Skip This
जीर्ण छात्रावासमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका विद्यार्थी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १२ शनिबार १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जीर्ण छात्रावासमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १५:४६:oo

नेपाल संस्कृत विश्वविद्यालयमा आबद्धता रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको अन्नपूर्ण छात्रावासका छात्रहरू जीर्ण भवनमा बस्दै आएका छन्।

छत फुटेर त्यसबाट कणहरू जिउमै खस्ने गरे पनि वैकल्पिक भवन नहुँदा छात्रहरू सोही जीर्ण भवनमा बस्न बाध्य छन्। वर्षायाममा पानी चुहिने हुँदा कोठामा बाटा राखेर बस्नुपर्ने र छतबाट ढुंगा र बालुवाका टुक्राहरू जिउमै खस्ने गरेको छात्रहरूको गुनासो छ।

अत्यधिक क्षतिग्रस्त भएको भवनको एउटा कोठा बन्द नै गरिएको छ। अन्य कोठाहरूमा समेत राति सुत्दा ज्यान नै हत्केलामा राखेर सुत्नुपर्ने अवस्था रहेको शास्त्री दोस्रो वर्षका छात्र ज्ञानेश्वर दुबेले बताए। विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउँदा प्रयास गरिरहेको भन्ने जवाफ मात्रै पाउने गरेको उनी बताउँछन्। संस्कृतको धरोहर बचाएर राख्ने छात्रहरू नै आफ्नो ज्यान जोखिममा राख्न बाध्य भएको उनको दुःखेको छ।

विद्यापीठका स्वतन्त्र विद्यार्थी युनियनका सभापति सर्वेशकुमार झाले छात्रावासको अवस्था जर्जर रहेको बताउँदै यस्तै अवस्थामा बस्नुपरे कुनै दिन ठूलो क्षति व्यहोर्नुपर्ने बताए। विद्यापीठमा १६० छात्रछात्रा अध्ययनरत छन्। जसमध्ये १५ देखि २० छात्र सोही छात्रावासमा बस्दै आएको जानकारी दिँदै उनले सरोकारवाला निकाय तत्काल जीर्ण भवनको सन्दर्भमा गम्भीर हुनुपर्ने बताए। यहाँ हाल शास्त्री र आचार्यको पढाइ हुँदै आएको छ। २०७५ सालसम्म पूर्वउत्तरमध्यमाको समेत पढाइ हुन्थ्यो।

यता विद्यापीठका प्रशासक शशीकान्त झाले नयाँ भवन निर्माणको लागि विद्यापीठको तर्फबाट माथिल्लो निकायमा प्रयास गरेको बताए। पटक-पटक पत्राचार भएपछि नयाँ भवन बनाउन सबै प्रक्रिया पूरा भइसकेको र रकम निकासाको प्रतीक्षा रहेको उनको भनाइ छ। उनका अनुसार छात्रावास भवन बनाउन दुई करोड स्वीकृत भए पनि रकम भने हालसम्म प्राप्त भएको छैन। विद्यापीठको तर्फबाट गम्भीरतापूर्वक छात्रावासको दुरावस्थाबारे पटक-पटक माथिल्लो निकायमा जानकारी गराइएको उनको दाबी छ।