पाकिस्तानीले इमरान खानलाई सत्तामा फर्काउने प्रलोभनमा नपारून् भन्ने सुनिश्चित गर्न सेना कटिबद्ध देखिन्छ
सुनुवाइको निष्कर्ष अचानक र अराजक थियो । गत शनिबार अदालतले प्रतिवादीका वकिललाई सरकारी वकिलले प्रतिस्थापन गरेका थिए । मंगलबार बिहानै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध फैसला आएको थियो । खानलाई वासिंटनस्थित पाकिस्तानी राजदूतबाट इस्लामाबाद सरकारलाई पठाइएको गोप्य कूटनीतिक सामग्री सार्वजनिक गरेकोमा दोषी ठहर गरियो । आधिकारिक गोप्य अधिनियमअन्तर्गत उनलाई दश वर्षको जेल सजाय सुनाइयो । त्यसको भोलिपल्ट अदालतले खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनायो । पिटिआईका संस्थापक खान र उनकी पत्नीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएयो । अदालतले खान दम्पतीलाई डेढ अर्ब पाकिस्तानी रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दियो । उनले आफूविरुद्ध लगाइएका अभियोग राजनीतिक उद्देश्यले प्रेरित भएको गुनासो गर्दै आएका छन् ।
हतारमा आएको फैसलाले पाकिस्तानी सेनाका जनरलहरू (जसले प्रभावकारी रूपमा सरकार चलाउँछन्) देखि मतदातालाई एउटा प्रस्ट सन्देश दिन्छ– आगामी फेब्रुअरी ८ मा हुने आमचुनावमा खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)लाई मत नदिनुहोस् । पूर्वप्रधानमन्त्री खानले जनरलहरूले आफूलाई अमेरिकीसँग मिलेर सत्ताच्युत गरेको संगीन आरोप लगाएका थिए । यसले जनरलहरूलाई क्रुद्ध बनायो । पाकिस्तानीहरूले इमरान खानलाई सत्तामा फर्काउने प्रलोभनमा नपारून् भन्ने सुनिश्चित गर्न सेना कटिबद्ध देखिन्छन् । अदालतको फैसलाले सबैभन्दा ठूलो फाइदा खानका राजनीतिक प्रतिद्वन्द्वी तथा अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफलाई हुन सक्ने सम्भावना छ । अहिले उनी सेनाको समर्थनमा आगामी चुनाव जित्न तयार देखिन्छन् ।
खानलाई दोषी ठहरको तत्काल कारण षड्यन्त्रमूलक सिद्धान्तबारे उनको दृष्टिकोण हो । व्यापक जनसमर्थन कायम राखेका पूर्वप्रधानमन्त्रीले सन् २०२२ को अप्रिलमा संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुनुमा पाकिस्तानी सेनाको सहयोगमा अमेरिकाले रचेको षड्यन्त्र भएको गम्भीर आरोप लगाए ।
अपत्यारिलो सिद्धान्तलाई समर्थन गर्न (जसलाई अमेरिकी र पाकिस्तानी सरकारहरूले अस्वीकार गरेका छन्) खानले वासिंटनस्थित पाकिस्तानी दूतको सन्देशलाई उद्धृत गर्दै अमेरिकाबाट कथित खतराको रूपरेखा दिए । प्रधानमन्त्री हुँदा पाकिस्तानी दूतले इस्लामाबाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावट गरेको खानमाथि आरोप लागेको छ । अदालतले उनलाई त्यो पत्र दुरुपयोग र गलत स्थानमा राखेकोमा दोषी ठहर गरेको थियो । खानका वकिलले उक्त सजायलाई ‘अवैध’ भनेका छन् । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित र अमेरिकी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् भने उनको पिटिआई पार्टीले झुटो मुद्दामा सजाय सुनाइएको तर्क गरेको छ । विशेष अदालतको आदेशविरुद्ध उच्च न्यायालयमा चुनौती दिने पार्टीको तयारी छ । खानसँगै पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई पनि दोषी ठहर गरी सोही सजाय सुनाइएको थियो ।
तर, फैसलाको उद्देश्य अर्को हप्ताको आमचुनावअघि खान र उनको पार्टी पिटिआईमा बाँकी रहेको थोरै राजनीतिक स्थान हटाउनु हो । अगस्टमा भ्रष्टाचारको एउटा छुट्टै मुद्दामा तीन वर्षको जेल सजाय पाएपछि खानलाई चुनाव लड्न अयोग्य घोषित गरिसकिएको छ । पिटिआईका उम्मेदवार पक्राउ परेका छन् भने पार्टीका र्यालीमा व्यापक धरपकड र दमन गरिएका छन् । सञ्चार माध्यमलाई पिटिआईका गतिविधि वा यसका नेताको विषय समेट्न अघोषित प्रतिबन्ध लगाइएको छ ।
सबैभन्दा खराब त सर्वोच्च अदालतले पिटिआईलाई उसको चुनावी चिह्न क्रिकेट ब्याट हटाएको छ । पार्टीको चर्चित चिह्न ब्याट खानको विगतको प्रसिद्ध खेलकुद संकेत हो । साक्षरताको न्यून स्तर र उम्मेदवारका विभिन्न चिह्नले भरिपूर्ण मतपत्रका कारण मतदातालाई पार्टीका उम्मेदवार चिन्न मद्दत गर्न यस्ता चिह्न महत्वपूर्ण हुन्छन् । पिटिआई उम्मेदवारहरूलाई छुट्याइएका वैकल्पिक चिह्नमध्ये कचौरा, जुत्ता र चिम्टाको जोडी सबै स्थानीय संस्कृतिमा अपमानजनक मानिन्छ । खान र उनको पार्टीप्रति सेनाका जनरलहरूको आक्रोशका साथ सरिफ मौनतापूर्ण ढंगले चौथो कार्यकाल के हुनेछ भनेर अघि बढिरहेका छन् ।
गत वर्ष उनले सेनासँगको सम्बन्ध सुधारे र लन्डनमा चार वर्षको निर्वासनपछि पाकिस्तान फर्के । त्यसवेलादेखि उनले आफ्नो आर्थिक रेकर्डलाई जोड दिँदै र सेनामाथिको आक्रमण त्याग्दै (जसका लागि उनी कुख्यात थिए) एक संयमित नोट लेखेका छन् । गत शनिबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा उनको पाकिस्तान मुस्लिम लिगले १ करोड रोजगारी सिर्जना गर्ने, मुद्रास्फीतिलाई एक अंकमा घटाउने (डिसेम्बरमा यो ३० प्रतिशत थियो) र बढ्दो बिजुलीको मूल्य घटाउने प्रतिबद्धता जनाइएको छ ।
आर्थिक परिवर्तनको गम्भीर आवश्यकता छ । तर, सरिफले त्यसलाई सम्बोधन गर्न सक्षम हुनेछन् भन्ने स्पष्ट छैन । यद्यपि, उनी अहिलेका लागि एक निष्क्रिय व्यक्तित्व भए पनि पदमा रहँदा उनले सेना प्रमुख जनरल असिम मुनिरलाई आक्रोशित बनाउँथे, जसले अगस्टदेखि छनोट गरिएको वर्तमान कामचलाउ सरकारमार्फत देशमा शासन गरेका छन् । खानका उत्तेजित समर्थक र पाकिस्तानको आर्थिक कमजोरीले सरिफ र जनरलबीचको सम्बन्धको परीक्षण गर्नेछ ।
‘राज्य र अर्थतन्त्रमा गहिरो संकट छ । आशावादी दृष्टिकोण यो छ कि जनरल र नवाज सरिफले सहअस्तित्वमा प्रबन्ध गर्नेछन्,’ राजनीतिक टिप्पणीकार सुहेल वाराइच भन्छन् । ‘निराशावादी दृष्टिकोण भनेको दुवै पक्षले आफूले सधैँ गरेको काम गर्नेछन्,’ उनी अगाडि थप्छन् । हार्नेहरू सधैँजस्तै अहिले पनि पाकिस्तानी मतदाता नै हुनेछन् ।
–द इकोनोमिस्टबाट