मुलुकको प्रमुख औद्योगिक करिडोर वीरगन्ज–पथलैया क्षेत्रमा रहेका उद्योगले यतिवेला १४ घण्टासम्म विद्युत् कटौतीको मार खेपिरहेका छन् । यस औद्योगिक करिडोरमा फलाम, सिमेन्ट, जस्तापाता, कुखुराको दाना, खाद्यान्न, चकलेट, बिस्कुट, मदिरा, चुरोटलगायत साना–ठूला गरी हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् ।
कोभिड र त्यसले सिर्जना गरेको आर्थिक बन्दीपछि बिस्तारै तंग्रिन थालेको औद्योगिक क्षेत्र यतिवेला विद्युत् आपूर्ति कटौतीका कारण धान्नै नसक्ने समस्याबाट गुज्रन थालेको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित नेपाल सेरामिक इन्डस्ट्रिजका सञ्चालक शम्भुनाथ झाले बताए । ‘विद्युत् प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्दा हाम्रो उत्पादनको लागत बढेको छ र उद्योग पूर्ण रूपमा सञ्चालन गर्न नपाई बन्द गर्नुपर्ने स्थिति रहेको छ,’ उनले गुनासो गर्दै भने, ‘अहिले दैनिक १४ घण्टासम्म बिजुली आउँदैन । अघोषित लोडसेडिङ कति दिनसम्म चल्ने हो भन्नेबारे जानकारी पनि छैन ।’
नियमित बिजुलीको माग गर्दा प्राधिकरणका अधिकारीहरूले अहिले दिन नसकिने, बरु उद्योग बन्द गरेर राख्नु भन्ने जवाफ दिने गरेको उनले बताए । यस क्षेत्रका उद्योगले नियमित रूपले कम्तीमा बिहान पाँच घण्टा र बेलुका ६ घण्टा लोडसेडिङ खेपिरहेका छन् । लोडसेडिङकै कारण उद्योगहरूको घाटा दिन–प्रतिदिन घाटा बढिरहेको छ भने उत्पादन लागतसमेत थपिएको छ ।
औद्योगिक करिडोरमा रहेकामध्ये मध्यमस्तरको एउटा उद्योगले औसतमा नियमित विद्युत् आपूर्ति हुँदा मासिक ५० लाख रुपैयाँसम्मको बिजुली खपत गर्ने गरेका थिए । तर, जेनेरेटरको सहायताले उत्पादन गर्नुपर्दा मासिक एक करोड रुपैयाँसम्मको डिजेल खपत हुने गरेको उद्योगीको भनाइ छ । जेनेरेटरको सहायताले उद्योग चलाउँदा प्रतियुनिट ५० रुपैयाँभन्दा बढी लागत पर्न आउँछ । जबकि, विद्युत् प्रतियुनिट करिब १० रुपैयाँ छ । ‘यसरी प्रतियुनिट ४० रुपैयाँ महँगोमा वस्तु उत्पादन गर्दा लागत बढ्ने, तर लागत बढेअनुसार बजारमा उत्पादित वस्तुको मूल्य बढाउने अवस्था छैन,’ उद्योगी झाले भने । उनले अनियमित बिजुलीकै कारण अहिले डिजेलकै भरमा वस्तुहरू उत्पादन गरिरहनुपरेको बताए । ‘एकपटक प्लान्ट चलाएपछि बन्द गर्न मिल्दैन । उद्योग चल्दाचल्दै बीचमा बन्द गर्नु भनेको आधा खाना पकाउनुजस्तै हो,’ उनी भन्छन्, ‘भट्टीमा सामान बनिरहेको हुन्छ, बीचमा बन्द गर्दा त्यो सामान नै काम लाग्दैन ।’
विद्युत् आपूर्ति नियमित गरिदिन प्राधिकरणसँगै विभिन्न निकाय धाउँदासमेत सुनुवाइ नभएको जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए । ‘देशको प्रमुख औद्योगिक नगरीमा विद्युत् नियमित गरेर उद्योगधन्दा र कलकारखाना राम्ररी सञ्चालन हुने वातावरण बनाइदिन प्रधानमन्त्री, मन्त्रीलगायत सबै निकायमा जानकारी गराए पनि समाधान हुन सकेको छैन,’ उनले भने । उद्योग स्थापना गरेर नागरिकलाई रोजगार दिएको र सरकारी राजस्वमा उच्च योगदान गर्दै आएको क्षेत्रको समस्या समाधानका लागि सरकारी निकायहरू उदासीन भएको उनको आरोप छ । चलिरहेको उद्योगमा एक्कासि बिजुली बन्द हुँदा उत्पादन भइरहेको सामान पूर्ण रूपले खराब हुने घटना बारम्बार भोगिरहेको उनले दुखेसो गरे ।
‘बिजुली कति वेला जान्छ, त्यसको कुनै टुंगो छैन’ उनले भने । प्राधिकरणले जानकारी दिएर बिजुली कटौती गरिदिए सबै उद्योगलाई सोही कार्यतालिकाअनुसार उत्पादनमा लाग्न सजिलो हुने उनको भनाइ छ ।
दुई सय २० मेगावाट माग, एक सय २० मेगावाट मात्रै आपूर्ति
विद्युत् प्राधिकरणको सिमरा वितरण केन्द्रका अनुसार अहिले यस वितरण क्षेत्रमा करिब दुई सय २० मेगावाट बिजुलीको माग छ, तर करिब एक सय २० मेगावाट मात्रै बिजुली आपूर्ति भइरहेको छ ।
सिमरा वितरण केन्द्रका प्रमुख रमेश रूपाखेतीले औद्योगिक क्षेत्रमा सबैलाई जानकारी दिएर बिजुली कटौती भइरहेको बताए । उनका अनुसार बिहान ६ बजेदेखि नौ बजेसम्म र साँझ पाँच बजेदेखि ८–९ बजेसम्म बिजुली कटौती हुन्छ । उद्योगीलाई त्यसको जानकारी गराइएको उनले बताए ।
ढल्केबर–हेटौँडा चार सय केभीको प्रसारणलाइन निर्माणाधीन भएको कारण त्यहाँबाट मागअनुसारको विद्युत् आउन नसकेको तथा भारतको रक्सौलबाट एक सय ३२ केभीभन्दा बढी बिजुली आयात गर्ने क्षमता नभएका कारण औद्योगिक क्षेत्रमा केही समय विद्युत् कटौती हुने गरेको रूपाखेतीको भनाइ छ ।
‘उद्योगीहरूले भनेझैँ अघोषित वा घोषित कुनै रूपमा लोडसेडिङ गरिएको छैन । अहिले पिक समयमा विद्युत्को लोड अधिकतम प्रयोग भएका वेलामा केही समयभर मिलानका निम्ति विद्युत् कटौती भएको हो,’ उनले भने । प्राधिकरणले बिहान, साँझ र राति गरेर आठ घण्टा उद्योगलाई विद्युत् कटौती गर्ने गरेको जानकारी दिएको छ । ‘बिजुली अपुग भएपछि ठूलो उद्योगको पिक आवरको लोड काट्नुपरेको हो,’ रूपाखेतीले भने ।