Skip This
प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o फाल्गुण १२ शनिबार १५:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १५:११:oo

गत साउनदेखि काठमाडौं महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। महानगरले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ।

केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएको भन्दै महानगरले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो।

महानगरले वि.सं २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ। ‘सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो। व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ,’ महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने। यस प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले अनुरोधलाई अटेर गरेर प्लास्टिकका फूलको प्रयोग गरेको भेटिए कारबाही गरिने बताए।

प्लास्टिकजन्य वस्तुका कारण सिर्जित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले जानकारी दिए। ‘सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन्। यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ वा फोहोरको पोको बनाएर बाहिर निकालिन्छ। यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले वातावरणमा नकारात्मक असर गर्दछ,’ पाण्डेले भने।

स्रोतबाटै फोहोर वर्गीकरण गरी कम्पोस्ट मल बनाइने
महानगरले स्राेतबाटै फोहोरको वर्गीकरण गरी कम्पोस्ट मल बनाउने कार्यको थालनी गरेको छ। ३२ वडा रहेको महानगरले वडा नं २७ बाट संकलन गरिएका करिब १४ हजार किलोग्राम जैविक फोहोर टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ गरेको यहाँको वातावरण विभागले जनाएको छ।

फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्न थालेपछि जम्मा भएका फोहोरलाई छुट्टै संकलन र व्यवस्थापन गरिँदै आइएको विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी वडा नं २७ बाट गरिएको हो। आगामी दिनमा सबै वडाबाट यस कार्यलाई निरन्तरता दिन तयारी भइरहेको महानगरले जनाएको छ।

वडा नं २७ को फोहोर वर्गीकरण गरेर गत माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको विभागका प्रमुख श्रेष्ठले बताए। उनले संकलन भएको फोहोरलाई पाइल गर्न थालिएको भन्दै अहिलेसम्ममा चारवटा पाइल तयार भइसकेको जानकारी दिए।