१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रुसमा ज्यान गुमाएका १६ नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनले शनिबार पशुपति भष्मेश्वरघाटमा गरेको दीप प्रज्वलन । तस्बिर : संजित परियार/नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत १६ नेपालीको मृत्यु, तीनको मस्कोमा दाहसंस्कार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo

सरकारले रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका वेला परिवारजनले भने रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेका छन् । परिवारजनले १६ जना मृतकको सम्मानमा पशुपतिनाथ भष्मेश्वरघाटमा द्वीप प्रज्वलनसमेत गरेका छन् । 

सरकारले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु पुष्टि गरेको छ । रुसी कूटनीतिक च्यानलबाट यो विवरण प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परिवारजनको सूचनाअनुसार थप ६ जनाको मृत्यु पुष्टि भएपछि काजक्रिया नै भइसकेको छ । लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, धादिङका पूर्णबहादुर गुरुङ, बाँकेका सञ्जय केसी, दाङका जितबहादुर पुन र रसुवाका सुन्दर मोक्तानको पनि रुस युक्रेन युद्धमा ज्यान गएको परिवारजनले जनाएका छन् । 

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल भन्छन्
परिवारले सहमति दिएपछि रुसले सैनिक सम्मानसाथ तीनजनाको अन्तिम संस्कार गरेको जानकारी आएको छ । परिवारको सहमति लिएर बाँकी शवको पनि अन्तिम संस्कार गर्ने र अस्तु पठाउने भन्ने जानकारी पाएका छौँ ।

‘अहिलेसम्म १६ जना नेपालीका परिवारजनले आफन्तजनको काजक्रिया गरिसक्नुभएको छ । तर, थप नेपालीहरूको मृत्यु भएको आशंका छ, पुष्टि हुन बाँकी छ,’ पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले नयाँ पत्रिकासँग भनिन् । भण्डारीले नेपालमा पीडित परिवाजन र रुसमा कार्यरत नेपालीहरूसँग समन्वय गरिरहेकी छिन् । भण्डारीका कारण अभियानमा एक हजारभन्दा बढी परिवारका सदस्य जोडिएका छन् । 

‘सूचनाको मुख्य स्रोत परिवार भएका कारण परिवारसँग सम्पर्क गरी हाल सम्म पाँच सय ३१ जनाको विवरण संकलन गर्न हामी सफल भएका छौँ जसमध्ये मृत्यु भएका १६, घाइते एक सय १६ जना बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका दुई सय ६० जनाभन्दा माथि हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘परिवारको सम्पर्कमा रहेकासमेत गरी पाँच सय जनाभन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत रहेको देखिन्छ,’ परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा सार्वजनिक गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले समय नदिएका कारण पत्रकार सम्मेलनमार्फत ज्ञापनपत्र सार्वजनिक गरिएको उनीहरूले जनाएका छन् । 

भण्डारीले रुसी सेनामा भर्ती हुन पुगेका नेपालीहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गर्ने, सेना छोड्न चाहने नेपालीलाई पक्रिएर पुनः युद्धभूमिमा फर्काउने, घाइतेको राम्रो उपचार नहुने, आदेश मान्न अटेर गरेको अभियोगमा नेपालीहरूमाथि कुटपिटलगायतका दुव्र्यवहार भइरहेको सूचना आएको पनि जानकारी दिइन् । 

‘युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरूले अनाहकमा मृत्युवरण गर्नुपर्ने अवस्था, बाँचेकाहरू चाहेर पनि स्वदेश फर्कन नपाउने अवस्था, जबर्जस्ती युद्धमा होमिनुपर्ने बाध्यता, युद्धबन्दीको रूपमा नारकीय जीवन व्यतीत गर्न बाध्य नेपालीको अवस्था निकै नै दर्दनाक छ,’ परिवारजनका तर्फबाट सार्वजनिक सञ्चारमाध्यममार्फत प्रधानमनत्री प्रचण्डलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ ।

अभियानले बेपत्ताको खोजी गर्न विदेशमा रहेका सम्भावित सबै नेपाली संयन्त्र परिचालन गर्ने विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेको छ । 

तीनजनाको रुसमै अन्तिम संस्कार
रुसी सेनामा कार्यरत तीनजना नेपालीको रुसमै अन्तिम संस्कार भएको छ । परिवारको सहमतिमा रुसी सेनाले त्यहाँ मृत्यु भएका अन्य नेपाली नागरिकको पनि क्रमशः अन्तिम संस्कार गर्ने र नेपालमा अस्तु संकलन गरेर पठाउने जानकारी नेपाललाई दिएको छ । 

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार सन्दीप थपलिया, रूपक कार्की र देवान राईको अन्तिम संस्कार भएको छ । थपलिया गोरखाका हुन् भने कार्की कपिलवस्तुका र राई कास्कीका स्थायी बासिन्दा हुन् । ‘परिवारले सहमति दिएपछि रुसले सैनिक सम्मानका साथ तीनजनाको अन्तिम संस्कार गरेको जानकारी आएको छ,’ महानिर्देशक पौडेलले नयाँ पत्रिकासँग भने, ‘परिवारको सहमति लिएर बाँकी शवहरूको पनि अन्तिम संस्कार गर्ने र अस्तु पठाउने भन्ने जानकारी पाएका छौँ ।’ 

गत साता मस्कोमा राईको अन्तिम संस्कार भएको हो भने थपलिया र कार्कीको अन्तिम संस्कार दुई महिनाअघि नै भएको परराष्ट्रलाई जानकारी आएको छ । सलामीसहित उनीहरूको अन्तिम संस्कार भएको हो । रुसी सेनाले युद्धमा मारिएका सैनिकको शव पहिचान गर्न सकिएमा मात्रै अन्तिम संस्कार गरेर अस्तु पठाउने भनेको छ । कतिपय नेपाली सैनिकको शव युद्धक्षेत्रमा पहिचान गर्न सक्ने अवस्थामा नरहेको रुसस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । 

रुसबाट बाहिर शव पठाउने रुसी नियम नभएको र त्यो प्रक्रिया खर्चिलो हुने भएपछि परिवारबाट सहमति लिएर मृतकहरूको अन्तिम संस्कार गर्ने उपायमा नेपालले सहमति दिएको एक उच्च कूटनीतिक अधिकारीले जानकारी दिए । ‘कुनै ठाउँमा शवको कंकालका साथमा नेपाली पासपोर्ट भेटिएकाले नेपाली हो भन्ने पहिचान भएको छ, केही ठाउँमा रुसी सेनाको स्थानीय कमान्डरको सूचनाका आधारमा मृत्यु भएको जानकारी आएको छ । शवको अत्तोपत्तो पनि छैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । गत भदौपछि नेपाली रुसी सेनामा भर्ती भएका हुन् । 

त्यस्तै, रुसी सेनामा कार्यरत रहेर युद्धमा खटिने क्रममा चारजना युक्रेनी सेनाको हिरासतमा छन् । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनको रिहाइका लागि सरकारले युक्रेनसँग र अमेरिकी सरकारमार्फत पनि कूटनीतिक प्रयास जारी राखेको छ । 

यकिन भएको छैन क्षतिपूर्तिको रकम
रुसले मस्कोस्थित नेपाली राजदूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन तयार भएपछि परराष्ट्र मन्त्रालयले मृतकहरूको दस्तावेजीकरण गरेर रुस सरकारलाई जानकारी पठाउन लागेको छ । तर, रुसले के–कति रकम क्षतिपूर्तिबापत दिन्छ भन्ने यकिन भएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भर्ती गर्ने वेलामा हस्ताक्षरित करार सम्झौताका आधारमा क्षतिपूर्ति दिने रुसले वचनबद्धता जनाएको बताए । ‘करार सम्झौताका आधारमा क्षतिपूर्ति दिने भन्ने छ, यसमा नेपाल सरकार सकारात्मक छ भनेका छौँ,’ प्रवक्ता राईले नयाँ पत्रिकासँग भने । युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपाली सैनिकको परिवारलाई नेपालमै क्षतिपूर्ति उपलब्ध गराउन यही साता रुस सरकार तयार भएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशन्त्रीसँग युगान्डामा भेटवार्ता गरेपछि यसका लागि रुस लचिलो भएको थियो । 

प्रधानसेनापतिको आग्रह– रुसी सेनामा भर्ती हुन नजानू 
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरूलाई रुसी सेनामा भर्ती हुन नजान आग्रह गरेका छन् । शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको चौथो चरणको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘विदेशी सेनामा कुनै पनि हालतमा नजानुहोला । रुसमा के भइरहेको छ भन्ने कुरा हामीले बुझेका छौँ । त्यस्ता क्रियाकलापमा नलाग्न विशेष आग्रह गर्न चाहन्छु,’ उनले भने । युवाहरूलाई सकारात्मक सोच लिई आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गर्न उनले सल्लाह दिए । 

ad
ad