Skip This
ad
सुवासले जिते भारतीय गल्फ टुरको फुल कार्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुवासले जिते भारतीय गल्फ टुरको फुल कार्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:५४:oo

नेपाल‌ नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई)को फुल कार्ड प्राप्त गरेका छन् । भारतको जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लबमा शुक्रबार टाटा स्टिल पिजिटिआई क्वालिफाइङ स्कुलको अन्तिम दिन ४ अन्डर ६७ को स्कोर कार्डका साथ सुवास प्रतियोगितामै संयुक्त रूपमा दोस्रो स्थानमा रहे । उनले ७२ होलको प्रतिस्पर्धामा १३ अन्डर २ सय ७१ को रवाफिलो स्कोर गरेका थिए । यो प्रतियोगितामा माटियास डोमिङग्वेजले उपाधि हात पारेका छन् । उनले समग्रमा २० अन्डर २ सय ६४ को स्कोर निकाले । सुवासले भारतीयद्वय मोहम्मद सन्जु र एमेच्योर अंशुल कब्थियालसँग दोस्रो स्थान बाँडेका हुन् । 

यसपटक पिजिटिआई क्यु–स्कुलमा सहभागी चार सय १९ गल्फरमध्ये भारतबाहेक १७ देशका ६१ खेलाडीले दाबेदारी प्रस्तुत गरेका थिए । क्वालिफाइङ स्कुलमा पहिलो दिनदेखि उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तिम दिन पनि लोभलाग्दो प्रदर्शन गर्न सफल भए । उनले फ्रन्ट नाइन १ अन्डर ३४ र ब्याक नाइनमा उनले ३ अन्डर ३३ को स्कोर गरेका थिए । फ्रन्ट नाइनमा सुवासले दोस्रो, चौथो र नवौँ होलमा बर्डी प्रहार गरे । उनले पाँचौँ र सातौँ होलमा समान एक सट खेर फालेका थिए । 

उनले पहिलो दिन ४ अन्डर ६७, दोस्रो दिन ५ अन्डर ६६ र तेस्रो दिन इभन पार ७१ स्कोर गरेका थिए । यस प्रभावशाली प्रदर्शनमा सुवासले सन २०२४ को भारतीय गल्फ टुरका लागि फुल कार्ड प्राप्त गरेका छन् । यससँगै उनको प्रोफेसनल गल्फ करिअरको सुरुवात हुनेछ । उनी नेपाली एमेच्योर गल्फका अहिलेसम्मकै सर्वाधिक सफल गल्फर हुन् । उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक दुई स्वर्ण जितेका थिए । यसपछि बंगलादेश ओपनमा सदभाव आचार्यसँग मिलेर टिमतर्फ पनि स्वर्ण जितेका थिए । बंगलादेशमा उनले व्यक्तिगततर्फ रजत हात पारे । टुरिजम कपमा पनि उनले नेपाललाई टिमतर्फ स्वर्ण दिलाएका थिए ।

भारतमा विशेष प्रशिक्षण
सूर्य नेपाल गल्फ टुरमा सुवासले प्रोफेसनल गल्फरलाई कैयौँपटक पछि पारेका छन् । उनले पाँचपटक प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितिसकेका छन् । यसरी एमेच्योर रहँदै उनले घरेलु टुरमा सनसनी मच्चाएका थिए । नेपाल गल्फ संघले उनलाई विशेष प्रशिक्षणका लागि भारतको तरुण सरदेसाई एकेडेमीमा पठाएको हो । अहिले पनि उनी सोही एकेडेमीमा प्रशिक्षणरत रहेका छन् । उनले २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीबाट स्कलरसिपसमेत पाएका छन् । अब सुवासले नेपाल‌ नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईसँगै भारतीय गल्फ टुरमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रले‌ गत‌ सिजनको‌ अर्डर अफ मेरिटमा ५२औँ स्थानमा रहँदै आफ्नो कार्ड सुरक्षित राखेका थिए ।

ad
ad