Skip This
रातोपुलस्थित घरमा महिना दिनदेखि ११ भारतीय नागरिक बन्धक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ३ बिहीबार १७:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रातोपुलस्थित घरमा महिना दिनदेखि ११ भारतीय नागरिक बन्धक

अमेरिका लैजाने प्रलोभनमा भारतीय तस्करले नै ल्याएका थिए काठमाडौं

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १७:३५:oo

अमेरिका लैजाने प्रलोभनमा महिना दिनदेखि बन्धक रहेका ११ भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरीपरिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनीहरूलाई बुधबार दिउँसो उद्धार गरेको हो।

प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका–९ रुद्रनगरस्थित मारबाडीको घरमा महिना दिनदेखि बन्धक बनाइएको थियो। बन्धक बनाउनकै लागि तस्करले सिंगै घर भाडामा लिएका थिए। उनीहरूलाई नेपालबाट दुबई हुँदै अमेरिका लैजाने भनेर तस्करले काठमाडौंं ल्याएका थिए। उनीहरू जहाजमार्फत काठमाडौं आएका थिए।

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले रातोपुलस्थित घरबाट बन्धक बनाइएका ११ भारतीय नागरिकलाई उद्धार गरिएको बताए। उनले भने, ‘रातोपुलस्थित घरबाट बन्धक बनाइएका ११ जनालाई उद्धार गरिएको छ। उनीहरु सबै भारतीय नागरिक हुन्। जहाजमार्फत उनीहरूलाई काठमाडौं ल्याइएको थियो। त्यसपछि उनीहरूलाई घरमा लगि बन्धक बनाइएको थियो।’

प्रहरीका अनुसार तस्करीमा संलग्न सबै अभियुक्त भारतीय नागरिक रहेका छन्। उनीहरूले भारतको विभिन्न ठाउँबाट अमेरिका लैजाने प्रलोभनमा भारतीय नागरिकसँग सम्पर्क गरेका थिए। आकर्षक रोजगारीसहित ग्रिन कार्डसमेत दिलाई दिने आश्वासनपछि उनीहरू तस्करको पछि लागेर काठमाडौं आएका थिए। यस क्रममा उनीहरूले केही रकम भारतमै बुझाइसकेका छन्। केही रकम भने नेपाल आएर बुझाएका छन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तस्करले बन्धक बनाएका पीडितलाई दबाब दिएर परिवारका सदस्यसँग अमेरिका पुगेका भन्दै फोन गर्न लगाउने र रकम माग गर्देै आएका थिए। उनले भने, ‘तस्करले भारतीय नागरिकलाई यहाँ ल्याएछन्। उनीहरूलाई अनेक दबाब दिने रहेछन्। अमेरिका पुगेको भन्दै परिवारका सदस्यलाई फोन गर्न लगाउने रहेछन्। र, परिवारका सदस्यबाट रकम असुल्ने रहेछन्।’

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये सात अभियुक्तलाई पक्राउ गरिएको छ। उनीहरूले संगठित तवरले भारतीय नागरिकलाई काठमाडौं ल्याएर अमेरिका लैजान खोजेका थिए। यसबाट उनीहरूले प्रतिव्यक्ति ४० देखि ४५ लाख भारतीय रुपैयाँसम्म असुलेको प्रहरीको भनाइ छ। बन्धक बनाइएका भारतीय नागरिकलाई उनीहरूले खानाको प्रबन्ध घरभित्रै गराएका थिए। उनीहरूलाई घरबाहिर निस्कन बन्देज लगाइएको थियो। आफूखुसी टेलिफोन गर्न र सामाजिक सञ्जाल चलाउनसमेत प्रतिबन्ध लगाइएको थियो।

अनुसन्धानमा संलग्न अधिकृतले भने, ‘उनीहरूलाई महिना दिनदेखि घरमा बन्धक बनाइएको थियो। उनीहरूलाई खानाको प्रबन्ध घरभित्रै गरिएको थियो। बाहिर निस्कन बन्देज थियो। आफूखुसी टेलिफोन गर्न, सामाजिक सञ्जाल चलाउन पनि उनीहरूलाई रोक लगाइएको थियो।’

अमेरिका जाने आशामा महिना दिनदेखि उनीहरूले तस्करको यातना सहँदै आएका थिए। तर, अमेरिका जाने सपना अनिश्चित देखेपछि उनीहरूले भारतस्थित परिवारका सदस्यसँग पीडा सुनाएका थिए। परिवारका सदस्यले नेपालस्थित भारतीय दूतावासमा उद्धारका लागि अनुरोध गरेका थिए। त्यसलगत्तै, दूतावासले उद्धार गर्न नेपाल प्रहरीलाई भनेको थियो।