प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बलले अघि सारेको सीमा विकास कार्यक्रमलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई थप प्रभावकारी रूपमा परिचालन गरिने बताएका हुन् ।
सीमा सुरक्षामा नागरिकलाई समेत सहभागी गराउन सशस्त्र प्रहरी बलले सीमा सुरक्षा कार्यक्रम अघि सारेको हो । जसलाई कार्यान्वयन अघि बढाइने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका हुन् । सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले सीमित स्रोत–साधनका बाबजुद धेरै काम गरेको प्रशंसा गर्दै प्रचण्डले संगठनको वृत्तिविकासलगायत विषयमा रहेको समस्या हल गर्न सरकार लागिपरेको बताए ।
कार्यक्रममा उनले अवकाशप्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपिएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ तथा उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सरकारको सकारात्मक साथले संगठनमा प्रणालीको विकास गरिएको बताए । सीमा सुरक्षामा स्थानीय नागरिकको मत जित्नसमेत आवश्यक भएको र त्यसका लागि स्थानीय जनप्रतिनिधिसँग छलफल थालिएको उनले बताए । हाल बिओपीले विकास तथा कल्याणकारी कार्यक्रम सुरु गरेको र त्यसलाई सरकारले नीतिगत रूपमै निरन्तर दिनुपर्नेमा महानिरीक्षक अर्यालले जोड दिएका छन् ।