Skip This
स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : उपकुलपति बराल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Saturday, 27 July, 2024
रासस काठमाडौं
२o८o फाल्गुण ११ शुक्रबार १८:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार १८:५२:oo

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्। त्रिविले ०७१/७२ देखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो। 

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए।

‘बाहिरको शिक्षा प्रणालीअनुकूल बनाउने जनाउँदै चारवर्षे गरियो, तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ,’ उनले भने।

अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्स सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।’ साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुन सक्ने बताए।

विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी संकायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको जानकारी दिए। यसको समाधानका लागि मानविकीलाई सबै संकाय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिबरल आर्ट)का रूपमा पुनर्संरचना गरिने जानकारी पनि उनले दिए। शिक्षा संकायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने उनले बताए। 

केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुपति बरालले यसको पुनर्संरचनाका लागि आफू तयार रहेको बताए। ‘त्रिविलाई अब विस्तार होइन पुनर्संरचनाको खाँचो छ,’ उनले भने।

उपकुपति प्राडा बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए। देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने उनले जानकारी दिए।