१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ६ आइतबार ०८:१२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हिउँदमै परेन हिमाली क्षेत्रमा हिउँ

पर्याप्त हिमपात नहुँदा सिँचाइ अभावले अन्नबाली उब्जनी घट्ने किसानको चिन्ता

Read Time : > 1 मिनेट
२०८० फाल्गुण ६ आइतबार ०८:१२:००

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेल भन्छन्– पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था छ । स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेका छन्

यस वर्ष हिमाली क्षेत्रमा पर्याप्त मात्रामा हिमपात भएन । हिमपातले सेताम्मे देखिनुपर्ने खेतबारी र पाखा अहिले कालापत्थर बनेका छन् । यतिवेला यहाँ हिउँले रुझेर धुलो र माटो हिलाम्मे हुनुपर्ने हो । ‘तर, यस वर्ष सिजनमै हिउँ परेन,’ चामेकी विष्णुमाया गुरुङले भनिन्, ‘पहिले–पहिले हिमपात समयमै हुन्थ्यो खेतीपाती राम्रो हुन्थ्यो अहिले हिमपात कम भएसँगै अन्नबाली उत्पादनमा समेत कमी आएको छ ।’

उनी भन्छिन् जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा परेको छ । हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात हुने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था छ । स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेल बताउँछन् । उनका अनुसार समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जंगली फूलमा समेत त्यसको प्रभाव देखिएको छ ।

सबैभन्दा बढी स्याउ उत्पादनमा असर
हिमाली क्षेत्रको मुख्य सिँचाइ भनेकै हिमपात हो । तर, पर्याप्त हिमपात नहुँदा सिँचाइ अभाव र ढिला हिमपात हुँदा अन्नबाली उब्जनी घट्ने स्थिति रहेको स्थानीय कृषक कलबहादुर गुरुङ बताउँछन् । ‘यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ ।’ उनले भने, ‘समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ । स्याउ फुल्ने भनेको फागुन–चैतमा हो । माघमा केही दिन हिमपात भएको थियो ।’

आधा दर्जन हिमाल कालापत्थरमा परिणत
मनाङको गंगापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रम समेत बढ्न थालेको छ । मनाङका हिमनदी पग्लने क्रम बढेको छ । वर्षौँदेखि मनाङवासीले जलवायुको परिवर्तनको असर प्रत्यक्ष रूपमा भोग्दै आएका छन् । मनाङमा अघिल्लो वर्ष असोज तेस्रो सातामै हिमपात भएको थियो । हुन त असोजमा हिमपात बिरलै हुने गर्छ । प्रायः मंसिर अन्तिम सातादेखि मात्र हिमपात सुरु हुन्छ । विश्वकै चर्चित अन्नपूर्ण राउन्ड पदयात्रा मार्गमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश बनेका छन् ।