
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेका कम्पनीको पहिलो कारोबारी मूल्य घटाउने तयारी गरेको छ । आइपिओमा आउने कम्पनीको नेटवर्थको तीन गुणासम्म दिँदै आएको पहिलो कारोबारी मूल्यलाई संशोधन गरेर कम्पनीको नेटवर्थको डेढदेखि दुई गुणामा झार्न लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । उनले भने, ‘कम्पनीको नेटवर्थलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिइने नीतिलाई अब दुई गुणासम्म दिन सकिन्छ भनेर छलफल गरेका छौँ, यसले लगानीकर्ताको लगानीलाई सुरक्षित बनाउन भूमिका खेल्छ ।’
०६४ मा कम्पनीको पहिलो कारोबारी मूल्य नेटवर्थको पाँच गुणासम्म दिइने व्यवस्था थियो । पछि ०६८ सालमा नेटवर्थलाई घटाएर तीन गुणामा झारियो । कमजोर वित्तीय विवरण भएका कम्पनीको पहिलो कारोबारी मूल्य नेटवर्थकै आधारमा दिइँदा पनि मूल्य उच्च हुने र पछि लगानीकर्ता फस्न सक्ने जोखिम रहेको देखिएपछि यसलाई घटाउनु उपयुक्त देखिएको नेप्सको निष्कर्ष छ ।
कुनै पनि कम्पनी आइपिओ निष्कासनपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुन्छ । सो कम्पनीको नेटवर्थका आधारमा नेप्सेको सञ्चालक समितिले अहिलेको नीतिअनुसार तीन गुणासम्म मूल्य दिने गर्छ । जस्तो मानौँ, कुनै ‘ए’ नाम गरेको कम्पनीको नेटवर्थ १२० रहेको छ भने नेप्सेको सञ्चालक समिति बैठकले तीन सय ६० रुपैयाँसम्म निर्धारण गर्न सक्छ ।
प्रिमियम मूल्य र बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरेका कम्पनीको हकमा आइपिओकै मूल्य वा फेस भ्यालुलाई मात्र कारोबार मूल्य दिने गरी छलफल भएको छ । नेप्सेका अनुसार जुन कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको छ, त्यही मूल्यमा पहिलो कारोबारी तोकिने छलफल अन्तिम चरणमा पुगेको छ । त्यस्तै, बुक बिल्डिङको हकमा पनि अन्तिम कटअफ प्राइजकै मूल्यमा कारोबार हुनेछ ।
पछिल्लो समय अंकित मूल्यमा प्रिमियम थप गरेर सेयर जारी गर्ने कम्पनीहरूको होडबाजी नै देखिएको छ । यस्तै, बुक बिल्डिङ प्रक्रियाबाट पनि सेयर जारी गर्न कम्पनीहरू अग्रसर देखिएका छन् । यस्तो अवस्थामा प्रिमियम र बुक बिल्डिङबाहेक अंकित मूल्यमा सेयर निष्कासन गर्ने कम्पनीलाई कसिलो बनाउन खोजेको नेप्सेको जिकिर छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले भने कम्पनीलाई धेरै कस्न पनि नहुने बताए । उनले भने, ‘बजारलाई छाडा छोड्न पनि नहुने र धेरै कस्दा पनि कम्पनी र लगानीकर्तामा निराश उत्पन्न हुँदा त्यसको असर दोस्रो बजारमा पर्छ ।’