१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस टोकियो
२०८० फाल्गुण १३ आइतबार १२:४२:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जापान भूकम्प : सरकारले पुनर्निर्माणमा थप ६६ करोड डलर खर्च गर्ने

Read Time : > 1 मिनेट
रासस, टोकियो
२०८० फाल्गुण १३ आइतबार १२:४२:००

जापानले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किसिदाले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माणमा उक्त रकम खर्च गर्ने बताएका छन्। उनले शनिबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ आर्थिक सहायताको घोषणा गरेका हुन्।

सन् २०२४ जनवरी १ मा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पले जापानको समुद्री तटमा रहेको इसिकावा क्षेत्रको केही भागलाई तहसनहस बनाएको छ। भूकम्पका कारण धेरै भवन र सडक भत्किएका थिए भने विशाल आगलागीसमेत भएको थियो।

भूकम्पमा परी अहिलेसम्म दुई सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० हजारभन्दा बढी मानिस शिविर र होटेलमा शरण लिइरहेका छन्। इसिकावाका केही भागमा अझै पनि खानेपानीको सेवा सहज हुन सकेको छैन।

किसिदाले चालू आर्थिक वर्षको सञ्चित कोषबाट करिब सय अर्ब येन (६६ करोड अमेरिकी डलर)को अतिरिक्त खर्चलाई आगामी दिनमा आफ्नो क्याबिनेटले अनुमोदन गर्ने बताए। यो नयाँ वर्षको दिनको भूकम्पबाट पुनरुत्थानको प्रयासका लागि आपतकालीन कोषको तेस्रो विनियोजन हो, जुन रकम अब कुल दुई सय ६० अर्ब येन (१.७ अर्ब डलर)भन्दा बढी हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री किसिदाले पूर्वनिर्मित अस्थायी आवास निर्माणका प्रयासलाई तीव्रता दिइने र वाजिमाको परम्परागत कलाकृति उद्योगका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भूकम्पका कारण इसिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ अर्ब डलर)देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर)को क्षति भएको सरकारी अनुमान छ।

तर, सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा पनि यो अनुमान निकै कम हो। त्यस विपत्तिमा लगभग १८ हजार पाँच सय मानिसकाे मृत्यु वा बेपत्ता भएका थिए। यसले फुकुशिमा आणविक केन्द्रमा विपत्ति निम्त्यायो, जुन चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो।