करिब एक वर्षअगाडि सेन्टा मोनिका, कलिफको प्रोभिडेन्स सेन्ट जोन्स स्वास्थ्य केन्द्रले चार महिनाको किमोथेरापीपछि मलाई क्यान्सरमुक्त घोषणा गरेको थियो । मलाई लो–ग्रेड बि सेल नन–हज्किन लिम्फोमा देखिएको थियो । यसभन्दा केही वर्षअगाडि मलाई स्तन क्यान्सर देखिएको वेला मलाई रेडिएसनबाट उपचार गरिएको थियो र पछि मैले पूर्ण ‘मेस्टेक्टोमी’ (स्तन छेदन) नै गर्नुपरेको थियो । म आफूलाई भाग्यशाली ठान्छु, किनभने मलाई निकै राम्रोसँग हेरचाह गर्ने चिकित्सक र नर्सले जोगाएका थिए । यसक्रममा मैले क्यान्सरमा अनुसन्धान अत्यधिक भएको पनि थाहा पाएँ र यी अनुसन्धानकर्ताप्रति म कृतज्ञ छु ।
क्यान्सरमा ठूलो अनुसन्धान र प्रगति भए पनि यो रोगले प्रकोपको रूप लिँदै छ । अमेरिकामा करिब ४० प्रतिशत मानिसले आफूलाई क्यान्सर रोगी भएको पाउँछन् र अमेरिकामा सन् २०२३ मा १९ लाख ६० हजारभन्दा बढी नयाँ क्यान्सर बिरामी पत्ता लाग्ने अनुमान राष्ट्रिय क्यान्सर संस्थानले जनाएको छ । म क्यान्सरबाट उम्किन सफल क्यान्सर सर्भाइभर मात्रै होइन, म एक जलवायु अभियन्ता पनि हुँ । यसकारण वातावरण र स्वास्थ्य विशेषतः क्यान्सर एकअर्कासँग जोडिएका छन् भनेर मैले राम्रैसँग थाहा पाएकी छु । जलवायु संकट निम्त्याउने तिनै जीवाश्म इन्धनले स्वास्थ्य संकट पनि निम्त्याइरहेका छन् ।
इन्भाइरनमेन्ट प्रोटेक्सन एजेन्सी डाइअक्सिन, बेन्जिन, र नेप्थालिनजस्ता क्यान्सर गराउने रसायन जीवाश्म इन्धनबाट आउँछन् । यी रसायनलाई हावा, पानी, खाद्य पदार्थ, फर्निचर, कपडा, खाना पकाउने भाँडाकुँडामा भेट्न सकिन्छ । स्वभावतः यी रसायनले हाम्रो शरीरमा पनि प्रवेश पाएकै हुन्छन् । यतिमात्रै होइन, नवजात शिशुको सालनालमा पनि यस्ता विषाक्त रसायन भेटिएका छन् ।
अस्पतालले स्वास्थ्य र जलवायु संकट जोडिएको समस्यालाई सम्बोधन गर्ने मामिलामा समाजको नेतृत्व गर्न सक्नुपर्छ
हार्भर्ड सेन्टर फर पब्लिक हेल्थको एक अध्ययनले जीवाश्म इन्धन सम्बन्धित प्रदूषणका कारण सन् २०१८ मा ८० लाख मानिसले ज्यान गुमाएका छन् । मृत्युको यो आँकडा तीन वर्षको अवधिमा फैलिएको कोभिड–१९ महामारीका कारण भएको मृत्युभन्दा बढी हो । वास्तवमा यो अवस्था आउनु भनेको संकट हो । तेल, ग्यास र कोइलाले ग्रह, मानिस र जनावरलाई बिरामी बनाइरहेका छन् । मानिसलाई रोगबाट निको बनाउने मामिलामा स्वास्थ्य सेवा संस्थानले उदाहरणीय काम गरिरहेका छन् । तर, अब यत्तिले पुग्दैन ।
स्वास्थ संस्थाले दायरा फराकिलो बनाएर क्षति गराउने तत्वलाई नै सुरुमा रोक्न मद्दत गर्नुपर्छ । किनभने, आखिर रोकथाम नै पहिलो कदम हो । तर, यसो हुन सकिरहेको छैन । वातावरणीय संस्था स्ट्यान्ड डट अर्थका अनुसार अमेरिकाका चार स्वास्थ्य सेवा पेन्सन कोष, क्रमशः मायो क्लिनिक, क्यान्सर पर्मानेन्ट, एचसिए हेल्थकेयर र एसेन्सन हेल्थले जीवाश्म इन्धन कम्पनीमा चार अर्ब ५० करोड डलरभन्दा बढी पैसा लगानी गरेका छन् । अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले मुलुककै हरितगृह ग्यास उत्सर्जनमा नौ प्रतिशत हिस्सा ओगट्छ । यसका पछाडि जीवाश्म इन्धन जिम्मेवार छ किनभने पेट्रोकेमिकल प्लास्टिकजन्य उपकरण निर्माण गर्ने, अस्पतालका सुविधा सञ्चालन गर्ने र अस्पताल प्रयोजनका लागि आवश्यक एनेस्थेटिक ग्यास उत्पादनलगायतका काम जीवाश्म इन्धनबाट गरिन्छ ।
हेल्थ केयर विदाउट हार्म (एचसिडब्लुएच)का सहसंस्थापक ग्यारी कोहेनले मलाई आशावादी बनाउनुभएको छ । एचसिडब्लुएचले विशेषतः नर्सको नेतृत्वमा ठूला परिवर्तनको पहलकदमी लिएको छ । जब मेडिकल वेस्ट इन्सिनरेटर अमेरिकामा क्यान्सर गराउने डाइअक्सिन उत्सर्जनको प्रमुख स्रोत हुन् भन्ने एचसिडब्लुएच पत्ता लगायो तब हजारौँ इन्सिनरेटर बन्द गरिएका थिए । यसको प्रतिक्रियामा अस्पतालहरूले आफ्नो फोहोरलाई कम गर्ने उपाय अपनाएका थिए जहाँ सम्भव भएसम्म सामग्रीको पुनः प्रयोग र पुनर्चक्रण गर्ने अभ्यास अपनाइएका थिए । यसबाहेक अस्पतालले सम्भावित विषाक्त पदार्थलाई जिम्मेवारीपूर्वक मिल्काउन सुरक्षित फोहोर प्रशोधन प्रविधिसमेत लागू गरेका थिए । जब फुटेको मर्करी थर्मोमिटरका कारण पानी र माछामा डरलाग्दो तहमा पारो बढेको पाइयो तब स्वास्थ्य क्षेत्रले अमेरिकामा मात्रै नभई विश्वभर नै मर्करी थर्मोमिटरको विकल्प रोजियो । एचसिडब्लुएचले अस्पताल र स्वास्थ्य संस्थालाई निकट भविष्यमा शून्य कार्बन उत्सर्जनमा जान प्रतिबद्ध बनाएको छ । अहिले अमेरिकासहित विश्वका ७५ सरकारले न्यून कार्बन एवं जलवायु अनुकूलन गर्ने स्वास्थ्य प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य हेरचाह समुदाय, विशेषतः अस्पतालले स्वास्थ्य र जलवायु संकट जोडिएको समस्यालाई सम्बोधन गर्ने मामिलामा समाजको नेतृत्व गर्न सक्नुपर्छ । स्मरण रहोस्, विश्व स्वास्थ्य संगठनले यो समस्यालाई ‘मानवताका लागि सबैभन्दा ठूलो स्वास्थ्य खतरामध्येको एक’को संज्ञा दिएको छ । केही महत्वपूर्ण कदम चाल्न आवश्यक छ । अस्पतालले क्यान्सर निको पार्न जुन तदारुकता देखाउँछ त्यसरी नै स्वस्थ वातावरणका लागि पहलकदमी लिनुपर्छ ।
अस्पतालले आफूलाई नवीकरणीय ऊर्जा स्रोतबाट चलाउन सक्छन् र यातायातबाट हुने कार्बन खपत घटाउन औषधिदेखि खाद्य पदार्थसम्मका वस्तुलाई नजिकको आपूर्तिकर्ताबाट अस्पतालले खरिद गर्न सक्छन् । यसले स्थानीय दिगो विकासलाई समर्थन गरेर समुदायलाई पनि मद्दत गर्नेछ । अस्पतालले एकल प्रयोग प्लास्टिकको प्रयोग पनि कम गर्न सक्छन्, प्रदूषण गराउने एनेस्थेटिक ग्यास हटाउन सक्छन्, अस्पतालको एम्बुलेन्सलाई विद्युतीकरण गर्न सक्छन्, टेलिमेडिसिनमा जान सक्छन, र औषधि र अन्य आपूर्तिको अनावश्यक खपत घटाउन सक्छन् । स्वास्थ्य हेरचाहले अमेरिकी अर्थतन्त्रको १७ प्रतिशत हिस्सा ओगट्छ र यस अवस्थामा यो क्षेत्रमा नवीकरण हुन्छ भने कति सुधार हुन्छ होला आफैँ सोचौँ । जलवायु–अनुकूल स्वास्थ्य हेरचाह ठूलो मात्राको रोकथाम औषधि हो । अन्त्यमा बिरामी ग्रहमा हामी स्वस्थ मानिस रहन सक्दैनौँ ।
(फोन्डा ओस्कार विजेता अभिनेत्री हुन्) टाइम म्यागजिनबाट