१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
नयाँ पत्रिका ​​​​​​​काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘मुख्यमन्त्रीहरूको भरोसा टुट्न दिन्नँ, संघीयता कार्यान्वयन गर्छु’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, ​​​​​​​काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४६:oo

मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भने– 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

०७६ मा परिषद्सम्बन्धी कानुन बने पनि गत असारमा आफूले नै पहिलो बैठक राखेको चर्चा गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको बताए । 

‘चार वर्ष एउटै बैठक नबसेर बित्यो । मैले ६ महिनामा दुईवटा बैठक राखेर संघीयता कार्यान्वयनको पहल लिएको छु,’ उनले भने, ‘संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्छु,’ उनले भने । 

संघीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको भन्दै उनले संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिए । ‘यो बैठकले गति पैदा गरेको अनुभूति गरेको छु । मलाई सबै मुख्यमन्त्रीज्यूहरूको आशा र भरोसा छ । संघीयता कार्यान्वयनमा यो मेरो शक्ति हो,’ उनले भने, ‘मैले पनि सरकारको नेतृत्वमा आएदेखि नै यही विषयलाई केन्द्रमा राखेर काम गरिरहेको छु ।’

प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको जानकारी दिए । ‘संघीय ऐनहरू निर्माण नै हाम्रो प्रमुख कार्यभार हो । प्रदेशहरूले जनतालाई सेवा दिन थालेपछि संघीयताविरोधीलाई राम्रो जवाफ हुनेछ,’ उनले भने । 

तीनै तहका सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेट सामूहिक विवेकको केन्द्रीकृत अभिव्यक्ति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले योजना पूरा नगर्ने, नयाँनयाँ योजना ल्याउने र निर्धारित समयमा सम्पन्न नहुने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे । 

‘असन्तुलित विकास र ढिलासुस्तीले राज्यको दायित्व बढेको छ । यस परिस्थिति यसपटक अन्त्य हुन्छ । बजेट निर्माणमा रहेका बेथिति अन्त्य गरिन्छ,’ उनले भने । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीले लिएको अग्रसरताले यससम्बन्धी अन्योल हटेको बताए । ‘संघीयता कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ । निजामती ऐन टुंग्याउन प्रधानमन्त्रीको निर्देशनअनुसार मैले नै पहल गरिरहेको छु । यही संसद् अधिवेशनबाट पारित गर्छौँ,’ उनले भने । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीले चिन्ता र चासोका साथ काम गरिरहनुभएको बताए । ‘संघीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीलाई छिटो काम गर्न निरन्तर प्रेरित गरिरहनुभएको छ,’ उनले भने, ‘प्रहरी समायोजनको प्रक्रिया अगाडि बढेको छ । केही दिनमा समायोजनको प्रक्रिया टुंग्याउँछौँ ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियताले आफूहरूलाई उत्साह पैदा गरेको बताए । संघीय कानुन निर्माणका निम्ति मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै उनले चालू संसद् अधिवेशनमा अधिकांश संघीय ऐनहरू पारित हुने विश्वास दिलाए । 

ad
ad