
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
हिन्दु युवा परिषद्का युवाहरूले सोमबार वीरगन्ज बजार बन्द गराएपछि मुस्लिम र हिन्दु युवाहरूबीचको विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
वीरगन्जको परवानीपुर चोकदेखि भन्सार चोक र महानगरको सीमा जोडिएको बारा जिल्लाको सीमासम्म कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
उनले वीरगन्ज एक्कासि तनावग्रस्त बनेकाले अर्को निर्णय नहुन्जेलसम्मका लागि कर्फ्यु जारी गरिएको बताए ।
केही दिनअगाडि रौतहटको ईशनाथ नगरपालिकाको घिउडा गाउँमा सरस्वतीको मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएपछि वीरगन्जमा पनि हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।
बजार बन्द गराउने क्रममा हिन्दु परिषद्का युवाहरूको जुलुसमा मुस्लिम समुदायका व्यक्तिबीच भनाभन हुँदा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
वीरगन्जको मुख्य चोकहरूमा हिन्दुवादी र मुस्लिमहरू भेला भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जानकारी दिए ।
हिन्दुवादीहरूले जुलुस निकाल्दा मुस्लिम समुदायका युवाहरूले हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको उनले बताए ।