१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
अमेरिकाबाट फिर्ता गरिएको पाटन ओमबहालको उमामहेश्वरको मूर्ति, भक्तपुरकोहनुमानघाटस्थित दुर्गाको मूर्ति र दोलखाको भीमेश्वर नगरपालिका– २ स्थित गुरकोटको तामाबाट निर्मित भैरवका दुई मखुन्डा । तस्बिर सौजन्य : न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:२६:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालबाट चोरिएका ९६ ऐतिहासिक मूर्ति तथा वस्तु विदेशका म्युजियममा

पर्याप्त कूटनीतिक पहल र आर्थिक अभावले फिर्ता ल्याउन कठिन

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२६:oo

सन् १९५० देखि १९९० सम्ममा नेपालबाट सबैभन्दा बढी मूर्ति तथा ऐतिहासिक वस्तु चोरी–तस्करी गरी पुर्‍याइएको थियो विदेश

पुरातत्व विभागका अनुसार विभिन्न कालखण्डमा गरी ९६ वटा मूर्ति र ऐतिहासिक वस्तु विभिन्न देशका संग्रहालयमा भेटिएका छन् । तर, पर्याप्त कूटनीतिक पहल र आर्थिक अभावका कारण ती ऐतिहासिक वस्तु नेपाल ल्याउन कठिन भएको छ । ती ऐतिहासिक मूर्ति तथा कलात्मक वस्तुहरू नेपालबाट चोरी तथा तस्करीका माध्यमबाट विभिन्न समयमा विदेशका संग्रहालयमा पुगेका हुन् । 

विभागले जहाँजहाँ मूर्ति तथा कलात्मक सामग्री पुगेका छन्, ती निकाय पत्ता लगाए पनि फिर्ता गर्न भने सहज भएको छैन । विभागले पुरातात्विक वस्तु पुगेको प्रमाणित गरेर ती वस्तुहरू नेपाल ल्याउन ताकेता गर्दै आइरहेको छ । तर, नेपालबाट चोरी र तस्करी भएर पुगेका मूर्ति राखिरहेको निकायले फिर्ता दिनेबारे बेवास्ता गरेको विभागको भनाइ छ । 

धेरै प्रयास गर्दा पनि फिर्ता ल्याउन कठिन भएको छ : सरिता सुवेदी पुरातत्व अधिकृत, पुरातत्व विभाग 
नेपालबाट चोरी तथा तस्करी भएर विदेश पुगेका मूर्ति तथा ऐतिहासिक वस्तुहरू फिर्ता ल्याउन निकै गाह्रो छ । हामीले बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि मूर्ति तथा ऐतिहासिक चिजवस्तु फिर्ता भएनन् । तर, ती वस्तु फिर्ता ल्याउन कूटनीतिक तथा अन्य पहल पनि गर्दै आइरहेका छौँ । यद्यपि, लामो कूटनीतिक पहलबाट भने कतिपय वस्तु फिर्ता ल्याउन सम्भव भएको छ ।

विभागका पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार मूर्ति तथा ऐतिहासिक वस्तुहरू पुगेको ठाउँमा विभिन्न माध्यमबाट ताकेता गर्दा पनि फिर्ता ल्याउन सकिएको छैन । यद्यपि, लामो कूटनीतिक पहलबाट भने कतिपय वस्तुहरू फिर्ता ल्याउन सम्भव भएको छ । उनका अनुसार कतिपय देशले सहजै मूर्ति तथा ऐतिहासिक वस्तु फिर्ता गर्छन् भने कतिले बारम्बार पहल गर्दा पनि फिर्ता नै गर्दैनन् । ‘नेपालबाट चोरी तथा तस्करी भएर विदेश पुगेका मूर्ति तथा ऐतिहासिक वस्तुहरू फिर्ता ल्याउन निकै गाह्रो छ । हामीले बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि मूर्ति तथा ऐतिहासिक चिजवस्तु फिर्ता भएनन्,’ उनले भनिन्, ‘तर पनि ती वस्तु फिर्ता ल्याउन कूटनीतिक तथा अन्य पहल पनि गर्दै आइरहेका छौँ ।’

विभागका अनुसार हाल बेलायतमा २४ थान मूर्ति तथा ऐतिहासिक वस्तु पुगेका छन् । यी वस्तुहरू चोरी तथा तस्करीबाट पुगेका हुन् । फ्रान्समा १६ थान, अमेरिकामा ६ थान, सिंगापुरमा एक थान, स्विडेनमा ३१ थान, अस्ट्रेलियामा दुई थान, चीनमा एक थान र स्विट्जरल्यान्डमा १५ थान गरी ९६ वटा ऐतिहासिक वस्तु फिर्ता गर्न सकिएको छैन । यी वस्तु हराएको प्रमाणित गरी विभागले त्यसको फाइल पनि सम्बन्धित देशको राजदूतावासमा पठाइसकेको छ । 

विभागको अनुसन्धानअनुसार नेपालबाट सबैभन्दा बढी मूर्ति तथा ऐतिहासिक वस्तु चोरी तथा तस्करी १९५० देखि १९९० को दशकमा भएको पाइन्छ । हाल नेपाल फिर्ता ल्याउन खोजिएका ऐतिहासिक वस्तुहरूमा पनि त्यही समय– कालखण्डमा विदेश पुगेका थिए । तर, कसले कसरी त्यहाँ पुर्‍यायो भन्नेबारे विभाग पनि अनभिज्ञ छ । विदेशका म्युजियम घुमेका नेपाली, सम्पदा क्षेत्रका स्थानीयवासी, सम्पदाप्रेमी, सम्पदाविद्लगायतले विभागलाई मूर्ति तथा ऐतिहासिक वस्तु हराएको वा चोरी भएको जानकारी दिने गरेका छन् । 

हाल विदेशका विभिन्न स्थानमा पुगेका मूर्ति तथा ऐतिहासिक वस्तुमध्ये सबैभन्दा महत्वपूर्ण हनुमानढोकास्थित तलेजु मन्दिरको कण्ठेहार हो । यो ऐतिहासिक वस्तु हाल अमेरिकाको आर्ट इन्स्टिच्युट अफ सिकागोमा छ । यो कण्ठेहार कुन समयमा त्यहाँ पुग्यो भन्नेमा पुरातत्व विभाग अनभिज्ञ छ । तर, हराएर त्यस स्थानमा पुगेको छ भन्ने थाहा पाएपछि पछिल्लो तीन/चार वर्षयता विभागले कण्ठेहार फिर्ता ल्याउन कूटनीतिक पहल गर्दै आइरहेको छ । यो कण्ठेहार प्रताप मल्लले भवानी देवीलाई गलामा लगाइदिएको इतिहास छ । यो कण्ठेहार विभागले पटक–पटक हारगुहार गर्दा पनि फिर्ता ल्याउन सकेको छैन । 

त्यस्तै, अमेरिकाकै झन्डु ग्यालरीमै रहेको अर्को ऐतिहासिक वस्तु हो–कीर्तिपुरस्थित कालभैरव मन्दिरमा रहेको गणेशको मूर्ति । यो मूर्ति कयौँ प्रयास गर्दा पनि फिर्ता ल्याउन सकिएको छैन । अमेरिकाकै क्रिस्ट्रिज अक्सन हाउसमा ऐतिहासिक बुद्धको मूर्ति पनि पुगेको छ । त्यहाँ महिसासुर र शिवजीको वानको मूर्ति पनि पुगेको विभागले जनाएको छ । नृत्यदेवीको काठको मूर्ति पनि अमेरिकाको मेट्रोपोलियन म्युजियममा पुगेको छ । यी ऐतिहासिक वस्तु फिर्ता पठाउन विभागले ताकेता गरिरहेको छ । 

डोल्पाको शाक्यमुनि बुद्धको मूर्ति चीनमा छ । यसको पनि प्रमाणीकरण गरेर विभागले फिर्ता ल्याउने प्रयास गरिरहेको छ । त्यस्तै, फर्पिङमा रहेको अगरेश्वर (निलबाराही)को मूर्ति सिंगापुरमा छ । यो मूर्ति रहेको म्युजियम विभागले पत्ता लगाइसकेको छ । चोरी भएर नै चतुर्महाराज र वासुदेव कमलजा (लक्ष्मीनारायण)कोे मूर्ति अस्ट्रेलिया पुर्‍याइएको थियो । यी मूर्तिको प्रमाण फेला पारी फिर्ता ल्याउने प्रयास विभागले गरिरहेको छ । नेपालबाट चोरी भएर बेलायत पुगेको अर्को मूर्ति हो, उमामहेश्वरको मूर्ति । यो मूर्ति थपहिटी पाटनबाट हराएर बेलायतको ब्रिटिस म्युजियममा पुगेको छ । 

त्यस्तै, नेपालबाट चोरी तथा तस्करी गरेर मूर्ति तथा ऐतिहासिक वस्तु फ्रान्समा समेत पुगेका छन् । फ्रान्सको बोन्हाम्स अक्सन म्युजियममा सबैभन्दा बढी ऐतिहासिक वस्तु पुगेका छन् । यहाँ पाटनस्थित तलेजु मन्दिरको पाँच थान तोरण पुगेको छ । यो कुन समयमा कस्ले लग्यो भन्ने अत्तोपत्तो विभागलाई छैन । मूर्ति हराएको क्षेत्रका स्थानीयवासी, अनुसन्धान तथा त्यहाँको म्युजियममा अवलोकन गर्ने व्यक्तिहरूको माध्यमबाट विभागले यसको खोजीकार्य थालेको थियो । पूर्वप्रधानमन्त्री केपी ओली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बोन्हाम्समै पुगेर तोरण फिर्ता गर्न अनुरोध गरे पनि फिर्ता हुन सकेको छैन ।

त्यस्तै, बोन्हाम्समै दुई थान काठका टुँडाल पनि पुगेका छन् । काठमाडौं असननजिकै रहेको छुस्यावःहाल विहारको चार कुनाका झल्लरहरू पनि बोन्हाम्समा पुगेका छन् । वप्तपुर महाविहार पाटनबाट चोरी भएको दिपंकर गुप्तको एक थान शिर पनि त्यहीँ छ, भने विष्णुको गरुडासन मूति र भैरवको मूर्ति पनि बोन्हाम्समै रहेको विभागले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा अवस्थित उमामहेश्वरको मूर्तिसहित १४ थान ऐतिहासिक वस्तु स्विट्जरल्यान्ड पुगेको पाइएको छ । ती ऐतिहासिक वस्तुहरूको प्रमाणीकरण गरी विभागले फिर्ता ल्याउन कूटनीतिक पहल गर्दै आइरहेको छ । 

३८ वर्षमा फिर्ता भए एक सय ४५ थान मूर्ति तथा कलात्मक वस्तु 
विभागका अनुसार सन् १९८६ देखि नेपालबाट हराएका पुरातात्विक तथा कलात्मक वस्तु विदेशबाट फर्काउने प्रक्रिया सुरु भएको थियो । हालसम्म बेलायत, अस्ट्रेेलिया, अमेरिका, चीन, भारत, जर्मनी, इटलीलगायत मुलुकबाट एक सय ४५ थान मूर्ति तथा कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ । यसमध्ये अमेरिकाबाट मात्रै ७२ वटा मूर्ति तथा कलात्मक वस्तु फिर्ता भएका छन् । त्यस्तै, विभागले गत १७ माघमा पत्रकार सम्मेलन गर्दै अमेरिकाबाट चारवटा मूर्ति फिर्ता ल्याइएको जानकारी दिएको थियो । 

राष्ट्रिय अभिलेखालयलाई आर्थिक अभाव 
पुरातत्व विभागसँगै रहेको राष्ट्रिय अभिलेखालयमा राखिएका ऐतिहासिक कागजात अव्यवस्थित छन् । साँघुरो ठाउँमा ऐतिहासिक कागजात कोचेर तथा पोको पारेर राखिएको छ । व्यवस्थित गर्न तथा महत्वपूर्ण कागजात राखिएको ठाउँमा एसी जडान गर्नसमेत अभिलेखालयलाई आर्थिक अभाव हुने गरेको छ । यसबाहेक अभिलेखालयसँग सम्बन्धित सामग्री प्रकाशनका लागि पनि बजेट अभाव भइरहेको अभिलेखालयले जनाएको छ । यस आर्थिक वर्षमा केन्द्र सरकारले अभिलेखालयलाई दुई करोड बजेट दिएको थियो । तर, यो बजेटले व्यवस्थापन खर्च नधान्ने आर्थिक प्रशासन महाशाखाले जनाएको छ । 

महत्वपूर्ण काजजात सुरक्षित राख्न खोज्दैनन् सरकारी कार्यालय 
अभिलेख संरक्षण ऐन २०४६ मा कुनै पनि सरकारी निकायले हरेक २५ वर्षको अन्तरमा सरकारी कागजात अभिलेखालयलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । त्यसअनुसार ती सरकारी कागजात सम्हालेर राख्ने जिम्मा अभिलेखालयको हो । तर, सरकारी निकायले अभिलेखालयलाई कागजात उपलब्ध गराएका छैनन् । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत कुनै पनि सरकारी उच्च निकायले अभिलेखालयलाई कागजात पठाएका छैनन् । त्यस्तै, मन्त्रिपरिषद्ले पनि कुनै पनि कागजात यहाँ पठाएको छैन । विभागले पनि सरकारी निकायबाट कागजात आएनन् भनेर ताकेता गरेको छैन । 

कहाँ कति मूर्ति तथा ऐतिहासिक वस्तु ?
- हाल विदेशका विभिन्न स्थानमा पुगेका मूर्ति तथा ऐतिहासिक वस्तुमध्ये सबैभन्दा महत्वपूर्ण हनुमानढोकास्थित तलेजु मन्दिरको कण्ठेहार हो । यो ऐतिहासिक वस्तु हाल अमेरिकाको आर्ट इन्स्टिच्युट अफ सिकागोमा छ । अमेरिकाकै झन्डु ग्यालरीमै रहेको अर्को ऐतिहासिक वस्तु हो– कीर्तिपुरस्थित कालभैरव मन्दिरमा रहेको गणेशको मूर्ति । अमेरिकाकै क्रिस्ट्रिज अक्सन हाउसमा ऐतिहासिक बुद्धको मूर्ति पनि पुगेको छ । त्यहाँ महिसासुर र शिवजीको वानको मूर्ति पनि पुगेको छ । नृत्यदेवीको काठको मूर्ति पनि अमेरिकाको मेट्रोपोलियन म्युजियममा छ । 

- फ्रान्सको बोन्हाम्स अक्सन म्युजियममा सबैभन्दा बढी ऐतिहासिक वस्तु पुगेका छन् । यहाँ पाटनस्थित तलेजु मन्दिरको पाँच थान तोरण पुगेको छ । बोन्हाम्समै दुई थान काठका टुँडाल पनि पुगेका छन् । काठमाडौं असननजिकै रहेको छुस्यावःहाल विहारको चार कुनाका झल्लरहरू पनि बोन्हाम्समा पुगेका छन् । वप्तपुर महाविहार पाटनबाट चोरी भएको दीपंकर गुप्तको एक थान शिर पनि त्यहीँ छ, भने विष्णुको गरुडासन मूर्ति र भैरवको मूर्ति पनि बोन्हाम्समै छ । 

- डोल्पाको शाक्यमुनि बुद्धको मूर्ति चीनमा छ । फर्पिङको अगरेश्वर (नीलबाराही)को मूर्ति सिंगापुरमा छ । चोरी भएर नै चतुर्महाराज र वासुदेव कमलजा (लक्ष्मीनारायण)कोे मूर्ति अस्ट्रेलिया पुर्‍याइएकोे छ । 

- नेपालबाट चोरी भएर पाटनको थपहिटीबाट चोरी भएको उमामहेश्वरको मूर्ति बेलायतको ब्रिटिस म्युजियममा पुगेको छ । 

- भक्तपुर दरबार क्षेत्रमा अवस्थित उमामहेश्वरको मूर्तिसहित १४ थान ऐतिहासिक वस्तु स्विट्जरल्यान्ड पुगेका छन् । 

ad
ad