१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

राक्सिराङले कृषकलाई दियो उन्नत जातका बोयर बोका र जर्सी गाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:o५:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकाले किसानहरूका लागि १० वटा जर्सी गाई र ११ वटा उन्नत जातका बोयर बोका वितरण गरेको छ। व्यावसायिक पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले विभिन्न वडाका ११ कृषकलाई बोयर बोका र ३ नम्बर वडाका १० किसानलाई जर्सी गाई वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले व्यावसायिक रूपमा बाख्रापालन गरी आयआर्जन गरे स्थानीय सरकारले किसानलाई थप सहयोग उपलब्ध गराउने बताए। उनले वडा कार्यालयको मागअनुसार पालिकालाई कृषिमा निर्भर बनाउन किसानलाई मौरी, चिउरी, गाई र अन्य आवश्यक सहयोगका लागि पालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

‘पालिकामा बाख्रापालनको लागि राम्रो ठाउँ भएकाले बाख्रा पकेट क्षेत्र बनाउने तयारीमा हामी छौँ। त्यसका लागि आवश्यक पर्ने सुधारिएको खोर, उन्नत घाँसको बिउ आदि व्यवस्थामा पालिका तयार छ,’ उनले भने।

यस्तै, अध्यक्ष मल्लले दुधमा निर्भरता घटाउने उद्देश्यले पालिकाको वडा नम्बर ३ का १० किसानलाई १० वटा जर्सी गाई वितरण गरेको जानकारी दिए। उनले पालिकाको वडा नम्बर ३ लाई डेरीको हब बनाउने उद्देश्यले गाई वितरण गरेको बताए।

पालिकाका कार्यकारी प्रमुख देवचन्द्र गर्तौलाले पालिकाको ३ नम्बर वडा गाईवस्तु पालनका लागि उपयुक्त रहेकाले किसानलाई गाईपालनमा प्रेरित गर्ने उद्देश्य लिएको बताए। उनले उन्नत जातका गाईबाट नश्लसुधार गरी सबैलाई जीवन निर्वाह गराउने र बजार व्यवस्थापन दिगो बनाउने गरी काम गर्ने दाबी गरे।

किसानको मागलाई ध्यानमा राखी पालिकाको विभिन्न ठाउँलाई पकेट क्षेत्र बनाउँदै जाने योजना रहेको उनले बताए। उनले पालिकामा मौरी, चिउरी, गाई, बाख्रा, तरकारीलगायतको पकेट क्षेत्र बनाउन गाउँपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै घोषणा गरेको जानकारी दिए।

यसअघि गाउँपालिकाले तरकारी खेतीका लागि मिलिजुली कृषक समूहलाई आवश्यक विभिन्न सामग्री वितरण गरेको थियो। पालिकाले तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको ५ नम्बर वडाको मिलिजुली कृषक समूहलाई टनेल प्लास्टिक ११ थान, थोपा सिँचाइ १० सेट, ग्रिन नेट १० थान, मल्चिङ प्लास्टिक ५ थान, स्प्रे पम्प १० थान वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

ad
ad