचन प्रक्रियाको गडबडीका कारण हुने ग्यास्ट्रिक, पेट पोल्ने, खाना नपच्ने, अल्सरजस्ता पेटसम्बन्धी समस्याका लागि माटोको प्रयोग गरिन्छ ।
यो उपचार विधि अपनाउँदा व्यक्तिलाई उत्तानो परेर सुताइन्छ । त्यसपछि पातलो कपडामा माटो राखी फिँजाएर रोटीजस्तै बनाइन्छ । यसरी रोटीजस्तै बनाएको माटो कपडासहित पेटमाथि राखिन्छ । माटो राखिसकेपछि माथिबाट शरीर ढाक्ने गरी कम्मल वा बाक्लो कपडा ओडिन्छ । बाहिरी वातावरणमा हुने विभिन्न किसिमका संक्रमणबाट बच्नका लागि यसरी कपडा ओड्नु उचित हुन्छ ।
करिब २०–२५ मिनेट पेटमाथि माटो राखिन्छ । यसरी माटोबाट उपचार गर्दा पेटमा प्राकृतिक रूपमा शीतलता प्रदान गरी पाचन प्रक्रिया सहज बनाउन मद्दत पुग्छ । त्यति मात्रै होइन, छाती, ढाड, कम्मर, काँधलगायत शरीरका अंगमा हुने समस्याका लागि यो विधि अपनाउन सकिन्छ ।
छाला स्वस्थ
छाला चिलाउने, लुतो आउने, विभिन्न किसिमका घाउ–खटिरा हुने तथा सुन्दरताका लागि पनि माटोको प्रयोग गर्न सकिन्छ । छालाको समस्याको उपचारका लागि प्रभावित भागमा भिजाइएको माटोको लेपन लगाइन्छ । ब्रसले लेदो माटोको लेप लगाइन्छ । माटोको लेपन लगाइसकेपछि करिब १५ मिनेट शरीरमा लगाएको माटो सुक्न दिनुपर्छ ।
सुकिसकेपछि मनतातो पानीले नुहाउनुपर्छ । तातो पानीले नुहाउनाले शरीर त सफा हुन्छ नै संक्रमित भएको छालासमेत ठीक हुन्छ । यसरी छालामा माटोको लेपन लगाउँदा छालामा भएका कीटाणु मर्छन् । त्यति मात्रै होइन, माटोमा हुने तत्वका कारण छालाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
माटोको प्रयोगले छालाको दुर्गन्ध, काखी गन्हाउने, खुट्टा गनाउनेजस्ता समस्याबाट बच्न सकिन्छ । हाडजोर्नी, बाथ, युरिकएसिडजस्ता समस्याका लागि पनि यो विधि अपनाउन सकिन्छ ।
संक्रमणबाट बच्न सकिन्छ
माटोमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर, आइरन, बोरन, कप्परजस्ता तत्व पाइन्छन् । माटोमा हुने यस्ता तत्वले पहिलो कुरा त छालामा संक्रमण हुन दिँदैनन् । अर्कोतर्फ छालामा संक्रमण भएको अवस्थामा पनि त्यस्ता संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्छ । तर, माटो भने शुद्ध र चिम्टियाइलो (लिसाइलो) नै हुन आवश्यक छ । यस्तो माटोबाट संक्रमण हुने सम्भावना कम हुन्छ ।