
बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट
रिजन ढकालको घातक बलिङकाे मद्दतमा कर्णाली प्रदेशलाई सात विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।
कर्णालीले प्रस्तुत गरेको ७९ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्याे । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रनको योगदान दिए ।
त्यस्तै, रविन जोशीले अविजित १६, आशुतोष घिरैया नौ तथा रित गौतमले आठ रन बनाए । कर्णालीका लागि दिवान पुनले तीन विकेट लिए ।
पहिले ब्याटर चुक्दा तथा लक्ष्य पछ्याउने क्रममा दिवानबाहेकका बलरले विकेट लिन नसक्दा कर्णाली ठूलो हार व्यहोर्न बाध्य भयो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमै ७८ रनमा अलआउट हुन पुग्यो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजनले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक–एक विकेट लिए ।
जितपछि शीर्ष स्थानमा उक्लिएको बागमतीले ६ खेलमा चारमा जित तथा दुई हारसहित आठ अंक पुर्याएको छ । बागमतीले यसअघि मधेश प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो । हारसँगै कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अंकसहित तालिकाको सातौँ स्थानमा छ ।