१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दोभान–बहानन्दे सडक : भुक्तानी नपाएपछि निर्माण कम्पनी आन्दोलनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४६:oo

ताप्लेजुङको दोभान–बहानन्दे सडकखण्डमा काम गरेको रकम नपाएपछि निर्माण कम्पनी आन्दोलनमा उत्रिएको छ। सोमबार कम्पनीका प्रतिनिधिले निर्माणस्थलमा प्रदर्शन गर्दै भुक्तानी नपाए काम छाड्ने चेतावनीसमेत दिएका छन्।

देशका विभिन्न ठाउँमा निर्माण कम्पनीले काम नगरेको, काम छोडेर भागेको भन्दै स्थानीयले आन्दोलन गरिरहेका वेला ताप्लेजुङमा निर्माण कम्पनी कामको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रेको हो।

दोभान–बहानन्दे सडक ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्र क र ख जोड्ने एक मात्र सडक हो। यो सडक मिल्के, गुफापोखरी, तिनजुरे, वसन्तपुर हुँदै धरान र इटहरीसम्म जोड्ने छोटो मार्गका रूपमा पनि चिनिन्छ।

१० किलोमिटर सडक कालोपत्रेका लागि एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले डेढ वर्षअघि कामको जिम्मा लिएको थियो। तीन वर्षमा सक्ने गरी ३३ करोडमा ठेक्का सम्झौता भएको थियो। डेढ वर्षमा ६० प्रतिशत काम सकिए पनि ४७ प्रतिशत मात्रै भुक्तानी पाएको कम्पनीका ताप्लेजुङ प्रतिनिधि अनिल चौधरी बताउँछन्।

‘हामीले पहिले १५ करोड पाएका हौँ। थप सात करोडको काम गरिसक्यौँ,’ चौधरीले भने, ‘मजदुरलाई पैसा दिन सकिएको छैन। आवश्यक सामग्री ल्याउन पनि सकिएन । चार महिनादेखिको तलब हामीले पनि खाएका छैनौँ र काम गर्नेलाई पनि दिन सकेका छैनौँ।’

यो सडक उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगाेला) सडक आयोजनाले हेर्दै आएको छ। आयोजना प्रमुख सुदर्शन कार्की भुक्तानी दिन नसकिएको बताउँछन्। ‘यो वर्ष एक करोड विनियोजन भएको थियो। विनियोजित रकम सकियो। उहाँहरूले काम बढी नै गर्नुभएको छ। हामीले थप पैसा माग गरेका छौँ, उताबाट आएपछि भुक्तानी हुन्छ,’ उनले भने।

सडकको ठेक्का लागेपछि ठेकेदारलाई तत्काल काम गराउन जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासीले पनि दबाब दिएका थिए। अब आफूहरूले पैसा नपाउँदा पनि त्यसैगरी सबैले आवाज उठाउनुपर्ने निर्माण कम्पनीका मजदुरको माग छ।

निर्माण कम्पनीले हालसम्म नाली काट्ने, बेस ओछ्याउनेलगायतका काम सम्पन्न गरेको छ। कालोपत्रेको काम हुनै लाग्दा भुक्तानी नपाएपछि कम्पनी आन्दोलनमा उत्रिएको हो।

ad
ad