मध्यपहाडी जिल्लालाई तराई र भारतीय सीमासम्म जोड्ने खलंगा, कालिमाटी–चम्परगौरी सडकले यो वर्षदेखि तीव्रता पाउने भएको छ । सल्यान सदरमुकाम खलंगाबाट बाँकेको कोहलपुर हुँदै भारतीय सीमा जमुनाहसम्म जोड्न तीन दशकअघिदेखि निर्माण कार्य थालिएको थियो ।
‘तीन दशकसम्म पनि आधा सडक निर्माण हुन सकेको छैन, अब सडक बन्ने आशा जागेको छ,’ कालिमाटी सल्यानका नेता टेकबहादुर ओलीले भने । भौतिक पूर्वाधा तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारसँग पनि समन्वय गरेर करिब ५० करोडको टेन्डर आह्वान भएको छ । सल्यान झिगाने बालुवातर्फ ४० करोडको टेन्डर आह्वान भएको छ भने बाँकेको चप्परगौरीबाट करिब १० करोडबराबरको टेन्डर आह्वान गरिएको मन्त्री ज्वालाले बताए ।
‘यो सडक सल्यान, रुकुमजस्ता पहाडी जिल्लाका लागि लाइफलाइन हो, तर रकम अभाव र निकुञ्जका कारण निकै समस्या थियो, अहिले त्यो समस्या हल भएको छ,’ उनले बताए । बाँकेको कोहलपुरमा जनप्रतिनिधि र स्थानीयवासीलाई अब यो सडक बन्नेमा कुनै शंका नगर्न मन्त्री ज्वालाले आग्रह गरेका छन् ।
बाँकेको चप्परगौरीतर्फबाट निर्माण कार्य सुरु भइसकेको छ भने सल्यानतर्फबाट भर्खरै टेन्डर आह्वान गरिएको छ । करिब सय किलोमिटर सडक बन्न निकै समय लागे पनि अब भने बन्ने निश्चित भएको छ । मध्यपहाडी जिल्लाका लागि यो सडक व्यापारिक करिडोरका रूपमा हेरिएको छ ।