मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २ बुधबार
  • Monday, 16 December, 2024
रड थर्नटन
२o८o फाल्गुण २ बुधबार ११:१९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुटिनका आगामी चुनौती

Read Time : > 2 मिनेट
रड थर्नटन
नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार ११:१९:oo

आगामी मार्चमा रुसमा राष्ट्रपतीय निर्वाचन हुँदै छ । मौजुदा राष्ट्रपति भ्लादिमिर पुटिनले चुनाव जित्ने लगभग निश्चित छ । पुटिन सन् २००० देखि रुसी सत्तामा विराजमान छन् । पुटिनले फेरि चुनाव जिते भने अबको ६ वर्षका लागि पनि उनी सत्तामै रहिरहनेछन्, अर्थात् उनी कुल ३० वर्षसम्म सत्तामा रहनेछन् । रुसमा ३० वर्षभन्दा लामो अवधिसम्म सन् १७२१ मा निधत भएका जार पिटर द ग्रेटपछि कसैले पनि शासन गरेका थिएनन् । अर्थात्, पुटिनले रुसमा अन्य रुसी वा सोभियत नेताभन्दा बढी शासन गर्नेछन् ।

मार्चमा हुने चुनावमा विपक्षी नेता स्पष्ट रूपमा प्रतिस्पर्धामा छैनन् । केही देखावटी उम्मेदवार जो पुटिनकै बफादार हुन्, तिनले चुनाव लड्ने घोषणा गरेका छन् । देखावटी उम्मेदवारमा कम्युनिस्ट पार्टीका नेता निकोलाई खारितोनोभले थोरबहुत मत ल्याउलान् । यसअघिको सन् २०१८ को चुनावमा कम्युनिस्ट पार्टीका उम्मेदवारले १२ प्रतिशत मत ल्याएर दोस्रो भएका थिए, त्यसवेला पुटिनले ७७ प्रतिशत मत ल्याएका थिए । 

विपक्षी उम्मेदवारको अवस्था : पुटिन वा युक्रेन युद्धविरुद्ध उभिने सम्भावित उम्मेदवारलाई विभिन्न शंकास्पद औपचारिक कारण देखाई चुनावमा प्रतिस्पर्धा गर्नबाटै वञ्चित गरिएको छ । यसरी वञ्चित गरिएका उम्मेदवारमा शान्ति अभियन्ता येकातेरिना दुन्तसोभा पनि परेकी छिन् । वास्तवमा अहिलेको रुसमा पुटिनविरुद्ध उभिनु नै बहादुरीको काम हो । यसअघि पुटिनविरुद्ध उभिने वा उनको अख्तियारीमाथि प्रश्न गर्ने अग्रणी विपक्षीलाई क्रूर व्यवहार गरिएको छ । उदारवादी नेता बोरिस नेम्त्सोभको सन् २०१५ मा क्रेमलिनबाहिर हत्या गरिएको छ । नेम्त्सोभको हत्यापछाडि पुटिनको हात रहेको शंका गरिन्छ । पुटिनका दुई अग्रणी आलोचक एलेक्सी नाभाल्नी र मिखाइल खोदोर्कोभ्स्कीलाई साइबेरिया जेलमा जाकिएको थियो । नाभाल्नी अझै पनि जेलमै यातना व्यहोरिरहेका छन् भने खोदोर्कोभ्स्की अहिले लन्डनमा निर्वासित जीवन बिताइरहेका छन् ।  

सर्वसाधारण रुसीका लागि अबका दिन अप्ठ्यारा हुनेछन् र त्यसको जिम्मेवारी पुटिनको काँधमा जानेछ

 चुनाव धाँधलीयुक्त भए पनि चुनावमा ठुलो मत ल्याएर वा जनताको म्यान्डेट बोकेको देखाउन पुटिन चुनावलाई स्वतन्त्र र निष्पक्ष देखाउन चाहन्छन् । रुसी राजनेताका रूपमा आफ्नो पहिचान स्थापित गर्न पुटिन चुनाव ‘निष्कलंक’ भएको देखाउन चाहन्छन् । उनी आफूलाई सत्तालोलुप तानाशाहका रूपमा प्रस्तुत गर्न चाहँदैनन् । छाँटकाँट हेर्दा रुसी जनताको स्पष्ट बहुमतबाट पुटिन राष्ट्रपतिमा पुनःनिर्वाचित हुन सक्छन् । पुटिनलाई रुसमा लोकप्रिय मत उपलब्ध छ । हालैको एक सर्वेक्षणअनुसार ८० प्रतिशत रुसी जनता पुटिनलाई समर्थन गर्छन् ।       

पुटिनले पाएको समर्थन त्यसै आएको भने होइन, रुसी राज्य समर्थित मिडियाले पुटिनलाई समर्थन गर्दै आएको छ र उनलाई अत्यधिक सकारात्मक रूपमा प्रस्तुत गर्दै आएको छ । पछिल्ला केही वर्षयता विशेषतः सन् २०२२ को युक्रेन युद्धपछि पुटिनको आलोचना गर्ने वा राज्यको नीतिको आलोचना गर्ने मिडियालाई गम्भीर रूपमा क्षति पु¥याइएको छ वा देश छोड्न बाध्य बनाइएको छ । रुसी मिडिया अहिले पूर्ण रूपमा पुटिनको कब्जामा छ ।

यदि पुटिन आफ्नै प्रभुत्वशाली वर्गबाट हुन सक्ने सम्भावित चुनौती पन्छाउन चाहन्छन् भने उनलाई भारी विजयको आवश्यकता छ । सत्तामा आएयता उनले शक्तिशाली सञ्जाल बनाएका छन्, अर्थात् वरिष्ठ राजनीतिक व्यक्ति, धनाढ्य र सैन्य अगुवालाई ‘शक्तिशाली मन्त्रालय’को जिम्मेवारी सुम्पेका छन् । यी सम्भ्रान्तको शक्ति र धन पुटिनको सत्तामा निर्भर छ । यद्यपि पुटिन चुनावी रूपमा कमजोर हुन्छन् भने प्रभुत्वशाली वर्गको शक्ति सञ्जालबाट आउने अर्को दबंगाइ नेताले पुटिनलाई उछिन्न सक्छन् । यो वर्गको स्वार्थ पूर्ति भएर मुलुकमा स्थिरता निम्तिन्छ भने यो वार्गले पुटिनलाई अपदस्थ गराउन पनि सक्छ ।    

पुटिनको भविष्य :  प्रभुत्वशाली वर्गका सम्भ्रान्त बेलारुसमा सन् २०२० मा भएको राष्ट्रपतीय चुनावको जस्तो अवस्था आएको देख्न चाहन्नन् । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को झन्डै–झन्डै अपदस्थ भएका थिए । चुनाव ‘धाँधलीयुक्त’ भयो भनेर ठूला सडक प्रदर्शन भएका थिए । सन् २०११ मा पुटिनलाई लुकासेन्कोलाई जस्तै झट्का लागेको थियो । सन् २०११ मा रुसमा सन् २०२०को बेलारुसको जस्तो अवस्था आएको थियो । मस्को र सेन्ट पिटर्सबर्गका सडकमा हजारौँ प्रदर्शनकारीले धाँधलीयुक्त चुनावको विरोध गरेका थिए । विरोध देखेर पुटिन स्तब्ध भएका थिए । राज्यको स्थिरता गम्भीर खतरामा थियो । पुटिन फेरि सन् २०११को परिघटना दोहोरिन दिन चाहन्नन् । यसकारण पनि पुटिनलाई अब आउने राष्ट्रपतीय निर्वाचनलाई तथाकथित रूपमा ‘स्वतन्त्र’ र स्वच्छ देखाउनुपर्ने बाध्यता छ । 

अहिले पुटिनले रुसमा ठूलो लोकप्रियता हासिल गरेका छन् (लोकप्रियताको ठूलो श्रेय पुटिनपरस्त मिडियालाई जान्छ), तर यो लोकप्रियता सदैव कायम रहिनरहन सक्छ । युक्रेन युद्ध रोकिने छाँटकाँट देखिँदैन, युद्ध अझै लम्बिनेछ । यस अवस्थामा रुसी रगत बगिरहनेछ र पैसा पनि खोलोझैँ बगिरहनेछ । सटिक रूपमा भन्ने हो भने धेरैभन्दा धेरै रुसी पुरुष युद्धका लागि तयार हुनुपर्नेछ । यस अर्थमा नयाँ एवं अत्यन्तै अलोकप्रिय सरकारविरोधी लहर अवश्यम्भावी छ ।  

व्यापक युद्धले सामाजिक सुरक्षामा आवश्यक खर्चलाई भारी मात्रामा कटौती गर्नेछ । नतिजा कर बढ्नेछ र मुद्रास्फीति पनि बढ्नेछ । त्यसमाथि मस्कोमाथि लगाइएको तमाम नाकाबन्दीले रुसको अर्थतन्त्रलाई कमजोर बनाउने निश्चित छ । सर्वसाधारण रुसीका लागि अबका दिन अप्ठ्यारा हुनेछन् र त्यसको जिम्मेवारी पनि पुटिनकै काँधमा जानेछ । पुटिनले मार्चमा हुने चुनाव जित्न सक्छन्, तर कति समयसम्म सत्तामा टिकिरहनसक्छन् भन्ने प्रश्नको उत्तर भने अनिश्चित छ ।  
(थर्नटन किंग्स कलेज लन्डनका अन्तर्राष्ट्रिय अध्ययनका सह–प्राध्यापक हुन्) द कन्भर्सेसनबाट