
बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिंगो सूर्यविनायक नगरपालिका– १० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ ।
तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन योसिंद्यो अर्थात् लिंगो उठाइन्छ । त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त लिंगो ढालेर भव्य रूपमा जात्रा मनाउने परम्परा छ ।
उक्त जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठवटा डोरीले तानेर उभ्याइने गरिन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिंगोकोे टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङपत’रहेको हुन्छ भने लिंगो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथको उपस्थिति गराइन्छ ।
सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो, नाङ्लो जत्रो गोलाइको लिंगो काटेर मानिसको हातले तानेर ल्याउने मल्लकालीन परम्परा अहिले तोडिएको छ । आगामी २७ चैतदेखि सुरु हुने बिस्केट जात्राका लागि अत्यावश्यक लिंगो डोरी लगाएर हातले तान्ने परम्परा जनशक्ति अभाव भएको भन्दै गुठी संस्थानले डोजर र क्रेनको सहयोगमा तानेर ल्याइएको हो ।