१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोशीमा औषधि खरिदका लागि विनियोजित पाँच करोड खर्चै गरिएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१३:oo

प्रदेशमातहतका ४२ अस्पताल र स्वास्थ्य कार्यालयहरूमा औषधि अभाव 

चालू आवको सात महिना बित्दा पनि औषधि खरिद नहुँदा कोशी प्रदेश सरकारमातहतका अस्पतालमा औषधि अभाव देखिन थालेको छ । ती अस्पतालले केन्द्र सरकार र आफ्नै स्रोतबाट औषधि खरिद गरेका छन् । कोशीमा दुई प्रादेशिकसहित १४ अस्पताल, १४ जिल्लाका स्वास्थ्य कार्यालय र १४ वटै जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्र छन् । 

औषधि खरिदका लागि कोशी सरकारले यस वर्ष पाँच करोड बजेट विनियोजन गरे पनि स्वास्थ्य मन्त्रालयले ‘वार्षिक कार्यक्रम कार्यान्वयनका लागि सात महिनापछि बल्ल मार्गनिर्देशन’ जारी गरेको छ । अब चाँडै प्रक्रिया थाल्दा पनि वैशाखमा मात्र औषधि खरिद भइसक्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्र मण्डलले बताए । ‘प्रदेशले ढिला मार्गनिर्देशन बनायो । अब पाँच करोडको औषधि खरिदका लागि सूचना निकाल्ने तयारीमा छौँ,’ उनले भने, ‘प्रक्रिया पूरा गरेर औषधि खरिद गर्न वैशाख त लाग्छ ।’ 

प्रदेश सरकारको बजेटबाट खरिद भएको औषधि अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्रसँगै स्वास्थ्य कार्यालयमा जान्छ । स्वास्थ्य कार्यालयमा गएको औषधि स्थानीय तहमातहतका स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा जान्छ । संघ सरकारबाट आएको ससर्त अनुदानको बजेटले खरिद गरेको औषधि जिल्लास्थित स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहसम्म जाने गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनाएको छ । सरकारले ९८ प्रकारका आधारभूत औषधि नि:शुल्क दिँदै आएको छ । यी औषधिमध्ये कोशी प्रदेश सरकारले ५६ प्रकारको खरिद गर्ने र बाँकी संघीय सरकार तथा स्थानीय तहले खरिद गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । 

तर, समयमा प्रदेश सरकारले औषधि खरिद गर्न नसक्दा प्रदेशमातहतका अस्पताल समस्यामा परेका छन् । ‘प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट पर्याप्त औषधि आएको छैन । १६ महिनादेखि आउनुपर्ने ९८ प्रकारको औषधि नहुँदा आन्तरिक स्रोतबाट खरिद गरेर दिँदै आएका छौँ । अब आन्तरिक स्रोतले पनि थेग्न मुस्किल भएको छ,’ संखुवासभा अस्पतालका फार्मेसिस्ट सुपरभाइजर अधिकृत धीरज रौनियारले भने, ‘प्रदेशले अस्पताललाई आपत्कालीन रूपमा औषधि खरिद गर्न १० लाख दिएको छ । यो रकमले खरिद गर्दा तीन महिना पनि थेग्न मुस्किल हुन्छ ।’

अहिले पाँचथर अस्पतालमा पनि औषधि अभाव छ । पछिल्लो समय कोशी प्रदेशले समयमा पर्याप्त औषधि खरिद गर्न नसक्दा यसको मारमा पाँचथर अस्पताल पनि परेको पाँचथर अस्पतालका स्टोर प्रमुख सोमनाथ दंगालले जानकारी दिए । ‘गत साउनमा थोरै औषधि प्रदेश सरकारले पठाएको थियो । यसले एक महिना पनि धानेन । पर्याप्त मात्रमा पठाउँदैन । औषधि खरिद गर्न पाँच लाख बजेट पठाएको छ । अस्पतालको आन्तरिक स्रोतले दश लाखभन्दा बढीको खरिद गरेर बाँडिसक्यौँ,’ उनले भने, ‘दैनिक पाँच सय बिरामी आउँछन् । बिरामीलाई पर्याप्त औषधि दिन सकेका छैनौँ । अस्पतालको आन्तरिक स्रोत पनि छैन । यस्तै हो भने न:शुल्क दिनुपर्ने औषधि बाँड्न सक्दैनौँ ।’

कोशी प्रदेशले मागको १० प्रतिशत मात्र औषधि खरिद गर्न सक्ने अवस्था छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख मण्डलका अनुसार कोशी सरकारमातहतका अस्पताल तथा स्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रबाट वार्षिक करिब ७० करोडको औषधि माग हुन्छ । तर, औषधि खरिदका लागि पाँच करोड मात्र बजेट विनियोजन भएको उनले बताए । ‘७० करोडहाराहारीको औषधि लाग्ने पूर्वानुमान हुन्छ । बजेटचाहिँ पाँच करोड आउँदा पर्याप्त खरिद गर्न सकिएको छैन,’ उनले भने । 

प्रदेश सरकारले चालू आर्थिक वर्षमा तेह्रथुम अस्पतालमा नि:शुल्क वितरण गर्नुपर्ने औषधि पठाएको छैन । अघिल्लो आर्थिक वर्षको जेठतिर पठाएको औषधि सकिन थालेकोे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बूले बताए । प्रदेश सरकारले आपत्कालीन औषधि खरिदका लागि तेह्रथुम अस्पताललाई पाँच लाख रुपैयाँ बजेट दिएको उनले बताए । बल्ल बजेट कार्यान्वयन मार्गनिर्देशन बनाएका कारण अब मात्र खरिद प्रक्रिया अघि बढाउने तयारी भएको डा. लिम्बूले बताए । ‘सेवाग्राहीका गुनासा धेरै छन् । समस्यामा हामी परेका छौँ,’ उनले भने । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बजेट नै ढिला आएकाले बजेट कार्यान्वयन मार्गनिर्देशन बन्न ढिला भएको दाबी गरिन् । यद्यपि, तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा नै अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

ad
ad