पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फडानी गरेको छ।
मध्यविन्दु नगरपालिका– १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बहानामा व्यापक वन फँडानी गरेको हो। उक्त सामुदायिक वनले तारबारको नाममा कम्तीमा ७० वटा रुख कटान गरेको मध्यविन्दु– १५ का वडा सदस्य अर्चना कुमालले बताइन्।
उनका अनुसार आफू र नगरपालिकाका कर्मचारी भएर सोधपुछका लागि जाँदा नवदुर्गा सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले नगरपालिकाका कर्मचारी केवलबहादुर पाल्पालीलाई कुटपिट गर्नुका साथै र नवदुर्गा सामुदायिकका पूर्वअध्यक्ष रेनु कुमाललाई तथानाम गाली गरेका हुन्। केवलबहादुर पाल्पालीले आफूले वन फँडानी गर्नेविरुद्ध आफूले उजुरी गरेको बताए।
केवलबहादुर पाल्पालीले आफूले वन फँडानी गरेको थाहा पाएपछि किन रैछ भनेर बुझ्न खोज्दा आफूमाथि एक्कासि कुटपिट गरेको बताए। पाल्पालीले आफूमाथि सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोको निर्देशनमा कुटपिट भएको बताए।
समितिको निर्णयअनुसार नै आफूहरूले वनमा रहेका साल, बकाइनो, कटहर, आँप, दबदबे, डुम्री, खन्योलगायतका रुखहरू काटिएको सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले बताए।
नयाँ अतिक्रमण हुन नदिन र पुरानो अतिक्रमण रोक्न खोज्दा आफूहरूमाथि अवरोध भएको अध्यक्ष महतोको दाबी छ । सामुदायिक वनका अध्यक्ष महतोले वन अतिक्रमण गरेर लगाइएका फलफूलका रुखहरू काटिएको स्वीकार गरे । उनले भने, ‘भोलि मैले लगाएको हो भनेर विवाद नगरून् भने समितिकै निर्णयअनुसार ती रुखहरू काटिएको हो । भोलि हामी आफैँ अर्को रुख लगाउनेछौँ।’
डिभिजन वन कार्यालय कावासोती नवलपुरका वन अधिकृत शिशिर लम्सालले यस विषयमा वन कार्यालयमा जानकारी आएको र फिल्डमा गएर बुझेर मात्र थप कारबाही तथा अनुसन्धान अगाडि बढाइने बताए।
स्थानीयले भने वन अतिक्रमण रोक्ने र संरक्षणको बहानामा वन फँडानी गरिने कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको भन्दै समितिको यस कार्यको व्यापक विरोध गरेका छन्।